अभियन्ता ढकाल नेतृत्वको युवा आवाज दबाबले छापिँदै २० लाख ड्राइभिङ लाइसेन्स - bishwokhabar.com
काठमाडौं– लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ कार्य अन्ततः अघि बढ्ने भएको छ । अभियन्ता आर्सि ढकाल र उनको समूह ‘युवा आवाज (Youth Voice)’ ले निरन्तर रूपमा उठाएको मागले सरकारलाई दबाब दिँदै वास्तविक परिणाम ल्याएको छ । गत भदौ २३ गते भएको भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन पछि ढकाल र उनका सहकर्मीले प्रत्यक्ष रूपमा सुरक्षा मुद्रण केन्द्र (Department of Security Printing) पुगेर औपचारिक पत्र बुझाएका थिए । उक्त पत्रमा उनीहरूले लाइसेन्स छपाइ ढिलाइको कारणबारे स्पष्ट जवाफ माग्दै तत्काल कारबाही र समयमै सेवा उपलब्ध गराउन माग गरेका थिए । उनको नेतृत्वमा गएको टोलीले विभागमा विद्यमान अव्यवस्था, ढिलासुस्ती र भ्रष्टाचार उजागर गर्दै कडा चेतावनी दिएको थियो, “यदि केन्द्रले समयमै सेवा दिन सकेन भने, जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरियोस् ।” अब उक्त दबाबको प्रत्यक्ष परिणाम देखिन थालेको छ । यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार, भोलिदेखि सवारी चालक अनुमतिपत्रको नमूना (स्याम्पल) छपाइ कार्य सुरु हुँदैछ । सफल परीक्षणपछि नियमित रूपमा छपाइ सुरु हुने र पहिलो चरणमै १२ लाख थान लाइसेन्स छापिने योजना बनाइएको छ । खतिवडाका अनुसार, स्रोत र साधन विस्तार गरेपछि तीन महिनामै उक्त परिमाणको छपाइ पूरा गर्न सकिने सम्भावना छ । साथै मन्त्रालयसँगको सहकार्यमा थप १३ लाख लाइसेन्स पनि एक वर्षभित्र छाप्ने लक्ष्य रहेको उनले जानकारी दिए । हाल करिब २५ लाख नागरिक ट्रायल पास गरेपछि लाइसेन्सको प्रतीक्षामा रहेका छन् । ढिलासुस्ती र बजेट अभावका कारण लामो समयदेखि जनतामा असन्तोष चुलिएको थियो । अभियन्ता आर्सि ढकालले भनिन, “यो केवल कागजको लाइसेन्सको कुरा होइन, यो नागरिकको अधिकार र उत्तरदायित्वप्रति राज्यको जवाफदेहिताको सवाल हो । युवाहरूको सामूहिक दबाबले परिवर्तन सम्भव छ भन्ने प्रमाण अहिले हामीले देखाएका छौं ।” यसअघि ढकाल र उनको समूहले “Enough is Enough” अभियानको शैलीमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै, समाधानमुखी नागरिक आन्दोलनको नमूना प्रस्तुत गरेका थिए । अब सरकारले समयमै सेवा उपलब्ध गराएर नागरिकको विश्वास पुनःस्थापना गर्न सक्छ कि छैन, त्यो हेर्न बाँकी छ । तर निश्चय नै, आर्सि ढकाल र उनका युवा समूहको आवाजले २० लाखभन्दा बढी नागरिकको अधिकारमा आशा र विश्वास जगाएको छ ।