समृद्धिको नयाँ अध्याय खोल्न एमालेको अपिल, लोकप्रियतावादबाट सचेत रहन आग्रह - janatatimes.com
काठमाडौं, फागुन २। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा उतार्दै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले आगामी निर्वाचनलाई स्थायित्व, विकास र दीर्घकालीन समृद्धिको मार्ग रोज्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै आफ्ना विचार, सिद्धान्त र नीतिमा एकताबद्ध हुन देशवासीसमक्ष आह्वान गरेको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण नै राष्ट्रिय लक्ष्य भएको उल्लेख गरिएको छ। प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारी, सुरक्षित आवास र सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्नु आजको आवश्यकता भएको एमालेको धारणा छ। एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमान सुदृढीकरणलाई समृद्धिको आधार मानेको छ। विज्ञप्तिमा दीर्घकालीन सोचसहित परिणाममुखी शासनमार्फत मात्रै देशलाई अगाडि बढाउन सकिने उल्लेख गरिएको छ। आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गरी राष्ट्र निर्माणको अभियानलाई सशक्त बनाउन मतदातासमक्ष हार्दिक अपिल गरिएको छ। एमालेले आफ्नो नेतृत्वलाई सक्षम र आवश्यक भन्दै प्रभावकारी नतिजा दिन सक्ने दाबी पनि गरेको छ। पार्टीले क्षणिक भावनात्मक नाराले लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा प्रतिकूल प्रभाव पार्ने जोखिम रहेको उल्लेख गर्दै एमालेले विचार, सिद्धान्त, तथ्य र अनुभवका आधारमा विवेकपूर्ण ढंगले मत प्रयोग गर्न आग्रह गरेको छ। विश्वका धेरै मुलुक र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादका कारण चुनौती सामना गरिरहेको सन्दर्भ उल्लेख गर्दै स्थायित्व र विकासको दीर्घकालीन मार्ग चयन गर्न आह्वान गरिएको छ। एमालेले राष्ट्र निर्माणको यात्रामा विभिन्न पेशा–व्यवसायमा संलग्न पेसाकर्मी, नागरिक समाज तथा सामुदायिक अभियानप्रति सम्मान व्यक्त गरेको छ। टोल–वडा स्तरमा सरसफाइ, खानेपानी, सामुदायिक सुधार र सुरक्षामा योगदान पुर्याउने संघसंस्थासँग सहकार्य, संवाद र सहअस्तित्वलाई अझ सुदृढ बनाउने आवश्यकता औँल्याइएको छ। लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय सुनिश्चितताका लागि यी क्षेत्रहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै एमालेसँग आबद्ध भई सकारात्मक पहल र रचनात्मक सहकार्य गर्न आह्वान गरिएको छ। विदेशमा रहेका नेपालीहरूलाई पनि पार्टीले विशेष रूपमा सम्बोधन गरेको छ। रेमिट्यान्स, ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवमार्फत राष्ट्र निर्माणमा योगदान पुर्याइरहेका नेपालीप्रति सम्मान व्यक्त गर्दै आगामी निर्वाचनमा सकारात्मक जनमत निर्माणमा सहयोग गर्न अनुरोध गरिएको छ। देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूको ऐक्यबद्धताबाट मात्रै राष्ट्रिय हित, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमा युवाशक्तिलाई राष्ट्रको वर्तमान र भविष्य दुबैको प्रमुख साझेदार शक्ति भनिएको छ। देशभित्र र विदेशमा श्रम, सीप र सिर्जनशीलता प्रयोग गरिरहेका युवाहरूलाई राजनीति समाधान, नवप्रवर्तन र विकासको औजारका रूपमा अघि बढाउन भूमिका खेल्न आग्रह गरिएको छ। नीति, नेतृत्व र अवसरको संगममार्फत युवालाई सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा युवाहरूलाई एमालेसँग सहकार्य गर्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिएको छ। विज्ञप्तिमा आम नेपाली जनता र मतदाताको छनोटको राजनीतिक दल एमाले नै हुने विश्वास व्यक्त गरिएको छ। प्रेस संयोजक मीनबहादुर शाहीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा आगामी निर्वाचनलाई राष्ट्र निर्माणको नयाँ मोडका रूपमा चित्रित गर्दै स्थायित्व, विकास र समृद्धिको मार्गमा अघि बढ्न एकताबद्ध हुन सबैसँग आग्रह गरिएको छ। एमालेले यस घोषणामार्फत चुनावी अभियानलाई वैचारिक स्पष्टता, संगठनात्मक एकता र दीर्घकालीन विकास दृष्टिकोणका आधारमा अगाडि बढाउने संकेत दिएको छ।