बीएमडब्लूले नयाँ नेकेड मोटरसाइकल ल्याउने - www.meroauto.com
काठमाडौं । बीएमडब्लू मोटार्डले नेकेड डिजाइनमा नयाँ मोटरसाइकल निर्माण गर्ने भएको छ । जर्मनी मोटरसाइकल ब्राण्ड बीएमडब्लूले ४५० सीसी इन्जिन सेग्मेन्टमा नयाँ नेकेड स्पोर्टी मोटरसाइकल बनाउने घोषणा गरेको हो । कम्पनीले आफ्नो ३१० सीसी मोटरसाइकल लाइनअपलाई बन्द गर्दै ४५० सीसी सेग्मेन्टमा अपग्रेड गरी नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरिरहेको हो । कम्पनीले केही समय अघि मात्रै ४५० सीसी सेग्मेन्टमै नयाँ एड्भेन्चर मोडल इक्मा अटोशो २०२५ मा सार्वजनिक गरेको थियो । कम्पनीले फेरि नेकेड डिजाइनमा अर्को नयाँ मोटरसाइकल ल्याउने जानकारी दिएको हो । बीएमडब्लूको ४५० एड्भेन्चर मोडल भारतमा निर्माण भएको मोटरसाइकल हो । अब कम्पनीले बनाउने नेकेड मोडल भने जर्मनीमै निर्माण हुने बीएमडब्लू मोटार्डका सीईओ मार्कस फ्लाशले मिडियामा बताएका छन् । नयाँ नेकेड ४५० सीसी मोटरसाइकलका लागि नयाँ प्लेटफर्म जर्मनीमा बनाइने र यसको सबै उत्पादनको काम भने टीभीएसले नै हेर्नै उनले बताए । केही महिना अघि बीएमडब्लूले भारतमा जी ३१० आर र जी ३१० जीएस मोडल बन्द गरेको थियो। हाल यस सेग्मेन्टमा बएिमडब्लूको जी ३१० आरआर मात्र बिक्रीमा छ । तर यो मोडल पनि कम्पनीले चाँडै बन्द गर्ने रिपोर्टमा उल्लेख छ। नयाँ ४५० नेकेड मोडलमा पनि एड्भेन्चरमा दिइएको ४२० सीसीको प्यारालल इन्जिन हुनेछ । नेकेड स्पोर्ट डिजाइनमा भएका कारण यसको पावर र पर्फमेन्स भने एड्भेन्चर मोडलभन्दा धेरै हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यस बाहेक मोटरसाइकलका बारेमा अन्य कुनै जानकारी सार्वजनिक गरेको छैन । कम्पनीले ४५० सीसीमा पनि ३१० प्लेटफर्म जस्तै रणनीति अपनाउँदै गइरहेको छ । बीएमडब्लूले निर्माण गर्ने ४५० सीसीको मोटरसाइकल ग्लोबल बजारमै उपलब्ध हुने छन् । The post बीएमडब्लूले नयाँ नेकेड मोटरसाइकल ल्याउने appeared first on Meroauto.