नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ - www.pardafas.com
नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले बसमा सवार सुनसरीको इटहरी नगरपालिका–३ निवासी ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी जाँच गर्दा उनको ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरी लुकाइराखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ। बरामद पदार्थ तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।