प्रधानन्यायाधीश र न्यायाधीशहरुले र्याखर्याख्ती पारेपछि सर्वोच्च जल्दा खुशी मनाउने अधिवक्ता खरेल ढले - janatatimes.com
काठमाडौं, १७ मंसिर । भदौ २४ गते जेजनी आन्दोलनको आवरणमा सर्वोच्च अदालतसहितका अदालत र बार एशोशियसनका कार्यालय जल्दा खुशी मनाउने अधिवक्ता सुलभ खरेल त्यहीँ विषयले इजलासमा ढल्नुभएको छ। एमालेले संसद विघटनविरुद्ध हालेको रिटमा बहस हुनुभन्दा अगाडिको इजलासमा यो घटना भएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा गेहेन्द्र मल्लले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतविरुद्ध दायर गरेको रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पहिलो बहस गर्नुभएको थियो । प्रत्यक्षदर्शीका अनुसार भट्टराईपछि खरेल बहसका लागि इजलास समक्ष उभिएर आफ्नो परिचय दिने वित्तिकै प्रधानन्यायाधीश राउतले अदालत जल्दा सामाजिक सञ्जालमार्फत खुशी मनाएको प्रसंग झिक्कदै उहाँमाथि खनिनुभएको थियो । राउतको भनाइ उद्धृत गर्दै एक कानुन व्यवसायीले भन्नुभयो, ‘तपाईं इजलासमा बहस गर्न आउनभयो। तर तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतमा आगलागीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ?’ खरेलको उपस्थितिले आक्रोशित भएका प्रधानन्यायाधीश राउत त्यतिमा मात्रै रोकिनुभएन। उहाँले अगाडि भन्नुभयो, ‘एउटा कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैन ? तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो ?’प्रधानन्यायाधीशकै प्रश्नले रातोपिरो भएर थरथर कापीसकेका खरेलमाथि इजलासमा रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पनि थप प्रश्न गर्नुभयो। ‘न्यायाधीशको जति मर्यादा हुन्छ, त्यति कानुन व्यवसायीको पनि आफ्नो मर्यादा हुनुपर्ने होइन रु भदौ २४ गते कस्तो अवस्था थियो तपाईंहरुलाई थाहा नै छ । न्यायाधीशलाई पार्टीको झोले भनेको छ, अदालत मात्रै जल्यो न्यायाधीशलाई पनि जलाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्दा विचार गर्नपर्छ कि पर्दैन ? मल्लले खरेललाई अगाडि भन्नुभयो , ‘हामी तपाईंको क्षमतामाथि प्रश्न गर्दैनौं, राम्रै गर्नुभएको छ। यसले कानुन व्यवसायीले आफ्नो मर्यादा के ख्याल गर्नुपर्दैन। यसले हाम्रो न्यायालय कता पुग्छ ? ’ न्यायाधीशहरु खरेलमाथि प्रश्न गरिरहँदा भट्टराईले अवस्थालाई सहजिकरण गर्ने कोसिस गर्नुभएको थियो। तर खरेलको क्रियाकलापप्रति असन्तुष्ट न्यायाधीशहरु रोकिएनन्। खरेललाई इजलासबाट बाहिर निकालिसकेपछि पनि सामान्य अवस्थामा आउन प्रधानन्यायाधीश राउतलाई केही समय लागेको थियो। मल्लले समेत उस्तै पेचिलो प्रश्न गरेपछि खरेल थप कापिरर ढल्ने अवस्थामा पुगेपछि कानुन व्यवसायी र सुरक्षाकर्मीले हत्तपत्त बाहिर निकालेर पानी खुवाएका थिए। संवैधानिक इजलास बाहिर केही समय राखेपछि खरेललाई मुख्यरजिष्ट्रार विमल पौडेलको कार्यकक्ष लागिएको थियो । अस्पताल लैजाने तयारी भए पनि वरिष्ठ अधिवक्ता भट्टराईले नै उहाँलाई पौडेलको कार्यकक्षबाट लिएर गएको एक अधिकारीले बताउनुभयो । रास्वपा र रवि लामिछानेका कट्टर समर्थक खरेलले भदौ २४ अदालतमा आगो लागेर बलिरहेका बेला साँझ सामाजिक सञ्जाल फेसबुकमा सर्वोच्च अदालत जल्दा आफ्नो मन एक रत्ति पनि नरोएको बताउँदै अब न्यायालयको भविष्य नै आफूले लेख्ने टिप्पणी गर्नुभएको थियो। उहाँ रुपन्देही ३ मा हुन आँटेको उपचुनावमा रास्वपाबाट आकांक्षीसमेत हुनुहुन्थ्यो। चौतर्फी आलोचनापछि हटाएको स्ट्याटसमा उहाँले लेख्नुभएको स्टाटस यस्तो थियो , ‘सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरु मेरो आँखामा संवैधानिक चोरहरु हुन् । साँच्चिकै संवैधानिक फटाहाहरु हुन्।’ त्यस्तै उनले अगाडि लेखेका थिए, ‘अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।’