Redirecting...

भावी प्रधानमन्त्रीले नै लुकाए पारिवारिक विवरण र शैक्षिक योग्यता - bishwokhabar.com

भावी प्रधानमन्त्रीले नै लुकाए पारिवारिक विवरण र शैक्षिक योग्यता - bishwokhabar.com
Source: bsbk

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा सुशासन पारदर्शिता र कानुनी शासनमा प्रतिबद्धता जनाउँदै चुनावी मैदानमा होमिएका चर्चित नेताबाटै पारिवारिक विवरण र शैक्षिक योग्यता लुकाएको पाइएको छ । निर्वाचन आयोगको फाराममा उनीहरूले पूर्ण विवरण नभरेको पाइएको हो । ‘एकल बहुमतसहित सरकार बनाउन प्रधानमन्त्रीको उम्मेदवार’ समेत घोषणा गरेर चुनावी मैदानमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका चर्चित उम्मेदवारबाटै आफ्ना श्रीमान–श्रीमतीको विवरण गोप्य राखिएको छ । पारिवारिक विवरण लुकाउने अधिकांश रास्वपाका‘रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री’ भन्दै उम्मेदवारका रूपमा अगाडि सारिएका बालेन्द्र शाह (बालेन) ले आफ्नी श्रीमतीको नाम सार्वजनिक गरेका छैनन् । सविना काफ्लेसँग विवाह गरेका शाहको श्रीमतीको विषयमा जानकारी नभएको कमैलाई होला, तर औपचारिक दस्तावेज रहने आयोगको अभिलेखमा भने काफ्लेको नाम शाहले खाली नै राखेका छन् । त्यस्तै, रास्वपाका चर्चित नेतृ सोबिता गौतमले पनि आफ्नो श्रीमानको नाम गोप्य राखेकी छन् । चितवन क्षेत्र–३ बाट उम्मेदवार भएकी गौतमले चितवनकै गृहेन्द्र घिमिरेसँग ७ जेठ २०८० मा विवाह गरेकी थिइन् । उनले श्रीमानको नाम सार्वजनिक नगरेको विषय पनि सामाजिक सञ्जालमा आलोचना र विवादित बनेको छ । सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिका मसिना विषयमा समेत केस्राकेस्रा केलाउने पत्रकार जगदीश खरेलले समेत उम्मेदवारका रूपमा रहने आफ्नो अभिलेखमा श्रीमतीको नाम खुलाएनन् । ललितपुर क्षेत्र–२ बाट उम्मेदवार भएका खरेलले श्रीमतीको नाम खाली राखेका छन् । उनकी श्रीमती डा. सुप्रभा केसी स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । काठमाडौं क्षेत्र–१ बाट उम्मेदवार भएकी रञ्जु दर्शनाले पनि श्रीमानको नाम सार्वजनिक गर्न नचाहेको देखिएको छ । निर्वाचन आयोगमा अभिलेख रहने फाराममा श्रीमानको नाम खाली राखिएको छ । काठमाडौंका किसु कुइँकेलसँग विवाह गरेकी रञ्जु अहिले गर्भवती रहेको पनि उनी आफैंले सार्वजनिक गरेकी छन् । रास्वपाका तर्फबाट भक्तपुर–२ मा उम्मेदवार बनेका राजिव खत्रीले पनि श्रीमतीको नाम सार्वजनिक गरेका छैनन् । उनी विवाहित र सन्तानका पितासमेत हुन् । काभ्रे क्षेत्र–२ बाट उम्मेदवार भएका रास्वपाका सार्वजनिक मामिला विभाग प्रमुखसमेत रहेका बदन भण्डारीले पनि श्रीमतीको विवरण उल्लेख गरेका छैनन् । उनको पनि श्रीमती र १ छोरीको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । त्यस्तै, रास्वपाका अर्का चर्चित नेता पुकार बमले पनि श्रीमतीको नाम सार्वजनिक गर्न नचाहेको देखिएको छ । आफूलाई हार्वर्ड युभिर्सिटीको ‘पीएचडी स्कलर’ भएको बताउने उनले निर्वाचन आयोगले अनिवार्य सार्वजनिक गर्नुपर्ने भनेको शैक्षिक योग्यता विवरणमा भने खाली राखेका छन् । उनी विवाहित र सन्तानका पितासमेत हुन् । उनले कैलालीकी कल्पना मल्लसँग विवाह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका ज्ञानबहादुर शाहीले समेत आफ्नो श्रीमतीको विवरण खाली राखेका छन् । श्रीमतीको नाम र शैक्षिक योग्यता विषयलाई लिएर विवादमा आइरहने शाहीले विवरण गोप्य राखेका हुन् । भावी प्रधानमन्त्रीले नै लुकाए शैक्षिक योग्यतानिर्वाचन आयोगले यस निर्वाचनबाट सुरु गरेको शैक्षिक योग्यता सार्वजनिक गर्ने व्यवस्था प्रधानमन्त्रीका लागि प्रस्तावितले नै उल्लंघन गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत विवरणमा शैक्षिक योग्यता खुलाएका छैनन् । एमालेले ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ । आयोगले अनिवार्य रूपमा सार्वजनिक गर्नु पर्ने भनेको शैक्षिक योग्यतासम्बन्धी विवरणमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री प्रस्ताव गरिएका पार्टी सभापति गगनकुमार थापाले पनि शैक्षिक योग्यता सार्वजनिक गरेका छैनन् । देशको प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको व्यक्तिको शैक्षिक योग्यता विषयसमेत बहसमा आउने चर्चा भइरहँदा थापाले गोप्य राखेका हुन् । रास्वपाबाट प्रधानमन्त्री प्रस्तावित बालेन्द्र शाहले आफ् नो शैक्षिक योग्यतामा ‘बीटीयु’ उल्लेख गरेका छन् । तर, ‘कुन शैक्षिक संस्थाबाट हो ?’ भन्ने खुल्न सकेको छैन । काठमाडौं क्षेत्र–४ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवा सचेन तिमल्सिनाले पनि शैक्षिक योग्यता तथा श्रीमतीको विवरण सार्वजनिक गरेका छैनन् । उनको आधिकारिक सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा सन् २०२२ देखि विवाहित भएको उल्लेख गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट काठमाडौं क्षेत्र–२ को उम्मेदवार भएका नितेश पौडेलले पनि श्रीमतीको नाम सार्वजनिक गरेका छैनन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका स्वकीय सचिवका रूपमा सार्वजनिक जिम्मेवारीमा रहेका पौडेलकी श्रीमती जालपा दाहाल भएको सामाजिक सञ्जालमा सार्वजनिक भए पनि निर्वाचन आयोगको अभिलेखमा भने गोप्य राखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सिन्धुपाल्चोक–१ को उम्मेदवार भएका माधव सापकोटाले शैक्षिक योग्यता सार्वजनिक गरेका छैनन् । निर्वाचन आयोगको वेभसाइट भिजिट गर्दा धेरै उम्मेदवारले वैयक्तिक विवरण नै ढाँटेको पाइएको छ । ‘विवरण ढाँट्नु निर्वाचन आयोगलाई ढाँट्नु भएको’ सामाजिक सञ्जालमा आलोचना भएको छ । –पत्रपत्रिकाबाट