जर्मन विद्यार्थीको सहयोगमा भीमसेन प्राविमा तीनकोठे पक्की भवन निर्माण - kendrabindu.com
काभ्रेपलाञ्चोक। जर्मन विद्यार्थीको आर्थिक सहयोगमा रोशी गाउँपालिका–३, साझाकोट स्थित भीमसेन प्राथमिक विद्यालयको नयाँ तीनकोठे पक्की भवन निर्माण भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा भवन उद्घाटन गरे। जर्मनीको ओच्सेहौसेन ग्याम्नासियम हाइस्कुलका करिब ७०० विद्यार्थीबाट जम्मा रु ३१ लाख ७७ हजार ३०० उपलब्ध गराएर यो भवन निर्माण सम्भव भएको हो। हिमाली गाउँ संरक्षण नेपालले परियोजनासँग समन्वय गर्दै स्थानीय टङ्कबहादुर राउत र दमाइसिं तामाङको दान गरिएको जग्गामा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक मनिका राउतले जानकारी दिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामा, वडा नं ५ का अध्यक्ष निरध्वज लामा, वडा नं ३ का अध्यक्ष धनजित लामा, र स्थानीय समाजसेवी टुल्कु लामालगायतले विद्यालयमा थप शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीको अध्ययन वातावरण सुधारका लागि शुभकामना व्यक्त गरे। परियोजनाले विद्यालयलाई एक ल्यापटप कम्प्युटर पनि प्रदान गरेको छ। अध्यक्ष लामाले नवनिर्मित भवनले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै, शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको र आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। जग्गादाता राउत र तामाङलाई सो अवसरमा सम्मान गरिएको थियो।