ढुङ्गो फुलेपछि : कठोर यथार्थबाट फुलेको सौन्दर्य - sahityapost.com
कृतिले व्यक्तिगत भावनालाई मात्र होइन, समाजका पीडित, दबाइएका र अन्यायमा परेका मानिसको आवाजलाई पनि प्रतिनिधित्व गर्छ । कविका मुक्तकले अन्यायविरुद्ध आवाज उठाउन, भोगाइलाई शब्दमा बदल्न, स्वाभिमानको खेती गर्न र ढुंगो भएर बसेका मनमा पनि फूल फुलाउन प्रेरणा दिन्छ । == विषय प्रवेश मोरङको झोराहाटमा जन्मिएका नेत्र खतिवडा, नेपाली मुक्तक साहित्यका संवेदनशील, श्रमशील र जीवन अनुभवद्वारा उर्जित साहित्यकारका रूपमा परिचित छन् । उनी सर्जक मात्र होइनन्—दैनिक जीवनका कठोरता, सामाजिक विभेद, राजनीतिक कुत्सित र मानवीय पीडाका साक्षी पनि हुन् । उनका शब्दहरू कुनै कृत्रिम कलामा होइन, भोगाइ, संघर्ष र अस्तित्वको उचाइ–ओरालोमा यसरी टल्किन्छन्, जसरी वर्षौं घोटिएको ढुङ्गोले अन्ततः चमक पाउँछ । उनको लेखकीय पहिचान लोकप्रियता–केन्द्रित वा ‘प्रचलन’ पछ्याउने प्रवृत्तिमा आधारित छैन । बरू, उनका मुक्तकहरू समाजको भित्री चिरा, शक्ति संरचनाबाट पीडित सामान्य मानिसका आवाज र परिवर्तनको चाहनाबाट जन्मेका विचार हुन् । सामाजिक–राजनीतिक चेतना, मानवीय संवेदना, वर्गीय असमानताप्रति असन्तोष र दार्शनिक खोज नै उनको मुक्तकको मेरुदण्ड हो । उनका मुक्तकहरूमा जीवनका उज्याला–अँध्यारा उतारचढाव, प्रेम र बिछोडका तिक्त घाउ, स्वाभिमान र परिवर्तनको आकांक्षा र अस्तित्वको अन्तःयात्रा प्रष्ट देखिन्छ । यी सबै विषय, सशक्त तरलताका साथ बगिरहेका छन्, जसले पाठकलाई भावनात्मक रूपमा छुन्छ र सोचमा दुरुस्त प्रश्न उठाउँछ । कवि खतिवडाको साहित्यिक यात्रा मूलतः धार्मिक होइन, वैचारिक हो । केवल भावनात्मक मात्र होइन, मानवीय जिम्मेवारीले तिक्त–मधुर बनेको छ । उनी समाजका अदृश्य कोलाहल सुन्छन्, राजनीति र असमानताका अँध्यारा कोठा देख्छन्, अनि आत्माभित्र पोलिराखेको पीडा शब्दमा पोख्छन् । यही कारण उनका मुक्तकहरू समाजको ऐना, समयको अभिलेख र मौन वर्गको कथनका रूपमा उभिन पुग्छन् । उनको साहित्यिक स्वर नै हो—जसले यथार्थ बोल्छ, पीडा बोक्छ, र परिवर्तन खोज्छ । खतिवडा कुनै ‘सजावट’का कवि होइनन्—उनी जीवनका अँध्यारा गल्ली घुमेर आउने कवि हुन् । उनले बोल्न नसक्नेहरूको पीडा उठाउँछन्, देखेर पनि नदेखेजस्तो गर्ने राज्य, समाज र जनताको मानसिक अवस्थालाई चिरफार गर्छन् । खतिवडाको मुक्तक–सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ शीर्षकले नै दार्शनिकता बोकेको छ । शीर्षकले विरोधाभास व्यक्त गर्छ । ढुंगो कठोर, निष्ठुर र शुष्क हुन्छ, तर फूल कोमल, सुगन्धित र आशा बोकेको हुन्छ । यस कृतिले पाठकलाई कठोर यथार्थ, पीडा र दमनका बीच पनि आशा र परिवर्तनको बीउ फुल्न सक्छ भन्ने कुरा संकेत गर्छ । ढुंगाका बिच फुलेका फूलहरू सम्भावना र सौन्दर्यको प्रतीकका रूपमा प्रस्तुत भएका छन् । कृतिमा समेटिएका मुक्तकहरूले मानवीय अनुभूति र सामाजिक यथार्थका विविध पक्षहरू उजागर गर्छन् । प्रेमको पीडा, बिछोडका तिक्तता, गरिबी र भोक, सामाजिक विभेद, देशको राजनीतिक विकृति, स्वाभिमानको खोज, सत्य र न्यायको आकांक्षा र जीवन–संघर्षका उतारचढाव यस कृतिका मुख्य विषयवस्तु हुन् । यी विषय सरल शब्दमा प्रस्तुत भएतापनि अर्थमा अत्यन्त गहिरो छ । साहित्यिक दृष्टिले, कृतिमा प्रयोग भएका विम्ब–प्रतीकहरू अत्यन्त प्रभावकारी छन् । ढुंगो, गुलाफ, आगो, पानी, अरिंगाल, पुल, समाज, विश्वास, घार जस्ता प्रतीकहरूले मुक्तकलाई बहुआयामिक बनाएका छन् । यिनीहरूले भावनात्मक र दार्शनिक गहिराइ प्रदान गर्छन् । यसरी ‘ढुंगो फुलेपछि’ नेपाली मुक्तक साहित्यमा कठोर यथार्थ र सौन्दर्यको अद्वितीय सम्मिश्रण प्रस्तुत गर्ने महत्वपूर्ण कृति हो । कृतिको विषयगत विश्लेषण : विषयहरूका तह–तहमा लुकेको अर्थ खतिवडाका मुक्तकमा जीवनका विविध पाटाहरूको सूक्ष्म चित्रण पाइन्छ । उनका शब्द गाउँ–बस्तीको धड्कनसँग सम्बन्ध राख्छ । गाउँको माटो, गल्ली–मोहल्ला, त्यहाँका मानिसका दिनचर्या र संघर्ष, अनि प्राकृतिक जीवनका लय–ताल उनका मुक्तकमा झल्किन्छ । यसले पाठकलाई जीवनको संवेदनालाई महसुस गराउने क्षमता दिन्छ । त्यसैगरी, उनका मुक्तकमा गरिबीको मौन चिच्याहट स्पष्ट रूपले देखिन्छ । गरीब, पीडित, र दबाइएका मानिसका आवाज उनको मुक्तकको केन्द्रविन्दुमा छ । उनी यस मौन पीडालाई शब्दमा उतार्छन्, जसले समाजको संरचनागत अन्याय र वर्गीय असमानता उजागर गर्छ । राजनीतिक चेतना र सामाजिक असमानताको चित्रण पनि उनको मुक्तकको प्रमुख पक्ष हो । राजनीति र गुटबन्दीको दम्भ तथा सत्ता–संरचनाको शोषक व्यवहारलाई उनले प्रत्यक्ष र प्रतीकात्मक दुवै तरिकाले व्यक्त गरेका छन् । कृतिमा प्रेमको चित्रण पारम्परिक रोमान्टिक भावनाभन्दा धेरै फरक छ । यहाँको प्रेम जीवनको यथार्थसँग गाँसिएको, पीडा र संघर्षका सन्दर्भमा जन्मिएको अनुभव हो । पात्रहरू सामान्य कल्पनाका मनोहर प्रेमी–प्रेमिका होइनन्; उनीहरू भोक, गरिबी, राजनीतिक दमन, सामाजिक विभेद र अस्तित्वको कठोर यथार्थसँग जुधिरहेका मानिस हुन् । कृतिमा प्रेम आश्रय, प्रतिरोध र बाँच्ने आधारको रूपमा प्रस्तुत गरिएको छ । जब पात्रहरूलाई समाजले थिच्छ, जब उनीहरूका आशा र अधिकार नष्ट गरिन्छ, तब प्रेम नै जीवन जिउँदो राख्ने शक्तिको रूपमा काम गर्छ । प्रेमले मनको सुख दिने मात्र होइन, ढुंगोलाई फूल फुलाउने क्षमता पनि राख्छ—यसले जीवनका कठोर परिस्थितिमा पनि आशा, धैर्य र परिवर्तनको बीउ भित्र्याउँछ । खतिवडाले प्रेमलाई दार्शनिक दृष्टिकोणबाट पनि उजागर गरेका छन् । प्रेम व्यक्तिगत भावना मात्र होइन; समाज, मानवता र स्वाभिमानसँग जोडिएको सक्रिय शक्ति हो । प्रेमले मानिसलाई अनुभूत गर्न मात्र होइन, सत्य, न्याय र समानताको खोजीमा अगाडि बढ्न पनि उत्प्रेरित गर्छ । यस कृतिले पाठकमा भावनात्मक संवेदनशीलता जगाउँछ, सामाजिक चेतना विकास गर्छ र अस्तित्वका कठिनाइहरू सामना गर्ने साहस दिन्छ । यस प्रकार, प्रेमले यस कृतिमा मुक्तकको केन्द्रविन्दु र दार्शनिक सूत्रको रूपमा कार्य गर्दछ । गरिबी, भोक र सामाजिक विभेद “उध्रिएको गरिबीलाई सल्याउने हात भएहिरा फोर्दै उदाउने समानताको रात भएढुंगो फुल्थ्यो यहाँ पानीभित्र आगो फल्थ्योप्रकृतिको सृष्टि जस्तै दुइटा मात्रै जात भए ।” कृतिमा सामाजिक र राजनीतिक चेतना अत्यन्त प्रबल देखिन्छ । विशेषगरी गरिबी, असमानता र वर्गीय विभेदको विरोध स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । “उध्रिएको गरिबी” भन्ने पंक्तिले संरचनागत गरिबीको चित्रण गर्छ—समाजका शक्तिशाली संरचनाले कसरी आम मानिसलाई निरन्तर थिचिरहेको छ भन्ने कुरा उजागर हुन्छ । यसको विपरीत, “हिरा फोर्दै उदाउने समानता”ले लेखकको वर्ग–मुक्त, न्यायपूर्ण समाजको आकांक्षा प्रकट गर्छ, जहाँ समान अवसर र अधिकार सबैका लागि सुनिश्चित छन् । त्यसैगरी, “पानीभित्र आगो” प्रतीकले असम्भव देखिएका सपना र परिवर्तनको कठिनाइलाई दर्साउँछ । यद्यपि परिवर्तन कठिन छ, तर त्यसको आकांक्षा र संघर्ष अपरिहार्य छन् । “दुइटा मात्र जात”को विम्बले मानवतापूर्ण समाजको कल्पना प्रस्तुत गर्छ—जात, धर्म वा सामाजिक विभेदको सिमाना नभएको, केवल मानव मूल्य र समानतामा आधारित समाज । यी सबै तत्वले लेखकको दृष्टि मार्क्सवादी, मानवतावादी र प्रगतिशील सामाजिक चेतनायुक्त भएको प्रष्ट पार्छ । खतिवडाले यथार्थको चित्रण मात्र गरेनन्; उनले समानता, न्याय र मानवताको सार्वभौमिक मूल्यको पक्षमा पाठकलाई चिन्तन गर्न उत्प्रेरित गरेका छन् । यसरी कृतिको सामाजिक–राजनीतिक मेरुदण्ड अत्यन्त बलियो र प्रभावशाली छ । राजनीति र शक्ति–संरचनामाथिको प्रहार कृतिमा राजनीति प्रशासनिक वा सैद्धान्तिक विषय छन् । मानव जीवन, समाज र नैतिक मूल्यसँग जोडिएको चुनौतीपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरिएको छ । कविले भ्रष्ट, गुटीय, दम्भी, हिंस्रक र धोकेबाज राजनीतिप्रति तीक्ष्ण प्रहार गरेका छन् । यसले पाठकमा आलोचना मात्र उत्पन्न गर्दैन, आध्यात्मिक दृष्टिले सत्य, न्याय, स्वाभिमान र मानवीय मूल्यको खोजीमा चिन्तन गराउँछ । राजनीति र सत्ता संघर्षले मानिसको मन र चेतनामा उत्पन्न हुने छाया, दमन र भ्रान्तिलाई मुक्तकमा स्पष्ट रूपले प्रतिबिम्बित गरिएको छ, जसले जीवन र समाजको दार्शनिक–आध्यात्मिक अध्ययनलाई अझ प्रगाढ बनाउँछ । मुक्तक १९२ मा लेखिएको— “अरिंगाल र राजनीतिको घार उस्तै लाग्छगुटमा चल्ने साहित्यको धार उस्तै लाग्छषड्यन्त्रको खेल रची बाटो छेकी–छेकीकलमको निब भाँच्ने प्रहार उस्तै लाग्छ ।” कृतिमा राजनीति र सत्ता संरचनाको आलोचना अत्यन्त तीक्ष्ण र प्रभावशाली छ । उनले अरिंगाल, घार, कलमको निब भाँच्ने जस्ता प्रतीकात्मक विम्ब प्रयोग गरेर राजनीतिक प्रणालीको कमजोरी, भ्रष्टाचार र गुटबन्दीलाई उजागर गरेका छन् । यहाँ अरिंगालले विषालु राजनीतिक शक्ति र तिनले सृष्टि गर्ने डर र दमनको प्रतीकको रूपमा काम गर्छ । यसले पाठकमा तत्कालीन राजनीतिक माहोलको भय र जनताको पीडा बुझ्न मद्दत गर्छ । त्यसैगरी, घार विम्बले गुटबन्दी, दलगत स्वार्थ, र शक्ति केन्द्रित राजनीतिका साङ्ला–जाललाई चित्रित गर्छ । यसले समाजमा व्यक्तिगत अधिकार र समानताप्रति कसरी बेवास्ता हुन्छ भन्ने कुरा देखाउँछ । कलमको निब भाँच्ने बिम्बले अभिव्यक्ति स्वतन्त्रता माथि हुने दमन र साहित्य, पत्रकारिता, तथा विचारको स्वतन्त्रतामा हस्तक्षेपको संकेत गर्दछ । खतिवडाले राजनीतिक प्रणालीको सडाँजेल, गुटबन्दी, शक्ति–दुरुपयोग र अभिव्यक्ति–माथि भएको प्रहारलाई तीव्र प्रतीकात्मक भाषामा प्रस्तुत गरेका छन् । उनका मुक्तकले पाठकमा चेतना जगाउँछ र सत्ता संरचना, समाज, र मानवीय अधिकारका विषयमा गहिरो चिन्तन गर्न प्रेरित गर्छ । आत्मसम्मान, स्वाभिमान र मानवीय संघर्ष “गुलाबको रंग चोरी ढुंगो फुल्न थालेपछिस्वाभिमानको खेती थाल हराभरा जीवन हुन्छ ।” कृतिमा स्वाभिमानको चित्रण अत्यन्त महत्वपूर्ण र दार्शनिक दृष्टिले गहिरो छ । मुक्तकमा भनिएको छ—“जब स्वाभिमान जन्मिन्छ, तब जीवन पनि हराभरा हुन्छ ।” यसले मानवीय जीवनको वास्तविक मूल्य र समृद्धि भौतिक अवस्थामा मात्र होइन, स्वाभिमान, आत्मसम्मान र सामाजिक उत्तरदायित्वमा निर्भर रहने कुरा संकेत गर्छ । स्वाभिमानले मानिसको जीवनमा आशा, उत्साह र सृजनात्मकता ल्याउँछ, जसले कठोर परिस्थितिहरूमा पनि जीवनलाई हराभरा र पूर्ण बनाउँछ । कृतिमा स्वाभिमानलाई फूल, रंग, खेती, र हरियालीजस्ता सकारात्मक प्रतीकसँग जोडिएको छ । फूलले जीवनमा कोमलता र सौन्दर्यको अनुभूति दिन्छ भने रंगले उत्साह, ऊर्जा र विविधताको प्रतिनिधित्व गर्छ । खेतीले परिश्रम, उन्नति र आत्मनिर्भरता देखाउँछ भने हरियालीले जीवनमा नवीकरण, विकास र स्थायीत्वको संकेत दिन्छ । यी सबै प्रतीकले स्वाभिमानको महत्वलाई स्पष्ट रूपमा उजागर गर्छन् र पाठकमा सकारात्मक जीवन मूल्य र नैतिक चेतना जगाउँछ ।खतिवडाको मुक्तकमा स्वाभिमान केवल व्यक्तिगत भावना मात्र होइन; जीवनको मूल आधार, समाजमा परिवर्तनको शक्ति, र मानवीय अस्तित्वको दार्शनिक सार पनि हो । स्वाभिमानको विकासले मात्र जीवनलाई पूर्ण, सजीव र अर्थपूर्ण बनाउँछ भन्ने संदेश कृतिले प्रभावकारी रूपमा दिन्छ । परिवार, व्यथा र मानवीय क्षय “आमा तिम्रो विश्वासको शिखर यिनले ढालिसकेभाइभाइमा हानाहान छघरको इज्जत फलिसकेतिमीले जोहो गरेको नखाई–नखाईतिम्रो पोल्टो बिर्सिएरबैरीसँग हात मिलाईगलत कदम चालिसके ।” (८३) मुक्तकमा पारिवारिक विघटन, आमा–पीडा, भाइभाइबीचको कलह र आन्तरिक क्षयको तीक्ष्ण चित्रण गरिएको छ । यसमा व्यक्तिगत दुःख मात्र नभई परिवारलाई समाज र राष्ट्रको सूक्ष्म रूपकको रूपमा प्रस्तुत गरिएको छ । आमा–पीडा र भाइबीचको द्वन्द्वले समाजका कलह, असमानता र भ्रष्टाचारको संकेत दिन्छ । कविले परिवारभित्रका द्वन्द्व र विसंगतिलाई राष्ट्र र समाजसँग तुलना गरेर पाठकमा गहिरो चिन्तन उत्पन्न गराउँछन् । यसरी व्यक्तिगत पीडा र सामाजिक अस्थिरता बीचको सम्बन्ध देखाउँदै, कृति मानव जीवन र समाजको अन्तःविषयात्मक विश्लेषण प्रस्तुत गर्छ । मृत्यु, भय र समाजसँगको अन्तिम सम्बन्ध मुक्तक ८५: “सडकमा अन्धाधुन्ध गोली चलेपछि थाहा भयोमुर्दाबादको नारा दिउँसै बलेपछि थाहा भयोफाँफाँ, फुँफुँ, ठुलो स्वरलेघरमा हैकम नजमाऊसमाजलाई छोडी एकदिनयही समाजमा मर्नु पर्छ ।” खतिवडाको मुक्तकले समाजसँगको अविच्छिन्न सम्बन्धको सन्देश दिन्छ । समाजबाट भागेर मात्र उद्धार सम्भव नरहेको र मानिसले आफ्नो व्यक्तिगत पीडा, असमानता वा अन्यायको सामना गर्ने अवस्था स्वतः नपाएको कुरा प्रस्तुत छ । मुक्तकले जीवनको कठोर यथार्थ प्रस्तुत गर्दै अन्ततः समाजमै फर्कनुपर्ने, त्यससँग जुध्नुपर्ने र परिवर्तनका लागि सक्रिय हुनुपर्ने चेतना जगाउँछ । यसले पाठकलाई सोच्न बाध्य पार्छ कि समाजबाट अलग भएर समस्या समाधान हुँदैन; संघर्ष, चेतना र जिम्मेवारी समाजभित्रै निभाउनु पर्छ । यसरी कृति जीवन र समाजबीचको अन्तःनिर्भरता र सामाजिक उत्तरदायित्वको दार्शनिक सत्य उजागर गर्छ । शैलीगत विश्लेषण : भाषा, विम्ब, प्रतीक र साहित्यिक विधा खतिवडाको भाषा सरल छ—जटिल शब्दको चयन नगरी पनि सिद्धान्त र दर्शनको गहिरो अर्थ बोकेको छ । उनका वाक्यहरू ग्रामीण जीवन र जनजीवनसँग जोडिएका, ठाडो, दृढ र प्रश्नमाथि प्रश्न उठाउने प्रकारका छन्, जसले पाठकमा चिन्तन उत्पन्न गर्छ । कृतिमा प्रयोग भएका विम्ब र प्रतीकहरू अत्यन्त प्रभावकारी छन् । ढुंगोले कठोर यथार्थ देखाउँछ भने फूल आशा र परिवर्तनको प्रतीकका रूपमा रहेको छ । गुलाब: संवेदना र सौन्दर्य, आगो: क्रान्ति, पानी: अशक्तता र तरलता, पुल: आशा र सम्भावना, अरिंगाल: राजनीतिक धोका, घार: गुटबन्दी, र निब: अभिव्यक्तिका प्रतीक हुन् । यी प्रतीकले मुक्तकलाई बहुअर्थी, दार्शनिक र सामाजिक चेतनायुक्त बनाएका छन् । रूपक र व्यङ्ग्य कृतिमा राजनीतिक व्यङ्ग्य अत्यन्त प्रखर छ । कविले वर्तमान राजनीतिक प्रणालीको कमजोरी र भ्रष्टाचार मात्र देखाउँदैनन्, समाज र साहित्यिक समूहवादमा पनि तीक्ष्ण टिप्पणी गर्छन् । समाज र राजनीति बीचको अन्तरसम्बन्धलाई रूपकको माध्यमबाट उजागर गरिएको छ । “अरिंगाल र राजनीतिको घार” जस्ता पंक्तिहरूले नेपाली राजनीतिमा रहेको गुटबन्दी, स्वार्थसिद्धि र भ्रष्टाचारमाथि स्पष्ट संकेत गर्छन् । यसले पाठकलाई राजनीतिक चेतना जगाउने मात्र होइन, साहित्यिक र सामाजिक संस्थाहरूको अंदरुनी कमजोरीप्रति पनि सोच्न उत्प्रेरित गर्छ । संरचना कृतिको संरचना पूर्णत: मुक्तकमा आधारित छ । मुक्तक शैली स्वतन्त्र, छोटो, अर्थगर्भित र एकाएक प्रहार गर्ने प्रकारको हुन्छ । कविले प्रत्येक मुक्तकमा सघन विचार, गहिरो दर्शन र तीव्र सामाजिक–राजनीतिक टिप्पणी राखेका छन् । उनका मुक्तकहरू एकअर्कासँग सिधा जोडिन नपरे पनि सम्पूर्ण कृतिमा एकीकृत संदेश र भावनात्मक प्रवाह सिर्जना गर्छन् । यस शैलीले पाठकलाई छोटो पंक्तिमै गहिरो अर्थ बुझ्न प्रेरित गर्दछ र सामाजिक, दार्शनिक र राजनीतिक विषयलाई तीव्र एवं प्रभावकारी तरिकाले प्रस्तुत गर्न सक्षम बनाउँछ। सामाजिक, राजनीतिक र दार्शनिक पक्ष कृतिमा सामाजिक चेतना स्पष्ट देखिन्छ। उनका मुक्तकहरू व्यक्तिगत भावनामा सीमित छैनन्; गरिबी, भोक, रोग, सामाजिक विभेद, अन्याय, भिक्षुवृत्ति, परिवार विघटन जस्ता यथार्थका चित्रण मार्फत कवि समाजका पीडित वर्गसँग सहानुभूति व्यक्त गर्छन् । कविका शब्दले पाठकमा सामाजिक–राजनीतिक समस्याप्रति जागरूकता जगाउँछन् र पीडितका आवाज उठाउँछन् । राजनीतिक हस्तक्षेप र आलोचना पनि कृतिको अर्को महत्त्वपूर्ण पक्ष हो । कविताहरू राजनीति–विरोधी मात्र होइनन्, यिनले दुषित, भ्रष्ट र गुटबन्दीमा आधारित राजनीतिका विरुद्ध प्रहार पनि गर्छन् । यहाँ अरिंगाल, घार, निब भाँच्ने जस्ता प्रतीकात्मक विम्बले राजनीतिक संरचना र साहित्यिक समूहवादको आलोचना स्पष्ट बनाउँछन् । कृतिमा दार्शनिक गहिराइ पनि प्रष्ट छ। “ढुंगो फुल्नु”ले असम्भवलाई सम्भव बनाउने आशा प्रस्तुत गर्छ भने “आगो पानीभित्र फल्नु” परिवर्तनको अत्यधिक चुनौतीपूर्ण र अतियथार्थवादी रूपकको रूपमा देखाउँछ । “दुइटा मात्र जात” मानवता र अमानवताको अन्तर्दृष्टि दिन्छ । यसरी कविले अस्तित्व–दर्शन, मानव मूल्य, सामाजिक न्याय र परिवर्तनको अवधारणालाई मुक्तकको माध्यमबाट सजीव र प्रभावशाली तरिकाले पाठकसामु प्रस्तुत गरेका छन् । कृतिको मूल्यांकन : बलियो पक्ष कृतिमा यथार्थको तीक्ष्ण चित्रण प्रमुख विशेषता हो । कवि कल्पनामा सिर्जना मात्र गर्दैनन्; उनी भोगेको जीवन, देखेको यथार्थ र समाजको गल्ली–गल्लीमा बाँचिरहेका मानिसका पीडालाई मुक्तकमा उतार्छन् । उनका मुक्तकहरू पुस्तकका पानामा मात्र सीमित छैनन्, बरु समाजको संवेदनशील संरचना र मानव अनुभवसँग प्रत्यक्ष सम्बन्धित छन् । कृतिको अर्को महत्वपूर्ण पक्ष विषयगत बाहुल्यता हो । प्रेम, बिछोड, आशा–निराशा, गरिबी, राजनीतिक असमानता, मातृपीडा, परिवार विघटन, स्वाभिमान र अस्तित्व–दर्शन—यी सबै विषयहरू एकै कृतिमा समेटिएका छन् । यसले पाठकलाई जीवनका विविध आयामहरू अनुभव गर्न र गहिरो चिन्तन गर्न उत्प्रेरित गर्छ । साथै, कृतिमा प्रतीकात्मक गहिराइ अत्यन्त प्रभावकारी छ । ढुंगो कठोर यथार्थको, आगो क्रान्तिको, गुलाब सौन्दर्य र संवेदनाको, अरिंगाल राजनीतिक धोका र घार गुटबन्दीको प्रतीक बनेका छन् । यी प्रतीकहरूले मुक्तकलाई बहुआयामिक र दार्शनिक अर्थले सम्पन्न बनाउँछन् । कविका मुक्तकहरू सामाजिक न्याय, समानता, मानवीयता र वर्गविहीन समाजको पक्षमा दृढता प्रदर्शन गर्छन् । खतिवडाले मुक्तकको माध्यमबाट केवल सामाजिक समस्या उजागर मात्र गरेनन्, पाठकमा सकारात्मक परिवर्तन र चेतनाको भाव पनि जगाएका छन् । यसरी कृति साहित्यिक, दार्शनिक र सामाजिक दृष्टिले सशक्त र प्रभावशाली ठहरिन्छ । कमजोरीहरू / सुधारका अवसर ( कृतिमा सकारात्मक पक्षसँगै केही आलोचनात्मक अवलोकन पनि गर्न सकिन्छ । कतिपय मुक्तकहरू धेरै प्रत्यक्ष राजनीतिक नारा जस्तो देखिन्छन्, जसले विचारको गहिराइ र साहित्यिक परिष्कारमा केही कमी पुर्याएको महसुस हुन्छ । यसले पाठकमा तत्कालीन राजनीतिक संदेश स्पष्ट गराए तापनि, साहित्यिक सौन्दर्य र सूक्ष्मतामा केहि सुधार गर्न सकिन्छ । साथै, केही मुक्तकहरू अत्यधिक भावनात्मक तथा प्रतिक्रियात्मक छन् । कविले जीवन र यथार्थसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल भएका छन्, तर विचारको भाषिक परिष्कार, शैलीगत व्यावहारिकता र विमर्श अझ कसिलो भए कृति थप प्रभावशाली बन्न सक्थ्यो । कृतिमा प्रयोग भएका प्रतीकहरू—ढुंगो, आगो, पुल आदि—कति ठाउँमा पुनरावृत्त भएका छन् । यसले प्रतीकात्मक शक्तिमा स्थिरता ल्याए पनि, केही पाठकका लागि दोहोरिएको अनुभूति दिन सक्छ । समग्र कृति दार्शनिक र सामाजिक दृष्टिले सशक्त भएतापनि, केही भागमा घटनाको वर्णन बढी देखिन्छ, जसले साहित्यिक कलात्मकता र मुक्तकको निब निर्माणमा अवसर सीमित गरेको छ । यी सानातिना कमजोरी बाहेक, कृति सामाजिक चेतना, दार्शनिक गहिराइ र जीवन–यथार्थको चित्रणमा अत्यन्त प्रभावशाली छ । समग्र मूल्याङ्कन खतिवडाको ‘ढुंगो फुलेपछि’ एउटा बलियो मुक्तक–सङ्ग्रह हो, जसमा कविको जीवन दर्शन, सामाजिक न्यायप्रतिको आकांक्षा, राजनीतिक चेतना र मानवीय संवेदना सबैतिर प्रवाहित छ । कृतिले व्यक्तिगत भावनालाई मात्र होइन, समाजका पीडित, दबाइएका र अन्यायमा परेका मानिसको आवाजलाई पनि प्रतिनिधित्व गर्छ । कविका मुक्तकले अन्यायविरुद्ध आवाज उठाउन, भोगाइलाई शब्दमा बदल्न, स्वाभिमानको खेती गर्न र ढुंगो भएर बसेका मनमा पनि फूल फुलाउन प्रेरणा दिन्छ । साहित्यिक मूल्य, सामाजिक चेतना, राजनीतिक संवेदना र दार्शनिक गहिराइको दृष्टिले यो कृति मोरङ–झोराहाटको सीमित जीवन मात्र होइन; सारा नेपाली समाजको देशचित्र जस्तो प्रकट हुन्छ । कविको दृष्टि र मुक्तकको प्रभावले पाठकमा चेतना, संवेदना र सक्रियता जगाउँछ । यसरी ‘ढुंगो फुलेपछि’ नेपाली मुक्तक साहित्यमा दार्शनिक, सामाजिक र साहित्यिक योगदान दिने कृति हो । The post ढुङ्गो फुलेपछि : कठोर यथार्थबाट फुलेको सौन्दर्य appeared first on साहित्यपोस्ट.