‘रमिताको पिरती’ले विभिन्न सहरमा कन्सर्ट गर्ने, ‘फोन नगर’ सार्वजनिक - ehimalayatimes.com
बुटवल । यही माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’को गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । कुशल पोखरेलको स्वरमा रहेको यस गीत पहिलोपटक बुटवलमा आयोजित कन्सर्टमा दर्शकसमक्ष प्रस्तुत गरिएको हो । गीतका शब्द र स्वर स्वयं कुशल पोखरेलले तयार पार्नुभएको हो । गीत विशेषगरी नयाँ पुस्ताका दर्शक र श्रोताको रुचिलाई मध्यनजर गर्दै बनाइएको छ । गीतको भिडियोमा कुशल पोखरेल र आना शर्मा फिचर्ड हुनुहुन्छ । भिडियोको निर्देशन, छायांकन र सम्पादन झोलेइज्मले गर्नुभएको छ भने जेस्टीको नृत्य निर्देशन छ । कन्सर्टमा कुशल र आना शर्मासहित समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकी लगायतका कलाकारले प्रस्तुति दिनुभएको थियो । कुशल पोखरेलले गीतबारे चर्चा गर्दै ब्रेकअपपछि युवापुस्ताको कथालाई केटीको दृष्टिकोणबाट प्रस्तुत गरिएको बताउनुभयो । उक्त कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ प्रस्तुत गर्नुभएको थियो भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिनुभएको थियो । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ । यसलाई सुदिप्ताले निर्देशन गर्नुभएको हो । गायक श्रेष्ठ यस चलचित्रमार्फत अभिनेताका रूपमा डेब्यु गर्दै हुनुहुन्छ । साथै, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राईलगायत कलाकारको पनि अभिनय छ यस चलचित्रमा ।