साताकाे पुस्तक : अर्को यात्रा अन्टार्टिका - sahityapost.com
अर्को यात्रा अन्टार्टिका – डा. बद्री पोख्रेल लेखक डा. बद्री पोखरेलको यात्रा संस्मरण हो ‘अर्को यात्रा अन्टार्टिका’ । पोखरेलले अन्टार्टिका यात्राको प्रेरणा देखि यात्राको निचोड सम्म पुस्तकमा समेट्नुभएको छ । ”जीवन निरन्तर चलिरहने यात्रा हो भने यात्रा जीवन जत्तिकै चलायमान क्रिया हो ।” पुस्तकमा बद्री पोख्रेल लेख्नुहुन्छ, ”प्रत्यक्ष दर्शनबाट आर्जनहुने ज्ञानको सोपान पनि यात्रा नै हो । अनुमान, उपमान, शब्द प्रमाण भन्दा प्रत्यक्ष प्रमाण नै स्वीकार्य हुने चारवाक् चिन्तनले पनि अहिले देखेको वस्तुलाई नै जीवनको उपलब्धि मान्दै यात्रागर्न ढीला गर्न नहुने र समय र परिस्थितिलाई अनुकूल बनाएर यात्रारम्भ गरिहाल्नपर्ने सन्देश दिएको छ । यात्रा शब्द निरन्तरताको अर्थ बुझाउने भएकाले यात्रा कहाँ गएर टुङ्गिन्छ भन्न सकिँदैन । मानिसमात्र नभएर सबै जंगम प्राणीहरु यात्रा गरिरहेकै हुन्छन् । घरबाट खाना खोज्न बाहिर निस्कनुलाई यात्रा प्रारम्भको इतिहास मान्न सकिन्छ । यो यात्राविस्तारित हुँदै अर्को गाउँ, अर्को शहर, अर्को देश, अर्को महादेश हुँदै अघि बढ्छ । अहिलेसम्म यसको भौतिक गतिले चन्द्रमा चुमिसकेको छ भने मंगल ग्रहहुँदै अरु ग्रहतिर पनि लक्ष्योन्मुख देखिन्छ ।” त्यसै गरी पुस्तकमा रामप्रसाद पन्त लेख्नुहुन्छ, यात्रासंस्मरण र नियात्रामा फरक के छ भने यात्रासंस्मरणमा कोरा यात्रावर्णन मात्र हुन्छ भने नियात्रामा यात्राकारले आफ्ना अनुभव र अनुभूतिहरुलाई चित्रात्मक, यथार्थपरक र आत्मपरक शैलीमा प्रस्तुत गर्दछ, जहाँ स्थानीयता, आत्मीयता र गतिशीलता स्वतः मिसिएको हुन्छ। यस अर्थमा नियात्रालेखनलाई यात्रासाहित्यको इतिहासमा उत्कृष्ट मानिएको छ। अर्को विशिष्ट कुरा के हो भने नियात्रा साहित्यको कृति पढ्दा पाठक पनि यात्रालेखकसँगै यात्रा गरेको अनुभव गर्छ । जुनसुकै यात्रामा लेखक स्वयं सरिक हुन्छ र उसले नायकत्व आफै ग्रहण गर्छ। बद्री पोखेलको प्रस्तुत यात्रासंस्मरण पढेर पूर्णरुपमा नियात्राको स्वाद पाउन नसकिए पनि रमरम नियात्राको स्वाद पाउन सकिन्छ र पाठकलाई पनि घुमाउन मद्दत गर्छ । भनिन्छ नि, दशवटा किताब पढ्नुभन्दा एउटा यात्रा गर्नु उपलब्धिपूर्ण हुन्छ ।पढेर भन्दा परेर जानिन्छ, पढेको ज्ञानभन्दा अनुभूति र अनुभवजन्य ज्ञान बढी व्यावहारिक हुन्छ ।” पुस्तकलाई शिवप्रसाद अर्याल र मधु अर्यालले प्रकाशन गर्नुभएको छ । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ । The post साताकाे पुस्तक : अर्को यात्रा अन्टार्टिका appeared first on साहित्यपोस्ट.