लामा टेम्पल : इतिहास, आध्यात्मिकता र नेपाल–चीन सम्बन्धको जीवित प्रतीक - janatatimes.com
– कृष्णहरि केसी – चीन बसाइको चार महिनाको अवधिमा चीनको शासन–प्रशासन, विकास दर्शन, संस्कृति र जनजीवनलाई नजिकबाट बुझ्ने सुअवसर पाउनु आफैँमा विशेष सौभाग्य थियो । ठिक यही सन्दर्भमा अन्तिम हप्तामा बेइजिङको प्रसिद्ध लामा टेम्पल (योंगह गोंग) भ्रमणमा लगियो । त्यहाँ पुग्दा यस यात्रालाई अझ अर्थपूर्ण भएको महसुस गरेको छु । दिउँसो करिब ३ बजेतिर मन्दिर परिसरमा पुग्दै गर्दा पनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू अनुशासित तरिकाले लाइनमा रहेको दृश्य देखेर मलाई चकित पारेको थियो । भित्र छिरेपछि कोही युवायुवती, कोही वृद्ध, कोही विदेशी पर्यटक, स्थानीय सबैका अनुहारमा श्रद्धा, उत्सुकता र सांस्कृतिक जिज्ञासाको मिश्रण स्पष्ट देखिन्थ्यो । हल्का धूपको सुगन्ध, प्रार्थनामा तल्लीन मानिसहरूको गम्भीरता, सुकोमल घण्टीको धुन र शताब्दीयौँ पुराना काठका रङ्गिन संरचनाले हरेकका मनलाई शान्ति ल्याइदिन्थ्यो । त्यहाँ कोही शान्त रूपमा ध्यान गरिरहेका थिए, कोही हात जोडेर बुद्धको प्रतिमा अगाडि नमस्कार गर्दै थिए, त कोही बौद्ध परम्परा अनुसार सम्पूर्ण शरीर जमिनमा निहुरिएर, कसैले घुँडा टेक्दै, कसैले पुरै ओछ्यान परेजस्तो गर्दै, आफ्नो श्रद्धा प्रकट गरिरहेका देखिन्थे । मन्दिरको स्थापना, यसको महत्त्व, शताब्दीयौँ पुरानो राजदरबारलाई कसरी धार्मिक केन्द्रमा रूपान्तरण गरियो र यहाँ रहेको प्रत्येक कक्ष, प्रतिमा तथा शिल्पकला कसरी निर्माण गरियो र त्यहाँ भित्रको एउटै काठको मैत्रेय बुद्धको मूर्ति नेपालबाट ल्याइएको सेतो चन्दन भन्ने विस्तृत कथा गाइटले सुनाउँदा मनमा झन् उत्सुकता थपेको थियो । बेइजिङको मुटुमा बसेको आध्यात्मिक वातावरण बेइजिङको व्यस्त सहर, जहाँ आधुनिकता र प्राचीन परम्परा दोहोरो तालमा चलिरहेको देखिन्छ । त्यही सहरको मुटुमा लामा टेम्पल अवस्थित छ । योंगह गोंग शान्तिको एउटा विरलै भेटिने संसार हो भन्दा हुन्छ । मन्दिरको प्रवेशद्वारबाट भित्र छिर्नासाथ धूपको सुगन्ध, भित्ताभरिका टाङ्का, प्रार्थना चक्र र शान्त भावनाले वातावरणलाई पुरै अनुपम बनाउँछ । बाहिर असङ्ख्य मान्छेहरूको दौडधुप चलिरहे पनि भित्र भने आँगनमा बौद्ध विधि अनुसार बडो श्रद्धाले प्रार्थना गरिरहेका भेटिन्छ र समय एक छिन स्थिर भएको अनुभूति गराउँछ । लामा टेम्पल केवल तिब्बती बौद्ध परम्पराको प्रतीक मात्र होइन, यो चीनको धार्मिक स्वतन्त्रता, सांस्कृतिक विविधता र बौद्ध दर्शनप्रति रहेको ऐतिहासिक प्रतिबद्धताको जिउँदो स्मारक पनि हो । रङ्ग, सुगन्ध, ध्वनि र आध्यात्मिकता मिसिएको यहाँको वातावरणले चञ्चल मनलाई बाँधिदिन्छ । यस्तो विशिष्ट परिवेशमा श्रद्धा, कौतुहलता र सांस्कृतिक सम्मानले हजारौँ कोसाबाट आएका यात्रुहरू एकै भावनाले भरिएका भेटिन्छन् । लामा टेम्पलको क्षेत्रफल र परिसरको भौतिक संरचना बेइजिङको उत्तर–पूर्व भागमा अवस्थित लामा टेम्पल लगभग ६६,४०० वर्ग मिटर क्षेत्रमा फैलिएको विशाल धार्मिक–सांस्कृतिक परिसर हो । करिब ६.६ हेक्टर क्षेत्रफलमा फैलिएको यो मन्दिर तत्कालीन चिनियाँ राजदरबारको भव्य वास्तुकलामा निर्मित भएकाले आज पनि यसले प्राचीन साम्राज्यको सांस्कृतिक छाप स्पष्ट झल्काउँछ । यसको संरचना दक्षिणदेखि उत्तरतिर एकै सीधामा उभिएका पाँच मुख्य हल तथा दर्जनौँ सहायक कक्ष, आँगन र ध्यान स्थलहरूमा विभाजित छ । प्रवेशद्वारको विशाल काठे ढोकाबाट भित्र पसेपछि अनुक्रमिक रूपमा ‘टियनवाङ हल’, ‘योङ्हे हल’, ‘योङयौ हल’, ‘फालुन हल’ हुँदै उत्तरी छेउमा रहेको ‘वान्फुगे’ सम्मको सम्पूर्ण यात्रा एउटा आध्यात्मिक–सांस्कृतिक मार्गजस्तै अनुभूत हुन्छ । परम्परागत काठको नक्कासी, छानाका बहुस्तरीय वक्राकार संरचना, सुनौलो किनार, सुन्दर भित्ते चित्र र काठका जटिल टेवाको व्यवस्थाले यो मन्दिरलाई केवल धार्मिक स्थान मात्र बनाएको छैन बरु यो चीनको वास्तुकला, कालिगडी र साम्राज्यकालीन कलात्मक परिष्करणको जिउँदो उदाहरण बनेको छ । लामा टेम्पलको कथा इतिहासका पानामा १७ औँ शताब्दी देखि जोडिन्छ । यस मन्दिर निर्माणको सुरुवात सन् १६९४ मा भएको थियो । जब यो स्थान यिन्जेन नामक राजकुमार-जो पछि क्विङ साम्राज्यका सम्राट योंगझेङ बनेको राजकीय निवासका रूपमा तयार गरिएको थियो । राजकुमारको व्यक्तिगत निवास तथा क्षणिक दरबारका रूपमा निर्माण गरिएको यो भवन मूलतः राजपरिवारका सदस्यहरूको अस्थायी बास, राजनीतिक परामर्श तथा रणनीतिक छलफलका लागि प्रयोग हुने गर्थ्यो । वास्तुकलाका सबै शैली, संरचना र सामग्रीहरू सम्राटका राजकीय भवनका लागि हुने स्तरकै परिष्कृत कला र काठमा आधारित थियो । यिन्जेन सम्राट बनेपछि उनको पुरानो निवासले नयाँ महत्त्व पायो । यसलाई केही समय राजकीय–आन्तरिक प्रयोजनका लागि पनि प्रयोग गरियो । तर राजनीतिक, प्रशासनिक तथा धार्मिक अवयवहरू परिवर्तन हुँदै गएपछि यो भवनलाई एक नयाँ स्वरूप दिने निर्णय लिइयो । त्यस क्रममा क्विङ दरबारले यसलाई केवल शाही निवासको रूपमा राख्नु उचित नठानेर क्रमशः यसलाई पूर्वी तिब्बती बौद्ध धर्मको प्रमुख आध्यात्मिक थलो बनाउने दीर्घकालीन योजनाका साथ अघि बढाइएको देखिन्छ । यही योजनाअनुसार सन् १७४४ मा सम्राट च्यानलुङका पालामा यस भवनलाई आधिकारिक रूपमा मठको रूपमा रूपान्तरण गरियो । त्यस बेलादेखि यो स्थान तिब्बती बौद्ध शिक्षाको एक केन्द्रीय केन्द्रका रूपमा परिचित हुन थाल्यो । तिब्बती बौद्ध धर्मप्रति तत्कालीन राजाको रणनीतिक समर्थन रहेको थियो । क्विङ वंशले चीन, मङ्गोलिया र तिब्बतबिचको सम्बन्ध सुदृढ राख्न तिब्बती बौद्ध धर्मलाई उच्च स्थान दिन आवश्यक ठानेका थिए । चीनमा बसोबास गर्ने तिब्बती समुदाय, मङ्गोल अनुयायी र अन्य बौद्ध परम्परालाई एकीकृत गर्नुपर्ने आवश्यकता अनुसार नै यो केन्द्र स्थापना गरिएको थियो । भव्य संरचना, ठूला कक्ष, विशाल क्षेत्रफल र सांस्कृतिक प्रतीक भएको यो स्थान ‘राजकीय लामा मठ’ का लागि सर्वथा उपयुक्त पनि थियो । यही निर्णयले नै आजको लामा टेम्पललाई ‘बेइजिङको सबैभन्दा प्रसिद्ध बौद्ध–सांस्कृतिक केन्द्र’ को रूपमा स्थापित गरिदियो । राजकुमारको निवासबाट बौद्ध शिक्षाको केन्द्रमा रूपान्तरण लामा टेम्पलमा लामा टेम्पलको निर्माणको कथा १७ औँ शताब्दीको सुरुवातसँग जोडिन्छ । यो मूलतः सम्राट योंगझेङ जन्मिएको राजसी निवास थियो । पछि उनलाई सिंहासनारोहण गराउने प्रक्रिया अघि बढेपछि उनी जन्मेको स्थान पवित्र स्थलको रूपमा घोषण गरेर यो भवनलाई लामा मन्दिरको रूपमा रूपान्तरण गरिएको थियो । सम्राट च्यानलुङको शासनकालमा यसको विस्तार, कलाकृति, काठका संरचना, कोरिडोर, भित्तेचित्र र मूर्तिहरू थपिँदै गए । निर्माण र विस्तारको यात्रा करिब ५० वर्षसम्म निरन्तर चलिरह्यो । आजको लामा टेम्पल पाँच प्रमुख हल, पूर्व–पश्चिम कक्ष, ध्यान कक्षहरू, ठुलो प्रार्थना मण्डप, पुस्तकालय, भजन–सङ्ग्रहालय र विशाल खुला प्राङ्गण मिलेर बनेको छ । प्रत्येक कक्षमा प्राचीन बौद्ध कला, काठका नक्कासी, सुनमोहन आकृति र सांस्कृतिक शक्ति झल्किन्छ । दैनिक भ्रमणकर्ताको घुइँचो : धार्मिकता र पर्यटनको मिश्रित गन्तव्य बेइजिङ सहरका धेरै सांस्कृतिक थलोमध्ये लामा टेम्पल सबैभन्दा बढी विदेशी र स्थानीय पर्यटकहरू भेटिने ठाउँ हो । २५ युआन (अर्थात् नेपाली रु. ५००) को टिकट काटेर सामान्यतः दैनिक कम्तीमा २०,००० पर्यटक लामा टेम्पल आउने अनुमान गरिन्छ । जबकि सप्ताहन्त र पर्वमा यो सङ्ख्या ४०,००० भन्दा माथि पुग्दो रहेछ । धूप बाल्दै मन्दिरभित्र वरिपरि घुम्ने बौद्ध धर्मावलम्बी, तिब्बती अनुयायी, चिनियाँ युवाहरू, विदेशी पर्यटक, विद्यार्थी र शोधकर्ताहरू आ–आफ्नो उद्देश्यमा बडो उत्साहका साथ घुमिरहेका भेटिन्थे । यही मानवीय विविधताको उपस्थितिले लामा टेम्पललाई धार्मिक मात्र होइन, चीनको सांस्कृतिक बहुलता र समायोजन क्षमताको अद्वितीय दर्पण बताइरहेको थियो । नेपाली हातले निर्मित संसारकै सबैभन्दा ठुलो एउटै काठको मैत्रेय बुद्धको मूर्ति लामा टेम्पलको सबैभन्दा आकर्षक केन्द्र भनेको मैत्रेय बुद्धको विशाल मूर्ति हो । यो कुनै साधारण मूर्ति होइन । एउटै रुखको काठबाट बनेको यो संसारकै ठुलो मूर्ति हो । सन् १९९३ मा गिनिज वर्ल्ड रेकर्डले संसारको ठुलो मूर्तिको रूपमा प्रमाण दिएको थियो । प्रमाण पत्र मन्दिरको मूल ढोकामा नै टाँसिएको छ । यो मूर्ति बुद्धको जन्मभूमि कपिलवस्तुबाट ल्याइएको एउटै सेतो चन्दनको रुखबाट बनाइएको थियो । कूल २६ मिटर उचाइ भएको यो मूर्तिको ८ मिटर जमिन मुनी रहेकाले १८ मिटर जमिनमाथि देख्न सकिन्छ । यो काठ विशेष अनुष्ठान, बौद्ध विधि विधान र तत्कालीन सम्राटको तयारीसहित नेपालबाट तिब्बत हुँदै बेइजिङ ल्याइएको थियो । काठको आकार, गुणस्तर र सुगन्धले बौद्ध जगतमा यसको आध्यात्मिक महत्त्व अझ बढाएको छ । यस हललाई सीमारहित सुखको हल पनि भन्दा रहेछन् । यो मैत्रेय बुद्धको ठुलो मूर्तिलाई दश हजार सुखको प्रतीकको रूपमा लिइँदो रहेछ । यो काठ चीन पुगेर त्यत्तिकै मूर्तिमा रूपान्तरित भएको थिएन । ६ जना नेपाली कलाकार (कालिगड) बेइजिङमै पुगेर मूर्तिको निर्माण गरेका थिए । यी कलाकारले महिनौँ परिश्रम गरी आज संसारले चमत्कार मानेको यो विशाल मैत्रेय बुद्धको मूर्ति निर्माण गरेका थिए । सो विषयमा चर्चित पत्रकार सुधीर शर्माज्यूले पनि आफ्नो चर्चित पुस्तक भिक्षु, व्यापार र विद्रोह एवं आफ्नो युट्युब च्यानल मार्फत धेरै तथ्य खोतलेका छन् । यसरी लामा टेम्पल नेपाल–चीन सांस्कृतिक सम्बन्ध पुस्तौँदेखि भौतिक संरचनामा बाँचिरहेको जीवन्त इतिहास र उदाहरण हो । यही तथ्य आज पनि मन्दिरको भित्तामा, सूचना पाटी र गाइड–बुकहरूमा सम्मानपूर्वक उल्लेख गरिएको छ कि एउटै काठबाट बनेको यो अद्भुत मूर्ति नेपालबाट ल्याइएको हो । तर त्यसमा नेपाली कलाकारको भने कुनै नाम उल्लेख छैन । त्यो पनि समावेश भइदिएको भए अझ जाति हुने थियो भन्ने लाग्यो । नेपाल–चीन सम्बन्ध भृकुटी, अरनिकोदेखि आजका नेपाली कलाकारसम्म लामा टेम्पलको मूर्ति हेर्दा, काठको सुगन्धमा डुबेर, नेपाली कलाकारहरूको योगदान सम्झिँदा एउटा इतिहासको अध्याय स्वाभाविक रूपमा खुल्छ कि नेपाल र चीनको सम्बन्ध आजको राजनीतिक औपचारिकताले मात्रै होइन, हजारौँ वर्षदेखि सांस्कृतिक र आध्यात्मिक रूपमा जोडिएको छ । ७ औँ शताब्दीमा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतका राजा स्रङ–चेन–गोम्पो सँग गरेको विवाहद्वारा नेपाल–तिब्बत–चीन सांस्कृतिक सम्बन्धको पहिलो बलियो जग बसालिएको थियो । अहिले पनि भृकुटी चीन–तिब्बत क्षेत्रमा “हरित तारा” को अवतारका रूपमा पुजिन्छिन् । उनले तिब्बतमा बौद्ध धर्म, इतिहास र कूटनीतिकको मैत्री पुल निर्माण गराइन् । त्यसै गरी १३ औँ शताब्दीमा चीन पुगेका अरनिको, कला–संस्कृतिको अमर प्रतीक बनेर बेइजिङमा उभिरहेका छन् । उनले चीनमा स्तूप, मन्दिर, शिल्प, चित्रकला र धातु कला मार्फत नेपाल–चीन सम्बन्धलाई अझ जीवित तुल्याइदिएका छन् । युआन राजवंशका सम्राट कुब्लाइ खानसम्म प्रभावित बनाउने अरनिकोले चीनमा ‘नेपाली शैली’ लाई अन्तर्राष्ट्रिय बनाइदिए । लामा टेम्पल निर्माणमा खटिएका ६ नेपाली कलाकार पनि यस्तै परम्पराको निरन्तरता हो । भृकुटीले सुरु गरेको सांस्कृतिक मैत्री र अरनिकोले उत्कर्षमा पुर्याएको कूटनीतिक तथा कलात्मक सम्बन्धलाई १७ औँ शताब्दीमा नेपाली ६ जना कलाकारले लामा टेम्पल मार्फत निरन्तरता दिएको पाइन्छ । उनीहरुकै हातबाट बनेको आजको मैत्रेय मूर्ति नेपाल–चीनको साझा सांस्कृतिक इतिहासको मूर्त रूप हो । मन्दिरको वास्तुकला र कारीगरी : पूर्वीय सौन्दर्यको अद्भुत संरचना लामा टेम्पलको वास्तुकला चिनियाँ, तिब्बती र मङ्गोल शैलीको मिश्रित रूप हो । यहाँ पाँचवटा मुख्य हलहरू छन् । Tianwang Hall, Yonghe Hall, Yongyou Hall, Falun Hall. Wanfuge (मैत्रेय बुद्ध रहेको भवन) यी सबै काठका विशाल चौतारा, रातो–सुनौलो स्तम्भ, परम्परागत छानो, तामाका नक्कासी, भित्तामा कुदिएको बुद्ध चरित्रका चित्रले भरिएका छन् । भवनहरूको संरचना यति सुन्दर र सूक्ष्म छ कि काठका टेको, ढोका, जाली, छानाको किनारा, ढोकाका सिंहमाथि उड्ने नाग, जलपरी आकृति सबैले तत्कालीन चीनी–तिब्बती शिल्पकला कति उन्नत थियो भन्ने स्पष्ट देखाउँछ ।लामा टेम्पल दुई देशको साझा आत्मा हो । नेपालको पर्यटन बढाउने सेतु हो । लामा टेम्पल आज चीनको सर्वाधिक महत्त्वपूर्ण बौद्ध थलो मध्ये एक हो । तर यसको भौतिक भव्यताभन्दा महत्त्वपूर्ण कुरा नेपालको कपिलवस्तुबाट ल्याइएको काठ, नेपाली कलाकारबाट बनेको मैत्रेय मूर्ति हो । यसले बोकेको साझा इतिहास, साझा श्रम र साझा संस्कृतिको कथा, आज पनि मन्दिरको प्रत्येक ढोकामा, धूपको सुगन्धमा, काठको सुन्दर नक्कासीमा धड्किरहेका छन् । नेपाल र चीनको सम्बन्ध कुनै कूटनीतिक औपचारिकतामा मात्र टिकेको छैन । यो इतिहास, विश्वास, श्रम, कला र संस्कृतिमा टिकेको सम्बन्ध हो । चीन नेपाल सम्बन्ध हजारौँ वर्ष पुरानो हो । अझै सशक्त र प्रभावकारी तवरले बाँचिरहेको छ र अझ सुनौलो भविष्य तर्फ अघि बढिरहेको छ । आजका दिनमा चीन आर्थिक हिसाबले सबल र समृद्ध देश हो । चीनको जनसङ्ख्या उच्च, मध्यम र मध्यम उच्च आय भएका समूह तीव्र रूपमा बढिरहेको छ । स्वदेश मात्रै हैन वैदेशिक यात्रा गर्ने क्षमता पनि दिन प्रतिदिन फराकिलो भइरहेको छ । तीमध्ये धेरै चिनियाँ नागरिकहरू आफ्नो मनोरञ्जन, आराम, संस्कृति, प्रकृति र नयाँ अनुभवहरू खोज्दै संसारका अनेकन स्थलतिर घुम्न गइरहेका छन् । यस्तो बेला, आफ्नो धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधताको कारण नेपालको लागि चिनियाँ नागरिक एक अत्यन्तै आकर्षक लक्ष्य हुनुपर्छ । यसका लागि नेपालमा बुद्धकालीन सांस्कृतिक र धार्मिक (जस्तै लुम्बिनी, बौद्धनाथ, स्वयम्भू, हिमाली क्षेत्र, प्रकृति–पर्यटन क्षेत्र आदि) स्थलहरूलाई आधार बनाउन सकिन्छ । हाम्रा ती ठाउँहरू चिनियाँ पर्यटकका लागि ‘आस्थागत, आध्यात्मिक र सांस्कृतिक पर्यटन’को उत्कृष्ट गन्तव्य हुन सक्छन् । यदि नेपालले सही तवरले प्रचार–प्रसार, आवासीय सुविधा, यातायातको उचित प्रबन्ध, चिनियाँ भाषा सेवा, धार्मिक र सांस्कृतिक थिम–प्याकेज, सहज भिसा एवं नेपाल भित्रिने सुविधाको उचित व्यवस्था गरेर चिनियाँ पर्यटकलाई आकर्षित गर्न सके, त्यसले देशको पर्यटन क्षेत्रमा ठुलो “बुम” ल्याउन सक्नेछ ।