Redirecting...

पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने - nagariknews.nagariknetwork.com

पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने - nagariknews.nagariknetwork.com
Source: ngrk

पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न स्वीकृत प्रदान गरेको छ।मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृतिसँगै अब नेपाल आयल निगमलाई पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गर्ने बाटो खुलेको छ।दुई दशक अघिदेखि पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गर्न सके करिब सात करोड लिटर पेट्रोल आयात घटाउन सकिने अनुमान गरिएको छ ।पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने प्रक्रिया अघि बढ्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए । मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्यविधि प्राप्त गरेपछि इथानोल उत्पादन, खरिद लगायतका लागि अन्य आवश्यक आधार तयार गर्न निगमले प्रक्रिया अघि बढाउने छ। ‘स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्ने कानुनी आधार तयार भएको छ,’ कार्यकारी भट्टले भने, ‘इथानोलको प्रयोगले पेट्रोल आयात घटाउन सहयोग पुग्छ।’इथानोल प्रयोग वातावरण मैत्री पनि हुने उनले बताए। इथानोलको उत्पादन, गुणस्तरको मापदण्ड निर्धारण लगायतका कामका लागि केही समय लाग्नेछ। ‘इथानोल विदेशबाट ल्याउन पाइँदैन,’ भट्टले भने, ‘यसले रोजगार सिर्जना गर्न पनि सघाउ पुग्नेछ।’नेपालले भारतबाट इन्धन ल्याएर बिक्री गरे पनि भारतले धेरै वर्ष पहिलेदेखिनै इन्धनमा इथानोल मिश्रण गरेर बिक्री गर्दै आएको छ। पेट्रोलमा इथानोल मिसाउन सके वार्षिक करिब सवा ६ अर्र्ब रूपैयाँको पेट्रोल आयात घट्ने अनुमान गरिएको छ।इथानोल बर्निङ पावरयुक्त प्रज्ज्वलनशील पदार्थ हो। इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउन सहयोग पुग्छ। ‘इथानोल वातावरण मैत्री भएकाले कार्वनडाइअक्साइड निस्किँदैन,’ भट्टले भने, ‘वातावरण मैत्री भएकाले प्रयोग आवश्यक छ।’इथानोल कृषिजन्य वस्तुबाट उत्पादन हुने भएकाले सरकारले प्रोत्साहन गर्नुपर्ने कार्यकारी निर्देशक भट्ट बताउँछन्। ‘किसानलाई आयआर्जनको माध्यम पनि हुन्छ’, भट्टले भने।इथानोल उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ। नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ। २०६० सालमै पेट्रोलमा इथानोल मिसाउने योजना बनाएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। उत्पादन र प्रयोगबारे कार्यविधि बनेर कार्यान्वयनमा नआउँदा पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति लिएर पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन।इथानोल उत्पादन गरेर गुणस्तर कायम भएपछि आयल निगमले डिपोमा रहेको भण्डारगृहमै सोझै १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न सक्नेछ। आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्ने अनुमान छ।नेपालमा अहिले दैनिक सरदर करिब २० लाख लिटर पेट्रोल खपत हुन्छ। यसलाई आधार मान्दा वार्षिक ७३ करोड लिटर पेट्रोल खपत हुन्छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिन्छ।यसरी हेर्दा एक वर्षमा सात करोड ३० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ। निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई अहिले करिब ८५.११ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक सात करोड ३० लाख लिटर पेट्रोल आयात घट्छ। पेट्रोलको खरिद मूल्यलाई आधार मान्दा वार्षिक करिब ६ अर्ब २० करोड रुपैयाँको पेट्रोल आयात घटाउन सकिने देखिन्छ।सरकारल चालु वर्ष पेट्रोलको आयात घटाउनका लागि पेट्रोलमा वायोइथानोला मिश्रण गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३को बजेटमा प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न वायोइथानोल मिश्रण गर्ने योजना राखिएको छ।नेपालमा अहिले १० प्रतिशत मिश्रण गर्न सरकारले स्वीकृत दिए पनि भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। भारत सरकारले इथानोल उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिएको छ। इथानोलको मिश्रणलाई वातावरण मैत्री पनि मानिन्छ। भारतमा बिक्री हुने पेट्रोलमा ठाउँ अनुसार १२ देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरिएको छ।सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिरहेको अवस्थामा इथानोलको प्रयोगका विषयमा गहन छलफल गर्नुपर्ने पेट्रोलियम व्यवसायी बताउँछन्। पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भए पनि उपभोक्ता र वातावरणमैत्री हुनुपर्छ। इथानोल मिश्रण गर्दा वातावरण र उपभोक्तालाई ध्यान दिनुपर्छ।