Redirecting...

‘कविको काम तयारीका साथ कुर्नु हो; बटुवा त आउन पनि सक्छ, नआउन पनि’ - sahityapost.com

‘कविको काम तयारीका साथ कुर्नु हो; बटुवा त आउन पनि सक्छ, नआउन पनि’ - sahityapost.com
Source: shpt

नेपाली साहित्यको समकालीन फाँटमा कवि नदीश एक प्रखर र प्रभावशाली हस्ताक्षर हुन्, जसले मानवीय संवेदना र सामाजिक दर्शनलाई नवीन बिम्बमार्फत् प्रस्तुत गर्दै आएका छन् । पेसाले आर्किटेक्ट इन्जिनियर रहेका उनले वि.सं. २०७४ मा आफ्नो पहिलो कविता सङ्ग्रह ‘हाँगामा झुन्डिएका आत्मकथा’ बाट विशेष चर्चा कमाएका थिए भने हालै बजारमा आएको उनको नयाँ कृति ‘हिउँद’ (२०८२) ले उनलाई थप उचाइमा पुर्‍याएको छ । बुकहिलद्वारा प्रकाशित ‘हिउँद’ सङ्ग्रहमा उनले पर्यावरण चेत, आधुनिक सभ्यताका विसंगति र अस्तित्ववादी चिन्तनलाई बडो कलात्मक ढंगले उनेका छन् । सरल भाषामा गहन भाव भर्न सक्ने र समाजको यथार्थलाई दार्शनिक ढङ्गले चित्रण गर्ने उनको मौलिक शैलीले नेपाली कविताको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । प्रस्तुत छ, जनक कार्कीले कवि नदीशसँग कविताको विषयमा गरेको कुराकानी: === ‘हिउँदको उत्सव’ भित्र कस्ता कविताका हिमपात भएका छन् ? काव्यिक मिनपचास बिदामा कस्ता हर्षित कविता नाचेका छन् र फाल्गुनी वनमा काव्यिक लालीगुराँसका रङ्गहरू कस्ता छन् ? हिउँदभित्र कस्ता कविता छन्, त्यो त पाठकहरूले नै भन्नुहोला । मेरो चाहना चाहिँ— यी कविताहरू कतै हिउँदका नाङ्गा रुखका हाँगाका कापमा या माकुराको जालोमा आलो हिउँ खसे जसरी हलुका भएर खसुन्; कतै पुस-माघको ठिहीमा छेपाराको ढाडमा या कमिलाको आङमा जसरी हृदयमा पहारिलो घाम भएर पसुन् भन्ने हो । यिनले हिर्काउन् तर चोट नलागोस् । हुस्सु लागेको माघको चिसो जस्तो पनि लागोस् र सँगसँगै अगेनुको न्यानो जस्तो पनि । पहिलो किताबपछिको ८ वर्षको अन्तरयात्रामा, भिन्न-भिन्न उचाइमा भिन्न-भिन्न रङ्गमा फुल्ने गुराँस जसरी मेरो हृदयको आरोह-अवरोहमा शायद मेरा कविता पनि विभिन्न रङ्गहरूले लत्पतिएका होलान् । अब ‘हिउँद’ पाठकहरूको पनि हो । उहाँहरूले यसलाई कसरी महसुस गर्नुहुन्छ, म उत्सुक छु । एउटा मान्छे र त्यो मान्छेभित्रको काव्यिक हृदय बोकेर पृथ्वीको एउटा हिस्सा बनिरहँदा, यहाँले वर्तमान अवस्थामा सोचिरहेका वा बुझ्न खोजिरहेका विषयहरू के-के हुन् ? प्रकृतिका मुलायम कुरादेखि हामीले निर्मम भएर दिएका चोट, मानव जीवनका घटना र रहस्य, स-साना कुरा, आन्तरिक यात्रा, द्वन्द्व र प्रश्न.. यस्तै-यस्तै विषय मेरो मस्तिष्कमा नाचिरहन्छन् । कविता सत्यको नजिक हुनुपर्छ भनिन्छ । कवितालाई ‘सत्यम् शिवम् सुन्दरम्’ को छाया पनि मानिन्छ । कवितालाई सत्यको नजिक, कल्याणको छेउ र सौन्दर्यको समीप पुऱ्याउन यहाँले कस्तो साधना गर्नुहुन्छ ? मेरा लागि कविताको पहिलो सर्त ‘इमानदार’ हुनु हो । आफूलाई नढाँटी लेख्नु नै साधना हो । आफूलाई नढाँटी लेख्दैमा सत्यको नजिक पुगिएला नै भन्न त सकिँदैन तर मलाई एउटा कुरा गहिरो गरी लाग्छ— यदि हृदयमा करुणा छैन भने कविता ‘घट्दैन’ र आफूलाई नढाँटी समर्पित गर्न सकिएन भने त्यो कविता ‘बन्दैन’ । कविताको स्रोत ‘उत्सुकता’ हो भनिन्छ । यो उत्सुकतालाई जीवित र जागृत गराउने कुनै सूत्र हुन्छ कि यो स्वयं आउने कुरा हो ? उत्सुकता जगाउन तपाईंले आफ्नो हृदयको द्वार खुला राख्न सक्नुपर्छ । मनको आँगन सफा राख्नुपर्छ । देवता पर्खिरहेको मन्दिर जस्तो या पाहुना पर्खिरहेको घर जस्तो तयारीमा बस्नुपर्छ । यदि ढोका बन्द भयो, आँगन फोहोर भयो या भित्र बोलाउने कोही भएन भने आएको पाहुना वा बटुवा बाटो काटेर अन्तै जान सक्छ । कविको काम तयारीका साथ कुर्नु हो, बाटोमा आँखा ओच्छ्याउनु हो । बटुवा त आउन पनि सक्छ, नआउन पनि । तपाईंको पछिल्लो गीतमा आध्यात्मिक सन्देश भेटिन्छ— जहाँ अहम् र क्रोध त्याग्दा जीवन हलुका हुने भाव छ । के तपाईं ध्यान र योगको साधना गरिरहनुभएको छ ? यहाँको जीवनमा आध्यात्मिक सत्सङ्ग कसरी मिसिन पुग्यो ? म ठ्याक्कै योग वा ध्यानको अभ्यासमै लागेको त होइन तर जीवनलाई गहिराइबाट अवलोकन गर्न, आफ्नो आत्मालाई सुन्न र सक्दो इमानदार हुन कोसिस गरिरहन्छु । म हरेक क्रियाकलापमा ‘माइन्डफुल’ (सचेत) हुन रुचाउँछु; हतार गर्न मन लाग्दैन । हेर्नुभन्दा बढी नियाल्न मन लाग्छ । तर म धेरै बिथोलिन्छु पनि । शायद म अलि बढी नै संवेदनशील छु । पछिल्लो ८ वर्षयता म अरूसँग भन्दा ज्यादा आफूसँगै भएँ । आत्मनिरीक्षण गर्ने थोरबहुत समय पाएँ । केही मीठा साथीहरूको पातलो सङ्गत छ, कविता छ, प्रकृति छ र पदयात्रा छ । यसैले मलाई विवेकको नजिक ल्याएको होला । कविता योजनाबद्ध तरिकाले लेख्नुहुन्छ कि यो स्वयं घट्छ ? कविता घट्छ । घटिसकेपछिका झिल्काहरूलाई समेट्नुपर्छ र समयमै कागजमा उतार्नुपर्छ । कहिलेकाहीँ धेरै समय लगाएर शब्दहरू मिलाउनुपर्छ भने कहिले केही गर्नै पर्दैन— आफैँ पूर्ण भएर आउँछन् । भत्काउने, बनाउने र सिँगार्ने क्रम त चलिरहन्छ । अन्त्यमा, केही भन्न चाहनुहुन्छ ? प्रश्नहरू निकै मीठा लागे । जे भन्नु थियो, ठ्याक्कै नजानेर अलि बढी नै बोलेँ कि शायद । तपाईंलाई धेरै धन्यवाद ।