ट्याक्सीको मापदण्ड परिमार्जन गर्न नाइमाको माग - kendrabindu.com
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ मा देखिएका व्यवहारिक र नीतिगत समस्या सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । नाइमाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई औपचारिक पत्र बुझाउँदै मापदण्डमा तोकिएका प्राविधिक र सुरक्षाका शर्त पूरा गर्ने सबै प्रकारका सवारी साधनलाई ट्याक्सीको रुपमा दर्ता गर्न अनुमति दिन माग गरेको हो । हालको मापदण्डले ट्याक्सीलाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरेको छ । यी वर्गका शर्त पूरा गर्ने जुनसुकै डिजाइनका गाडीलाई ट्याक्सीमा समावेश गरिनुपर्ने नाइमाको तर्क छ । हाल बागमती प्रदेशमा ‘सेडान’ गाडीलाई मात्र ट्याक्सीको अनुमति दिइएको छ । नाइमाले सेडान बाहेकका अन्य उपयोगी र यात्रुमैत्री गाडीलाई बाहिर राख्नुपर्ने स्पष्ट आधार नभएको बताएको छ । अन्य वर्गका गाडीलाई पनि अनुमति दिँदा यात्रुले आफ्नो आवश्यकता, समूहको आकार र सामानको चाप अनुसार सवारी रोज्न पाउने र अपाङ्गता मैत्री सेवा दिन सहज हुने नाइमाको दावी छ । नेपालका कतिपय सहरमा फरक वर्गका सवारी ट्याक्सीमा चलिरहेका भए पनि बागमती प्रदेशमा मात्र सीमित विकल्प रहनुले व्यवहारिक असमानता पैदा गरेको पत्रमा उल्लेख छ । ‘राष्ट्रिय मापदण्डमा उल्लेखित प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्टिकरणहरू पूरा गर्ने सबै सवारी साधनलाई अनुमति प्रदान गरिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुन्छ,’ नाइमाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाइमाले सुरक्षित र गुणस्तरीय ट्याक्सी सेवाका लागि मन्त्रालयसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ । सेडान बाहेकका गाडीले पनि अनुमति पाएमा ट्याक्सी व्यवसायमा लगानी बढ्ने र प्रतिस्पर्धाका कारण यात्रुले गुणस्तरीय सेवा पाउने विश्वास अटो व्यवसायीहरूको छ ।