प्रचण्डको लगानी रहेको भन्दै वरपिपल रिसोर्टमा आगजनी, एक जना कारागार चलान, ६ जना धरौटीमा छुटे - arthasarokar.com
काठमाडौँ । पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको अभियोगमा एक जना कारागार चलान भएका छन् । भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा रिसोर्टमा आगजनी गरेको अभियोगमा पक्राउ परेका एक जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले पोखरा-१७ घरीपाटनका २९ वर्षीय रुपक नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । त्यस्तै, अदालतले महेन्द्र नेपाली र एलिश गुरुङलाई दुई लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । सोही अभियोगमा पक्राउ परेका कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का, खड्कबहादुर थापा पनि ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनीहरुविरुद्ध प्रचण्डको लगानी रहेको रिसोर्ट भन्दै तोडफोड र आगजनी गरेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट पुर्पक्षका लागि कारागार चलान भएका रुपक अर्धनग्न शरीर देखाउँदै होटल जलाउन पुगेको खुलेको छ । सो दिन वरपिपल रिसोर्टमा ३ वटा पर्यटक गाडी, ३ वटा गेस्ट कार, रिसोर्टको बार, स्पा, लबी, गेस्ट रुपमा आगजनी गरिएको थियो भने लुटपाटसमेत गरिएको थियो ।