साउन २६ गतेदेखि आईपीओ निष्कासन गर्दै माबिलुङ्ग इनर्जी - bankingsamachar.com
काठमाडौं – माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्कासन गर्न लागेको हो। सोमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त, आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा साउन २९ गते हुनेछ भने ढिलोमा भदौ ९ गते हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।