बेनी-जोमसोम-कोरला सडक : ८८ किमी कालोपत्र सम्पन्न, सवा ८ अर्ब खर्च - www.meroauto.com
काठमाडौं । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडकको कुल बजेटमध्ये हालसम्म ८२ प्रतिशत खर्च भएको छ । आयोजनाको प्रस्तावित लागत अनुमान १० अर्ब ५७ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ सम्म ८ अर्ब २० करोड रुपैयाँ खर्च भएको हाे । वि.सं. २०७३ मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गर्दै निर्माण अघि बढाइएको थियो । यो सडक पर्वतको मालुढुङ्गादेखि नेपाल-चीन कोरलानाकासम्मको २०२ किलोमिटर लामो छ । आयोजनाका अनुसार ९ वर्षको अवधिमा राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडकमा कुल ८ अर्ब २० करोड रुपैयाँ खर्च भएको हो । आव २०७३/७४ मा ४५ करोड ९३ लाख, आव २०७४/७५ मा १ अर्ब ५१ करोड २८ लाख, आव २०७५/७६ मा १ अर्ब ३१ करोड, आव २०७६/७७ मा ९० करोड २५ लाख, आव २०७७/७८ मा ९३ करोड ४९ लाख, आव २०७८/७९ मा ८४ करोड ८६ लाख रुपैयाँ खर्च भएको थियो । त्यस्तै, आव २०७९/८० मा ५७ करोड एक लाख, आव २०८०/८१ मा ७२ करोड ७८ लाख र आव २०८१/८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्यांक छ । कोरला सडकका लागि चालु आव २०८२/८३ मा सडकतर्फ ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा २३ करोड ७७ लाख अर्थात् ३४.८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तीय भुक्तानी नभएको आयोजनाले जनाएको छ । ८८ किलोमिटर कालोपत्र सम्पन्न पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पर्ने २०२ किलोमिटर लामो बेनी जोमसोम कोरला सडकको अहिले सबै खण्डमा क्रमबद्ध रूपमा सडक स्तरोन्नति भइरहेको छ । हालको योजना अनुसार यस सडकको २०२ किलोमिटर सडकको ट्रयाक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, १०५ किलोमिटरमा कालोपत्र र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ। उक्त लक्ष्य मध्ये आव २०८१/८२ सम्ममा आयोजनाले २०२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिइन् । कोरला सडकका लागि आयोजनामार्फत ३ किलोमिटर ग्राभेल र कागबेनी-छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ। यस आयोजनाअन्तर्गत (कागबेनी-कोरला) सडकखण्डसमेत कालोपत्र गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै २०२ किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्र गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताए । कोरला सडकका लागि आयोजनामार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी-छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ। कोरला सडकअन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा २०० मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको ९०० मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ। बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ। यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २.५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ । बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ। जोमसोम-कोरला सडकअन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन ईआइए तथा डीपीआर भइसकेको र त्यसका लागि कालोपत्र गर्न २ अर्ब ४ करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ। घमीदखि कोरला ५० किलोमिटर सडकको ईआइए र सडक डीपीआर भइसकेकाले ३ अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ । The post बेनी-जोमसोम-कोरला सडक : ८८ किमी कालोपत्र सम्पन्न, सवा ८ अर्ब खर्च appeared first on Meroauto.