Redirecting...

बाढी पहिरोपछि उद्धारमा नेपाली सेना, अहिलेसम्म कहाँ के गर्‍यो ? - www.pardafas.com

बाढी पहिरोपछि उद्धारमा नेपाली सेना, अहिलेसम्म कहाँ के गर्‍यो ? - www.pardafas.com
Source: pfds

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धारका लागि नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दासँग समन्वय गरी उद्धार कार्य जारी राखेको छ। सेनाले दिएको जानकारी अनुसार मोरङ, झापा र इलाम जिल्लामा आज बेलुकी ६ बजेसम्म उल्लेखनीय उद्धार कार्य सम्पन्न गरिएको छ। मोरङ जिल्लाको कटहरी गाउँपालिका–४, नयाँबजारस्थित सुकुम्बासी टोल बाढीको कारण डुवानमा परेपछि शिवदल गणको टोलीले ६ जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। त्यसैगरी, झापा गाउँपालिका–१, मिलनबस्तीमा बाढीले फँसेका १० जना पुरुष र ५ जना महिला गरी १५ जनालाई अरिदमन गणको टोलीले मोटरबोट प्रयोग गरी उद्धार गरेको छ। सोही क्षेत्रमा माई खोलाले हुलाकी राजमार्ग कटान गरेपछि फँसेका करिब ७० देखि ८० जना नागरिकमध्ये १६ जनाको हवाई उद्धार र २० जनाको मोटरबोटमार्फत उद्धार गरिएको सेनाले जनाएको छ। बाँकी व्यक्तिहरुको उद्धार कार्य निरन्तर जारी छ। त्यस्तै, झापा गाउँपालिका–२, सडक बस्ती र वडा नं. ६, स्वर्णमति युवा टोलमा डुवानमा परेका २४ जना (१३ महिला र ११ पुरुष) लाई पनि सेनाको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। यसैबीच, इलाम नगरपालिका–६, घोस क्षेत्रमा पहिरोमा पुरिएका व्यक्तिहरुको खोज तथा उद्धारमा खटिएको रणशार्दुल गणको टोलीले ५ जनाको शव फेला पारेको छ भने १ जनालाई जीवितै उद्धार गरी जिल्ला अस्पताल इलाम पठाइएको सेनाले जनाएको छ। नेपाली सेनाले स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समुदायसँग समन्वय गर्दै उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।