साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू - sahityapost.com
काठमाडौँ । पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय परिसरमा आजदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ। केन्द्रीय कार्यालयभित्र रातो भवनमा आयोजना गरिएको प्रदर्शनीको विधिवत् उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले गर्नुभएकाे हाे । प्रदर्शनी उद्घाटनभन्दा अघि साझा प्रकाशनले आफ्नो ६२ औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएकाे थियाे । अध्यक्ष शेखर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख आमन्त्रित अतिथिका रूपमा उपस्थित सचिव भुजेलले साझा प्रकाशनलाई “इतिहास बोकेको सम्मानित संस्था” भन्दै यसको संरक्षण र सुदृढीकरणका लागि राज्य सकारात्मक रुपमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयाे । मन्त्रालयमा पदस्थापन भएको तीन दिनमै साझाको आर्थिक अवस्थासम्बन्धी फाइल हातमा परेको उल्लेख गर्दै उहाँले रु. ५० लाख बजेट स्वीकृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । साहित्यप्रेमी भुजेलले साहित्यकारहरूप्रति विशेष सम्मान व्यक्त गर्दै आफू पनि साहित्यकार बन्न चाहेको तर बन्न नसकेको प्रसङ्ग स्मरण गर्नुभयाे । अध्यक्ष शेखर गिरीले साझा प्रकाशनको एक सय १३ वर्षे इतिहासको पुनःस्मरण गर्दै सातै प्रदेशको सांस्कृतिक जगेर्नामा साझा सक्रिय रहनुपर्ने बताउनुभयाे । नयाँ प्रविधि अपनाउँदै प्रकाशन र पठन संस्कृतिलाई युगअनुकूल अघि लैजाने योजनाका बारेमा पनि जानकारी गराउनुभयाे । कार्यक्रममा प्रा.डा. अभि सुवेदी, प्रा.डा. तुलसी भट्टराई, मातृका पोखरेल तथा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनको ऐतिहासिक योगदान, वर्तमान चुनौती र भावी दिशाबारे विशद् मन्तव्य राख्नुभएकाे थियाे । साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले आर्थिक र भौतिक अवस्थाबारे जानकारी दिँदै विगत केही वर्षयता संस्थाले भोगिरहेका कठिनाइहरू उल्लेख गर्नुभयाे । छापाखानाका उपकरण पुराना भइसकेको र नयाँ प्रविधि तथा विद्युतीय माध्यममार्फत पुस्तक प्रकाशनमा अघि बढ्ने सोच रहेको बताउनुभयाे । कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले स्वागत मन्तव्य राख्दै साझा प्रकाशनलाई आधुनिक व्यवस्थापनका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयाे । शेयरधनी प्रतिनिधिका रूपमा ओम श्रेष्ठ ‘रोदन’ र सीता पाण्डेले पनि आफ्ना धारणा प्रस्तुत गर्नुभयाे । साझा प्रकाशनले आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उपलब्ध पुस्तकहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। प्रदर्शनी केही दिनसम्म निरन्तर रहने बताइएको छ। The post साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू appeared first on साहित्यपोस्ट.