Redirecting...

काठमाडौँ महानगर: ३० हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, दिवा खाजा र निःशुल्क पाठ्यपुस्तक विस्तार - taksarnews.com

काठमाडौँ महानगर: ३० हजारभन्दा बढी  विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, दिवा खाजा र निःशुल्क पाठ्यपुस्तक विस्तार - taksarnews.com
Source: tsar

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले विभिन्न शीर्षकका छात्रवृत्तिमार्फत अध्ययन गर्ने अवसर पाएका छन् । छात्रवृत्ति वितरणलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जना, दलित छात्रवृत्तिमा १ हजार ३२२ जना तथा अपाङ्गता र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका हुन् । यस्तै संस्थागत विद्यालयतर्फ कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । शिक्षा विभागले सार्वजनिक गरेको वार्षिक प्रगतिविवरणअनुसार यस वर्ष ३९ वटा विद्यालयले नेपाली पहिचान झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जना विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको छ । त्यसैगरी ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरेका छन् भने सेनिटरी प्याड प्रयोग गर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्रालाई निःशुल्क प्याड वितरण गरिएको छ । महानगरपालिकाले शिक्षातर्फ यस वर्ष ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको विभागले जनाएको छ । आन्तरिकतर्फका नियमित कार्यक्रमका लागि विनियोजित १ अर्ब ४ करोड ८५ लाख २७ हजार रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च भएको छ । ‘गरी खाने शिक्षा’ महानगरको इच्छाअनुसारका कार्यक्रमका लागि विनियोजित ६० करोड रुपैयाँमध्ये ५ करोड १ लाख ६६ हजार रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएको छ । शिक्षा क्षेत्रका स्वर्णिम योजनामा विनियोजित ११ करोड १४ लाख रुपैयाँमध्ये ४ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । संघीय सशर्त अनुदानअन्तर्गत प्राप्त १ अर्ब ४२ करोड ३४ लाख ५० हजार रुपैयाँमध्ये ९२.९ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड २२ लाख रुपैयाँ खर्च गरिएको छ । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना विद्यार्थी सहभागी भएका छन् । ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरेका छन् । यस वर्ष ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ भने सुन्दर विद्यालय निर्माण कार्यक्रमका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरिएको छ । साथै १ हजार ४३ जना शिक्षकको क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको छ । प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नतिपछि बाल भर्नामा आकर्षण बढेको, एसईई परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या वृद्धि भएको र पुस्तकरहित शुक्रबार कार्यक्रमबाट विद्यार्थीको सिर्जनात्मकता तथा सिप विकासमा सकारात्मक प्रभाव परेको विभागले जनाएको छ । सुन्दर विद्यालय परियोजनामार्फत विद्यालयको भौतिक तथा वातावरणीय अवस्था सुधार भई स्वच्छ, सफा र हरियाली विद्यालयको अवधारणा अघि बढेको विभागको निष्कर्ष छ । दिवा खाजा तथा छात्राका लागि सेनिटरी प्याड वितरणपछि विद्यार्थीको उपस्थिति दर बढेको, कक्षाहरू सूचना प्रविधिमा आधारित बन्दै गएको, प्राविधिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यालय तहबाटै पहुँच विस्तार भएको र संस्थागत विद्यालयले दिनुपर्ने छात्रवृत्ति पूर्ण रूपमा कार्यान्वयन हुनु यस वर्षका मुख्य उपलब्धि रहेको शिक्षा विभागको भनाइ छ । महानगरपालिकाभित्र हाल आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा, वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा र संस्थागत विद्यालय ४२५ वटा गरी कुल ७८४ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थी अध्ययनरत छन् । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थी छन् । माध्यमिक तहमा कक्षा ९ र १० मा १२ हजार ८९६ जना, कक्षा ११ र १२ मा १२ हजार ६४० जना तथा स्रोत कक्षामा ४५५ जना विद्यार्थी अध्ययनरत छन् । यस वर्ष सामुदायिक विद्यालयमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयमा २ लाख २१ हजार ६४४ जना गरी कुल २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरेका छन् । महानगरपालिकाको शैक्षिक संरचनामा २०९ जना सहजकर्ता, ८७ जना आया, ८७ जना विद्यालय सहयोगी, ५८ जना विद्यालय सहायक कर्मचारी, ७०५ जना प्राथमिक शिक्षक, ४३७ जना निम्न माध्यमिक शिक्षक, कक्षा ९ र १० का लागि ४०५ जना, कक्षा ११ र १२ का लागि ४३ जना शिक्षक, ९९ जना प्राविधिक धारका प्रशिक्षक तथा १७३ जना भाषा सहायक गरी कुल २ हजार ३०३ जना जनशक्ति कार्यरत छन् ।