ताप्लेजुङमा मतदाता नामावली दर्ता गर्ने बढे - nagariknews.nagariknetwork.com
सरकारले आगामी फागुन २१ गते गर्ने घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर ताप्लेजुङमा फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागिता जनाउनेको संख्या बढ्दै गएको छ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खुला भएको नामावली दर्ताको क्रममा अहिलेसम्म ३४ जनाले नाम दर्ता गराइसकेका छन्। निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज दुलालले अहिले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यको लागि सम्पर्क राख्नेहरुको संख्या समेत बढ्दै गएको जानकारी दिए।‘कोही नाम दर्ताको लागि सरासर आउनुहुन्छ, कोही नाम दर्ता तथा अद्यावधिक कार्यको प्रकृया बुझेर जानुहुन्छ,’ दुलालले भने। उनका अनुसार २०८१ चैतसम्ममा ताप्लेजुङमा ४६ हजार ८७९ पुरुष र ४० हजार ९८४ महिला गरी कुल ८७ हजार ८६३ मतदाता थिए।जिल्लामा सार्वजनिक बिदाको दिन बाहेक मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आउँदो कात्तिक ३० गतेसम्म सञ्चालन हुनेगरी निर्वाचन आयोगको कार्यतालिका रहेको छ। मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुँदै आएको समेत दुलालले जानकारी दिए। उनका अनुसार अहिले नेपाली नागरिकता प्राप्त गरेका तर मतदाता नामावलीमा नाम दर्ता नभएका व्यक्तिहरुको मतदाता नामावलीमा नाम दर्ता गरिने, मतदाता नामावलीमा भएका त्रुटिहरु सच्याउने, विवाह भई आएका/गएका, बसाइँ सरी आएका/गएका व्यक्तिहरुको मतदाता नामावली सार्ने र मृत्यु भएका, नागरिकता त्याग गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने कार्य हुन्छ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङमा कुल ८८ हजार २८५ मतदाता रहेका थिए। मतदाता नामावली अद्यावधिक, मतदाता नामावली सार्ने सहितका कार्यपछि २०८१ साल चैत मसान्तसम्मको कुल मतदाता संख्या ८७ हजार ८६३ कायम भएको हो। २०७९ सालको निर्वाचनमा नेकपा एमालेका योगेशकुमार भट्टराई कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) लाई २०८ मतको झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यतिबेला भट्टराईले २१ हजार ९४३ र बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका थिए।