मोना र म्याग्दी काली ढोरपाटन रनिङ कप भलिबल च्याम्पियन - www.hamrokhelkud.com
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेलिरहेका पहल गहतराज र रेशम छन्त्यालसम्मिलित छन्त्याल परिवार अष्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको हो । निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पाँचौं सेट चलिरहँदा खेलमा विवाद भएपछि रेफ्रीले मोनालाई विजयी घोषणा गरेको हो । पाँचौं सेटमा छन्त्याल १२–११ ले अघि रहँदा छन्त्यालकै अफिसियल बक्सबाट रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि रेफ्रीले रातो कार्ड देखाएपछि खेलमा थप विवाद उत्पन्न भएको थियो । त्यसपछि रेफ्रीले पुनः छन्त्याल परिवारलाई अर्काे रातो कार्ड देखाएपछि केहीवेर विवादको स्थिति बनेको थियो । त्यसपछि छन्त्यालले नै बाँकी रहेको खेल नखेल्ने बताएपछि रेफ्रीले आयोजकसँगको छलफलपछि मोनालाई विजेता घोषणा गरेको थियो । त्यसअघि मोनाले पहिलो सेट २५–११ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने मोनाले २३–२५ ले गुमायो । तेस्रो सेट मोनाले २५–२३ ले जित्दै खेलमा २–१ को अग्रता कायम गर्यो । चौथो सेट १७–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बियो । महिलातर्फ म्याग्दी काली युनाइटेडले म्याग्दी जलजला परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । गत वर्ष पनि म्याग्दी काली नै च्याम्पियन बनेको थियो । म्याग्दी काली पछिल्लो समय सिड्नीमा भएको प्रतियोगितामा लगातार च्याम्पियन बनिरहेको छ । यसपटक म्याग्दी कालीबाट प्रतिभा मालीले तथा जलजलाबाट कविता भट्टले खेलेकी थिइन् । उपाधिसँगै मोनाले २ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले १ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार ३ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जलजलाले ७ सय ५० अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ मोनाका रविन चन्द ठकुरी र महिलामा म्याग्दी कालीकी प्रतिभा माली सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्रसँगै प्रयोजक योलोबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै पुरुषतर्फ छन्त्यालका पहल गहतराज उत्कृष्ट स्पाइकर, मोनाका शेररु रोका मगर ब्लकर, मोनाका बिशाल कार्की सेटर, छन्त्यालका रेशम छन्त्याल सर्भर, छन्त्यालका गणेश छन्त्याल उत्कृष्ट लिवेरो र मोनाका गोपाल पुनः उत्कृष्ट प्रशिक्षक चुनिए । महिलामा जलजलाकी कविता भट् उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सेटर, जलजलाकी गीता जुग्जाली सर्भर र म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट प्रशिक्षक चुनिइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको थियो । एक दिने प्रतियोगितालाई केओआई एण्ड जमघट रेष्टुरेन्ट, म्याग्दी रेमिट, गोर्खाज पेन्टिङ, एक्सप्रेस सेवा र काठमाडौं म म हाउस एण्ड बार, एभरेष्ट एजुकेशन एण्ड भिजा, एसएनवी क्लिनिङ, बैठक रेष्टुरेन्ट र श्रीजन मल्ल र परिवारलगायतले प्रायोजन गरेका थिए ।The post मोना र म्याग्दी काली ढोरपाटन रनिङ कप भलिबल च्याम्पियन first appeared on हाम्रो खेलकुद.