सात महिनामा साढे ६ लाख पर्यटक - nagariknews.nagariknetwork.com
सन् २०२५ को सातमहिना अवधि (जनवरी–जुलाई) मा झन्डै साढे ६ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन। नेपाल पर्यटन बोर्डका अनुसार हवाई माध्यमबाट मात्र यो अवधिमा ६ लाख ४७ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यो जुलाईमा मात्र नेपालमा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक भित्रिएका छन्।पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए। बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, आधा समय बितिसक्दा पनि विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डको भनाई छ।बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछानेले अन्तर्राष्ट्रिय गन्तव्यको प्रवर्द्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या हुँदा पाहुना आगमना उत्साहजनक हुन नसकेको बताए। नेपालसम्म आउजाउ गर्ने पर्यटकले तिर्नुपरेको महंगो हवाई भाडा, विभिन्न मुलुकमा चर्किएको युद्ध, नेपालमा भएका केही घटनाक्रम लगायतले गर्दा पाहुना आगमन उत्साहजनक हुन नसकेको उनले बताए। लामिछानेका अनुसार नेपालमा सन् २०१९ मा सबैभन्दा बढी संख्यामा पाहुना आएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमणले असर गर्दा पर्यटक आगमन खस्किदै गएको थियो।कोरोना असर कम हुँदै जाँदा सन् २०२४ पछि बल्ल नेपालमा पर्यटक आगमनले गति लिन थालेको थियो। कोरोनाले थलिएको पर्यटन बजारमा वर्षेनी ६ देखि ८ प्रतिशत वृद्धि हुने अनुमान अनुसार विश्वभर पर्यटक आगमनमा सुधार भएको उनले बताए। त्यही अपेक्षा अनुसार बोर्डले अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशत वृद्धि हुनसक्ने अनुमान गरेको उनको भनाई छ।‘अहिले पनि नेपालसम्मको पर्यटनमा पहुँचमा समस्या छ । सोचेजस्तो आकारमा पाहुना आउन सहज पनि छैन,’ लामिछानेले भने, ‘हवाईभाडा महंगो भएकोले पाहुना आउन हच्केका छन।’ कतिपय मुलुकका विदेशी पर्यटक आउजाउको हवाई भाडा महंगो परेकोले पर्यटक आगमन सोचेजति हुन नसकेको र नेपालसम्मको हवाई भाडा महंगो परेका कारण नेपाल आउन चाहेका पर्यटक पनि अन्यत्र गएको उनले बताए। नेपालसम्मको गन्तव्य महंगो भएका कारण विदेशी पर्यटकहरु अरु सस्ता र नजिकका गन्तव्यमा डाइभर्ट भएको पनि उनले बताए। बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। जुलाई महिनामा भने नेपालमा ७० हजार १ सय ९३ जना विदेशी भित्रिएका छन। बोर्डका अनुसार जुलाई महिनाको आगमन भने अघिल्लो वर्षको जुलाईको भन्दा केही बढी रहेको छ। लामिछानेका अनुसार सन् २०२४ जुलाई महिनामा नेपालमा ६४ हजार ५ सय ९८ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ जुलाईमा भने नेपालमा ७० हजार ९ सय १६ जना विदेशी पाहुना भित्रिएका थिए। ‘अघिल्लो वर्षको भन्दा यो पटक आगमन भने वृद्धि भएको छ। पर्यटन क्षेत्रमा यो सकारात्मक पक्ष हो,’ लामिछानेले भने, ‘आगमनमा सुधार भएको छ। अघिल्लो वर्षको जुलाईमा भन्दा यो जुलाईमा आगमनमा झन्डै ९ प्रतिशत वृिद्ध भएको छ।’ सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष २०१९ को तुलनामा भने अझै आगमन केही कमजोर छ। २०१९ को जुलाईमा नेपालमा ७० हजार ९ सय १६ जना विदेशी नेपाल आएका थिए। जुलाई महिनामा नेपाल भित्रिने सबैभन्दा बढी विदेशी पर्यटक भारतीय छन। जुलाई महिनामा मात्र नेपालमा २७ हजार १ सय ५२ जना भारतीय पाहुना भित्रिएका थिए। नेपालमा भित्रिएका विदेशी पर्यटकमध्ये झन्डै ३९ प्रतिशत हिस्सा भारतीयले ओगटेका छन। आगमन संख्याको आधारमा दोश्रो नम्बरमा चिनियाँ पाहुना भित्रिएका थिए। चिनियाँ पाहुनाको संख्या ६ हजार ८ सय ९० (झन्डै ९ प्रतिशत) रहेको छ। तेश्रो नम्बरमा अमेरिकी पर्यटकको संख्या ६ हजार ६ सय २६ (९ प्रतिशत) रहेको छ । बंगलादेशी पाहुनाको आकार भने चौथो नम्बरमा छ। जुलाई महिनामा ४ हजार ४ सय १३ जना बंगलादेशी पाहुना भित्रिएका थिए। ६ प्रतिशत बढी बंगालदेशी पाहुना नेपाल भित्रिएका थिए। पछिल्लो समय बंगलादेशी पाहुनाका लागि नेपाल गतिलो गन्तव्य बनेसँगै आगमन पनि वृद्धि भईरहेको व्यावसायीले बताएका छन।