राष्ट्र बैंकको गलत नीतिले निष्क्रिय कर्जा बढेको दाबी - ehimalayatimes.com
काठमाडौं । नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिका कारण पछिल्लो समय निष्क्रिय कर्जा बढेको दाबी गरिएको छ । बैंक तथा फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपालद्वारा आयोजित कार्यक्रममा विज्ञहरूले निष्क्रिय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू रहेको दाबी गरेका हुन् । पूर्वबैंकर ज्ञानेन्द्रप्रसाद ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरू अव्यावहारिक हुँदा निष्क्रिय कर्जा बढेको जिकिर गर्नुभयो । उहाँका अनुसार कर्जा रिकभरी गर्न ऋणीलाई चिठी काट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचीको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ । ढुंगानाले भन्नुभयो, ‘राष्ट्र बैंकका निर्देशनहरू केही अव्यावहारिक भएका कारण हाम्रो अहिलेको एनपिए बढेजस्तो मलाई लाग्छ । हामीले नेपाल बैंकर्स संघबाट पनि धेरै अनुरोध गरेका हौं । ९० दिन पुग्नेबित्तिकै २५ प्रतिशत राख्नुपर्ने, हामीसँग केही बाध्यता हुँदैन । ऋणीले सावाँब्याज नतिर्दा अहिले हामीले गर्ने भनेको चिठी काट्ने हो, तिरेन भने ३५ दिने सूचना निकाल्ने हो, फेरि नतिरे अर्को १५ दिन निकाल्ने हो । लिलाम गर्ने हो तर लिन सक्ने होइन । सक्ने भए एनबिए लिने हो बिक्री हुँदैन ।’ बैंकको सानो सहयोगले प्रवाह गरिएको ऋणीको बिजनेस चलायमान हुन्छ भने त्यस्तोमा सपोर्ट गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार राष्ट्र बैंकले यदि चलिरहेको बिजनेस छ भने, डिफल्ड भयो भने, फेरि चलायमान हुन सक्छ भने छोटो समयका लागि कर्जा दिन सक्ने व्यवस्था गर्नुपर्छ । भूकम्प, कोरोनाका बेला सबै ऋणीलाई १०÷२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । त्यतिबेला एनपिए भए पनि थपेर दिइएको थियो । त्यसैकारण एनपिए घटेको थियो । राष्ट्र बैंकले कर्जा दिन भन्दा निष्क्रिय कर्जा नहुने, बैंक आफैंले दिँदा एनपिए हुने त्यस्तो हुनुहुँदैन । एनपिएको परिभाषा र प्रोभिजनको व्यवस्थामा सुधार गरिनुपर्ने र सुधार नगरिए खराब कर्जा बढेर जाने खतरा रहने पनि उहाँले बताउनुभयो । तर, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकले ल्याएका नीतिहरू बैंकहरूले सहीरूपमा कार्यान्वयन नगर्दा पनि समस्या आएको बताउनुभयो । उहाँका अनुसार पुनर्कर्जाका सुविधालाई बैंकहरूले सहीरूपमा प्रवाह गरिदिएनन् । सोही कारण कतिपय उद्योगी व्यापारीहरू अप्ठ्यारोमा परे र उनीहरू पलायन नै हुनुपर्ने अवस्था आयो । राष्ट्र बैंकले बैंकहरूलाई दिएका सुविधामार्फत् ग्राहकलाई सन्तुष्ट पार्न चुकिरहेको भन्दै ढकालले बैंकहरूले ओभर फाइनान्सिङ रोक्न चुकेका कारण पनि खराब कर्जा बढिरहेको बताउनुभयो । राष्ट्र बैंकले दिन भनेको अतिरिक्त लोनलाई बिजनेस रिकभरीमा लगाउन भने पनि सोहीअनुसार लगाउन नसक्दा पनि समस्या आएको उहाँको भनाइ थियो । पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले नियमनमा चुक्दा पनि अहिलेको खराब कर्जा बढिरहेको बताउनुभयो । उहाँका अनुसार सहीरूपमा कर्जाको नियमन भएका बैंकहरूको ब्यालेन्स सिट राम्रो छ । बैंकहरूले धितोका आधारमा मात्रै ऋण दिनुहुँदैन । समग्र अर्थतन्त्र खस्कँदा व्यापार–व्यवसाय प्रभावित भएको छ र खराब कर्जा बढेको हो । अहिले व्यापार–व्यवसाय छैन । त्यसैले ग्राहकको कर्जा चुक्ता गर्ने क्षमता पनि कमजोर भएको छ । बजारमा देखिएको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था सिर्जना गर्न भूमिका खेलेको जस्तो देखिन्छ ।