हुम्लाको डाडाफयाको थाया गाउँमा मौरी मर्ने अज्ञात रोगको प्रकोप, किसान चिन्तित - ehimalayatimes.com
हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७ स्थित थाया गाउँमा अज्ञात रोगको कारण मौरीहरू मर्न थालेपछि मौरीपालक किसानहरू चिन्तामा परेका छन्। एक हप्ता अघिदेखि देखा पर्न थालेको यस रोगले दर्जनौँ मौरीघार प्रभावित हुन थालेका छन्। थाया गाउँका भैरे सिंह र विर बहादुर सिंहलगायत किसानका अनुसार मौरीहरू घारभित्रै र वरिपरि मरेका छन्। यो समय वनफुल प्रशस्त हुने र मह उत्पादनको प्रमुख सिजन भए पनि उत्पादनमा ठूलो असर पर्न थालेको छ। “चार वटा मौरीघारमध्ये एक घारका सबै मौरी मरे, मह उत्पादनको सिजनमै यस्तो भएकोले व्यवसाय नै संकटमा पर्न लाग्यो,” मौरीपालक भैरे सिंहले बताउनुभयो। कृषकहरूका अनुसार अहिलेसम्म मौरी मर्नुको कारणबारे प्रष्ट जानकारी छैन। यसले गर्दा न मह उत्पादन भइरहेको छ, न त मौरी बचाउन सकिएको अवस्था छ। मौरीको अचानक मृत्युको कारण पहिचान गरी रोकथामका उपाय अपनाउन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्लाका प्रमुख नवीन पौडेलका अनुसार थाया गाउँबाट मौरीमा अज्ञात रोग देखिएको जानकारी प्राप्त भएलगत्तै अनुसन्धानका लागि प्राविधिक टोली खटाइएको छ। “वर्खायाममा केही विषालु घाँसहरू मौरीले सेवन गर्दा यस्तो हुन सक्ने सम्भावना छ,” पौडेलले बताउनुभयो, “तर अहिलेसम्म यकिन कारण पत्ता लाग्न सकेको छैन, थप अध्ययनका लागि टोली खटाउने तयारी भइरहेको छ।” उहाँले मौरी व्यवसायमा समस्या देखिनुका पछाडि डढेलोको असर, विषादी प्रयोग, गुणस्तरहीन रानी मौरी, मौसमको चरम परिवर्तन र घार व्यवस्थापनमा कमी पनि हुन सक्ने उल्लेख गर्नुभयो। हुम्लामा एक माना महको बजार मूल्य औसत रु १२०० सम्म पर्न आउँछ। स्थानीय किसानले यही व्यवसायमा आश्रित रहेर घरखर्च चलाउँदै आएका छन्। तर मौरी मर्ने क्रम नरोकिए मह उत्पादनमा गिरावट आउने मात्र होइन, मौरीपालन व्यवसायै धरापमा पर्ने चिन्ता बढ्दो छ। किसानहरूले जिल्ला, प्रदेश तथा संघीय सरकारसँग समयमै हस्तक्षेप गरी समस्या समाधान गर्न माग गरेका छन्। यथाशक्य चाँडो रोग पहिचान गरी रोकथाम तथा व्यवस्थापन गरिएमा मात्र मौरीपालक किसानको भविष्य सुरक्षित हुने स्थानीयको भनाइ छ।