कथा: साष्टाङ्गसूय - sahityapost.com
सिम्रौनगढ नजिकै तिरहुतमा डोयहरूको शासन चल्दै गर्दा कोसौं परको चित्रपुरमा राजा विचित्रवीरको शासन चलिरहेको थियो । त्यही राज्यमा लप्सीकोट बस्ती थियो । जलहार र डोलेहरू बस्ने उक्त बस्तीमा विचित्र-विचित्रका मेला लाग्ने गर्दथे । कहिले श्रीमती बोकेर डाँडापारि पुग्ने जात्रा त कहिले श्रीमतीले श्रीमान बोकेर दौडिने मेला । तिनताका चित्रपुर राज्यका राजा विचित्रवीर थिए । लप्सीकोट गाउँका मुखिया चित्रवीर, मान्छे रिझाउने र दुनो सोझाउने कौशलमा दिग्गज थिए । घरमा बुढीले केटाकेटीको भाग कटाइ-कटाइ दुध जम्मा गर्दै दारको धार्ने ठेकीमा मोही पारेर निस्केको घिउ हाफटिनमा जम्मा गर्थिन् । चित्रवीर भने कहिले त्यही हाफटिन, कहिले बाख्राको पाठो त कहिले भर्खरै ठटाएका सिल्टुङ र भर्खर झाँटेर कुटेका गुडुरा धानका सिरिम्ला पोको पारी भारी पुर्याएर राजा विचित्रवीरकहाँ पुग्थे । राजा विचित्रवीर बग्गीमा गाउँ-गाउँ घुम्न निस्कन्थे । विचित्रवीरले राजालाई जति पटक भेटे पनि इन्द्रधनुष साष्टाङ्ग टक्र्याउँथे । कोसेली-पाहुर र खुशामदीमा उनले प्रदर्शन गरेको अब्बलताका कारण राजाबाट लप्सीकोटका प्रधान प्रशासक पद पजनी पाएका थिए । लप्सीकोट गाउँका सबै घरहरू फुसले छाएका थिए । ती घरका ढुङ्गामा कालो माटो लेसेर ढलान गरिएको हुन्थ्यो । दशैंको बेला ती घरमा रातो र पहेलों माटो अनि सेतो कमेरो पोतिन्थ्यो । ढोकाका चौकोस र थाममा अँगार पिसेर तेलमा पकाएर दलिन्थ्यो । भर्खरै पोतिएका ती घर नजिकै जाँदा मगमग सुवास छरिएको हुन्थ्यो । स-साना आँखीझ्याल हुने त्यस्ता गोल घरका गरामा ठाउँ-ठाउँमा गुन्याला बनाइएका हुन्थे । गाउँ नजिकै कुवा-पँधेरो केही थिएनन् । पिठ्यूँमा गग्रेटो बोकेर कोसौं पर कुवामा पानी भर्न जानुपर्ने अवस्था थियो । कतै कतै खाल्डे चर्पी बाहेक चित्रपुर राज्यभरि पाइखाना थिएनन् । गाउँका महिलाहरू शौचले च्यापेपछि सखारै झिसमिसेमा सिल्टेको डल्ले लोटामा पानी लिएर बाटो छेउको बयर झ्याङ् नजिकै गुन्यु फर्काएर त कोही मजेत्रोले मुख छोपेर निहुरमुन्टी लगाएर शौच गर्न बस्थे । लोग्ने मान्छेहरू भने सुर्योदय हुने बेलामा बाटोको छेउमा टुसुक्क बस्थे । बाटो हिँडिसाध्य हुँदैनथ्यो । बटुवाहरू नाक थुन्दै खुट्टा झारमा पुछ्दै बाटो लाग्न विवश हुन्थे । चित्रपुरे राजा विचित्रवीर मगधका राजा जरासन्धको सिको गर्न खोज्थे । बाचुञ्जेल आफूमात्रै चित्रपुर राज्यको साम्राज्यधीश बन्न खोज्थे । चित्रवीरमा कुनै गम थिएन, न त खरखुसामद बाहेक अन्य कला नै देखिन्थ्यो । उमेरले तीन दर्जन वर्ष कटेका उनले गाउँमा दौडाहा टोली आएको बेला उमेर सच्याएर एक दर्जन वर्ष कान्छो बनाएका थिए आफूलाई । भन्छन् भित्र काँतर भएको मान्छे बाहिर निकै जब्बर देखिने चेष्टा गर्दछ । चित्रवीरमा ठ्याक्कै त्यस्तै स्वभाव देखिन्थ्यो । छोरी कुट्ने बुहारी तर्साउने खालको उनको व्यवहारले अरु सबैलाई अनाडी प्रमाणित गर्न खोज्दथ्यो । मान्छे जति जान्ने सुन्ने हुँदै गयो बदमासी उसैले धेरै गर्दो रहेछ क्यारे । शुद्धबुद्ध गाउँलेहरू रहेको उक्त गाउँमा हुँदा हात तान्नेहरू धेरै र खुट्टा तान्नेहरू थोरै हुन्थे । सबैका चन्द्रमा र नवग्रहहरू सँधै दाहिना हुँदैनन् । तर चित्रवीरलाई यस कुराको पटक्कै हेक्का थिएन । प्राचीन र नमूना राज्य भनिने चित्रपुरमा अड्डा-अदालतमा काम गर्ने कारिन्दाहरू सबै रैती बराबर, अछुत र मुकदर्शक बन्नुपर्ने अवस्था थियो । जताततै राजाका स्तुति गरिएका फोटा टाँसिएका हुन्थे । चित्रवीरलाई राजा विचित्रवीरले रसियाबाट उपहार स्वरुप ल्याएको घोडा दिएका थिए । सो घोडा ल्याउँदा उनले नजराना स्वरुप दुर्लभ एकसिङ्गे गैंडाका भालेपोथी रसिया पठाएका थिए रे । घोडा चढेर फुर्किएका चित्रवीर गाउँमा घोडा चढेको देखाउन ढ्वाङ फुक्दै ठाडो घाँटी लाएर हिँड्ने गर्थे । ढ्वाङको कर्कस आवाज सुनेपछि अर्मपर्म छोडेर, मेलापातमा खाँदा-खाँदैको अर्नी कर्कलाको पातले छोपेर गाउँलेहरू फूलमाला लिएर निकै खुशी भएर भेला भएका थिए । गाउँलेहरू घोडेटो बाटोको किनारमा उभिएर लामबद्ध भएर चित्रवीरलाई दुई कर जोडी नमस्ते गर्थे । चित्रवीर गजक्क परेर फुक्क फूल्थे । बिजुलीको पोलले बरु आदरको जवाफ आदरले फर्काउँथ्यो होला, उनले पटक्कै नफर्काएको देख्दा गाउँलेहरू जिल्ल पर्थे । अहङ्कारको जङ्गे पिलर साक्षात् खडा भएको अनुभूत गर्थे गाउँलेहरू । भीडमा नबोलिएका हजारौं आवाजहरू तामे ढकुर कुर्लेजस्तै कुर्लेको प्रतीत हुन्थ्यो । चित्रवीरले बेरो निकालेरै भए पनि राजा विचित्रवीरको दौराको फेरो समाउन तन्मय हुन्थे । “त्वमेव सुमेरु त्वमेव कुमेरु” लाई मूल मन्त्र बनाएर आफ्ना स्वार्थका रोटी सेक्न उधुमै खप्पिस भइसकेका थिए । उनको यही धुर्त्याइँका कारण चित्रपुर राज्यका अरु थुप्रै कर्मशीलहरूलाई पछार्दै राजाबाट अनेकौं बक्सिस समेत हात पारेका थिए । धेरै खाएपछि गुड पनि तीतो हुन्छ भनेझैं राजा विचित्रवीरको लामो शासनबाट लप्सीकोटेहरू आजित भएका थिए । पछिल्लो समयमा उनका अन्यायीपूर्ण व्यवहार देखेर सारा जन उर्लिएर गल्लीमा आएर उनीबिरुद्ध नाराबाजी गर्न थालेका थिए । आम विद्रोहका दौरान एकदिन सर्वसाधारणहरू दरबारमा छिरेर भीमसेनले जरासन्धलाई मल्लयुद्धमा हराएसरि राजा विचित्रवीरलाई पराजित गरेर दरबारबाट उठाएर गाढामा राख्दै सत्ताच्यूत गरेका थिए । सो दिन जनताले राजालाई पायल चप्पलको माला लगाएर गाउँ-गाउँ डुलाएका थिए । राजा सत्ताच्यूत भएसँगै चित्रवीरको प्रधान प्रशासक पद पनि चैट भएको थियो । माझी गाउँको मुखिया वीरमान आफू एकदिन दरबार पुग्दा चित्रवीरले राजा विचित्रवीरको गोडामा ढोग्दै असली मछली भनेर पाहुर चढाउँदै गरेको देखेपछि सुटुक्क उठेर कुलेलाम ठोकेको कहानी गाई-भैँसी चराउन गएको बेला सिमलवनको एक्लेबरको चौतारीमा ग्वाला साथीहरूलाई सुनाएका थिए । दशैंको रौनक शुरु भएको बेला फलामे डाँडा पारिको भुजेल गाउँको थिरमान चित्रवीरको घरमा एकपटक खरी बाख्राको पठ्याङ्ग्रो लिएर गएको बेला चित्रवीरकी श्रीमती गुनाले बेस्मारी हकारिरहेकी थिइन् । “व्यहोरा सक्केका, हौंस नपरेका मनुवा ! तिमी मान्छेको भाँडो हौ र ? जाऊ तिम्रै अपिस, उतै बस तिम्रा राजासँग । ठूला गफले घर चल्च ?” पतिले घरमा ढलेको सिन्को नउठाउने । जतिबेला पनि यो फलानो यो तिलानो भनेर बोकेर ल्याएको देख्दा उल्का भएर बिस्फोट भएकी थिइन् शायद । दलिनमा सिउरेको हतासो निकालेर ढाडमा बजाउन खोज्दा चित्रवीर कछाड फालेर कच्छामा भाग्दै गरेको देख्दा थीरमान तर्सेर पठ्याङ्ग्रो फिर्ता बोकेर जुरुक्क उठेर लुरुक्क फर्किएको थियो रे । चित्रवीर प्रधान प्रशासक हुञ्जेल आफ्नो लिप्सा पूरा गर्नु सिवाय बस्तीमा विद्यालय, शौचालय बनाउनेतर्फ कहिल्यै ध्यानै दिएनन् । मेरो शासन स्वर्णकाल हो भनेर घोषणा गरे पनि लप्सीकोट गाउँमा बत्ती, पानी, विद्यालय र शौचालय इत्यादि केही बनेका थिएनन् । चित्रवीरको पद खुस्किएपछि राजाले दिएको घोडा फिर्ता गर्नुपर्ने भयो । घोडचढी ठाँट-बाँठ सकिएपछि चित्रवीरको अवस्था कुहेको कर्कलोको पातजस्तै लत्याकलुतुक हुँदै जान थालेको थियो । आफ्नो गाउँ-ठाउँ, समाज र टोलका गरिबगुरुवा र दीनहीनका लागि केही नगरेका चित्रवीर गाउँमा हिँड्दा पनि अरुले चिन्लान् कि भनेर काने टोपी र मुखमा मुखुण्डो लगाएर ओहोरदोहोर गर्थे रे । क्षणभङ्गुर पद र अस्थायी आसनले उब्जाएको अहङ्कारको टाकुराबाट भस्मफाल मारी उही धरातलमा झर्नु पर्दाको चित्रवीरको कन्तबिजोग निकै दयनीय अनुभूत हुन्थ्यो । असामाजिक बनाउँदै गएका सामाजिक सञ्जालका अल्गोरिदमका अल्झाइमा परेर सतही बन्दै गएका अधीर नयाँ पुस्ताको समयमा गाई चराउन जाँदा मोदीमुनि लुकामारी खेल्दै नागबेली रुपमा अगाडि बढेको कालीगङ्गा र सुइँय्य खोटे सल्ला सुसाएको मिठो सङ्गीतसँगै उसले यो कथा सुनाएको थियो मलाई ।