Redirecting...

टिकोटमा अझै भित्रिएकाे छैन रासायनिक मल - nagariknews.nagariknetwork.com

टिकोटमा अझै भित्रिएकाे छैन रासायनिक मल - nagariknews.nagariknetwork.com
Source: ngrk

म्याग्दीको अन्नपूर्ण गाउँपालिका - ७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी गर्छन्। पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बनेका हुन्। १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाएका थिए।“कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,” उनले भने “ताजा तरकारी बेचेर वार्षिक रूपमा पाँचदेखि सात लाख रूपैयाँसम्म आम्दानी हुन्छ।”साँझबिहान तरकारी र किबीको फार्मको स्याहार सुसारमा व्यस्त वडा सदस्य समेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिन्छन्।टिकोटको छिमेकी वस्ती घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका - ७ का पूर्व वडाध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि व्यावसायिक तरकारी खेतीमा सक्रिय छन्। फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गरेका छन्।गोलभेडा खेतीका लागि उनले तीन वटा पलास्टिक टनेल बनाएका छन्। फगामीका छिमेकी बाहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यवसायिक रूपमा आलु खेती गर्दै छन्। घराम्दी र टिकोटका कृषकले उत्पादन भएको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ।यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन्। गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ। यहाँबाट वार्षिक दुई करोडभन्दा बढी मूल्यको आलु र र एक करोड रूपैयाँ बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य वुद्धिविर पुनले बताए। टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा छ।चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ। अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्यामशरण कुर्मीले बताए।कार्यक्रम मार्फत कृषकहरूलाई तरकारी खेतीका लागि आवश्यक विउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उनले बताए।खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक विधिबाट तरकारी खेती गरेका छन्। टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोग किरा लाग्न नदिन र नियन्त्रण गर्न गाईभैसीको मलमूत्र प्रयोग गरेको बताए।“पलास्टिकको वोत्तलमा संकलन गरेर राखेको गाईभैसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौ,” उनले भने “ टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन्।” यहाँका किसानको प्रत्येक गोठमा गाईभैसीको मूत्र संकलन गरेर राखेका छन्।