Redirecting...

फुङलिङमा सुँगुरको खोर विवाद : निर्णय फिर्ता लिन नगरपालिकालाई संघर्ष समितिको अल्टिमेटम - nagariknews.nagariknetwork.com

फुङलिङमा सुँगुरको खोर विवाद : निर्णय फिर्ता लिन नगरपालिकालाई संघर्ष समितिको अल्टिमेटम - nagariknews.nagariknetwork.com
Source: ngrk

साउन २२ भित्र सुँगुरका खोर हटाउन समयावधि दिएको फुङलिङ नगरपालिकालाई सुँगुर व्यवस्थापन संघर्ष समितिले उल्टै निर्णय फिर्ता लिन अल्टिमेटम दिएको छ ।सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको निर्णयविरुद्ध संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका सुँगुरपालक किसानहरूले साउन २२ गतेभित्र निर्णय फिर्ता लिन अल्टिमेटम दिएका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै सुँगुर तथा बंगुर पालकहरूले सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको उर्दीलाई ‘निरङकुश र विभेदकारी’को संज्ञा दिए । नगरपालिकाले उक्त निर्णय साउन २२ गतेभित्र फिर्ता नलिए आफूहरू आन्दोलनमा उत्रने चेतावनी उनीहरूको छ ।‘नगरपालिकाले सुँगुरका खोर व्यवस्थापनको विषय उठाएर छलफलमा बोलाउला मध्यमार्गी बाटोमा सहमतिमा जुट्ला भनेको त, उल्टै पेल्न खोजेपछि हामी नगरपालिकाको निर्णयप्रति एकजुट र सशक्त रूपले प्रतिरोधमा उत्रिएका हौँ’ सुँगुर व्यवस्थापन संघर्ष समितिका संयोजक कल्पना लिम्बूले भनिन् । उनले नगरपालिकाले जारी गरेका पहिलो र दोस्रो पटकका दुवै सूचनाले सुँगुर तथा बंगुरका खोर व्यवस्थापन गर्ने नभई सुँगुर तथा बंगुर पालन व्यवसायीलाई प्रतिस्थापन गर्ने प्रकृतिको रहेकोले आफूहरूले त्यसलाई ‘निरङकुश र विभेदकारी’को संज्ञा दिएको बताइन् ।कुनकुन क्षेत्रमा सुँगुर वा बंगुर पाल्न पाउने भन्ने विषय छलफलबाट टुङ्ग्याउनु पर्नेमा उल्टो सुँगुरका खोर हटाउन चेतावनी दिने नगरपालिकाको कदम ठीक नभएको सुँगुर तथा बँगुर पालकहरूको दाबी छ । आफूहरू सफाई, खोर व्यवस्थापन सहितका विषयमा लचक रहेको तर नगरपालिका आफैँले विकल्पै नराखी खोर हटाउनुपर्ने रटान दिएकोले त्यसको प्रतिवादमा जानु परेको संघर्ष समितिले दाबी गरेको छ ।संघर्ष समिति संयोजक लिम्बूले याक्थुङ समुदायमा कतिपय सामाजिक कार्यमा सुँगुरको परिकार अनिवार्य रहेको बताउँदै संस्कृति, सभ्यता, व्यवसायीको मर्मप्रति नगरपालिका अनुदार र विभेदकारी हुनु नहुने तर्क गरिन् ।नगरपालिकाले गत बिहीबार दोस्रोपटक ७ दिने म्याद दिँदै अव्यवस्थित रूपमा रहेका सुँगुरका खोर साउन २२ गतेभित्र हटाइसक्न सूचना जारी गरेको थियो । उक्त अवधिभित्रमा सुँगुरका खोर नहटाए सेवासुबिधा बन्द गर्ने नगरपालिकाको चेतावनी छ ।नगरपालिकाले तोक्मेडाँडा, कफी हाउस आसपासका क्षेत्र, तोक्मेडाँडा हुँदै पालसिंह डाँडा–बुद्धचौक–बिहीबारे आसपासका क्षेत्र, शेर्पाटोल–दाहालगाउँ–बाँझोगरा आधारभूत विद्यालय आसपाससका क्षेत्र र वीरेन्द्र चोक–हुलाकटोल–नवज्योति बोर्डिङ स्कुल–नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्रमा रहेका सुँगुरका खोर हटाउन सूचनामार्फत उर्दी गरेको छ ।यस्तै बालमन्दिर क्षेत्र–पुरानो गोसलाइन–कञ्चनजंघा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन क्षेत्र र भानुस्कुल–सेतिधारा–बोझे आसपासका क्षेत्रका सुँगुरका खोरहरू राख्न नपाइने नगरपालिकाको उर्दी छ । बर्सातको समयमा देशभर मलेरिया रोग फैलिएको र ताप्लेजुङमा पनि मलेरियाका बिरामी फेला परेको तथा सुँगुरको मलमूत्रले वातावरण, जनस्वास्थ्य तथा अन्य पक्षमा समेत असर गर्ने तथा सेता लामखुट्टेका फुल र लार्भा फोहोरमा फैलने भएकोले अव्यवस्थित रूपमा रहेका सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।यसअघि नगरपालिकाले २०८२ साल असार २७ गते सूचना प्रकाशित गरी साउन २ गतेसम्ममा सुँगुरका खोर हटाइसक्न भनेको थियो । त्यसपछि कार्यपालिकाको साउन ११ गतेको बैठकले तोकिएका क्षेत्रमा सुँगुरका खोर नहटाए नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट कटौती गर्ने निर्णय गरेको जानकारी सहित मिति २०८२ साल साउन १५ गते दोस्रोपटक ७ दिने म्याद सहितको सूचना प्रकाशित गरेको हो ।