Redirecting...

स्वास्थ्य बिमाको सही सदुपयोग गर्न सेवाग्राही र सेवा प्रदायकलाई बोर्डको अपिल - www.lumbinisanchar.com

स्वास्थ्य बिमाको सही सदुपयोग गर्न सेवाग्राही र सेवा प्रदायकलाई बोर्डको अपिल - www.lumbinisanchar.com
Source: lbns

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा सेवाको जिम्मेवार प्रयोग गर्न सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ। बोर्डले सामाजिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण कार्यक्रमका रूपमा सञ्चालन भइरहेको स्वास्थ्य बिमाले आम नागरिकलाई वित्तीय संरक्षण प्रदान गरिरहेको उल्लेख गर्दै यसको सही सदुपयोग आवश्यक रहेको जनाएको हो। स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो। यस कार्यक्रममार्फत सम्पूर्ण नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने लक्ष्य लिइएको बोर्डले जनाएको छ। स्वास्थ्य बिमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ सहितका नीतिगत व्यवस्थाले यस कार्यक्रमलाई सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डका रूपमा परिकल्पना गरेको बोर्डको भनाइ छ। सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीका बाबजुद पनि स्वास्थ्य बिमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बोर्डले जनाएको छ। यसका कारण दैनिक औसत ८ करोड रुपैयाँ बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डको दाबी छ। बोर्डले सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार सञ्चालन भइरहेको स्वास्थ्य बीमाबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित निरन्तर प्रयास गरिरहेको जनाएको छ। बोर्डले ‘स्वास्थ्य बिमाकाे सही सदुपयोग गरौं’ भन्ने आह्वान गर्दै सेवाग्राहीलाई बिमा सेवाको दुरुपयोग नगर्न, अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीलाई दबाब नदिन र स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न आग्रह गरेको छ। साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई पनि औचित्यका आधारमा मात्र उपचार, चेकजाँच तथा ल्याब परीक्षण गर्न अनुरोध गरिएको छ। प्रचलित कानुन तथा बोर्डले तयार गरेका निर्देशिका, कार्यविधि र परिपत्रको पूर्ण कार्यान्वयन गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन सेवा प्रदायकको भूमिका महत्वपूर्ण हुने बोर्डले स्पष्ट पारेको छ। स्वास्थ्य बिमा सेवा लिँदा देखिएका असहजता वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थालाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल तथा छलफल भइरहेको जानकारी पनि बोर्डले दिएको छ।