बझाङ माथिल्लो सेतीका लागि वित्तीय व्यवस्थापन - ehimalayatimes.com
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने दुई सय १६ मेगावाट जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका ४ र ५ मा निर्माण हुने बझाङ माथिल्लो सेती आयोजनाका लागि कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सह-नेतृत्वमा लगानी व्यवस्थापन भएको हो । सहलगानीकर्तामा माछापुच्छ«े बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनान्स रहेका छन् । काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कुमारी बैंक र आयोजना प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडतर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गर्नुभएको थियो । नेपालका प्रमुख वाणिज्य बैंकमध्येको एक कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनामा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) दुई हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरणअन्तर्गत समेत) योगदान गरिसकेको जनाएको छ । जसमध्ये केही सञ्चालनमा रहेका र केही निर्माणाधीन रहेका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाउन लागिएको उक्त आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र ड्यु डिलिजियन्स स्टडीसमेत सम्पन्न भइसकेको प्रवद्र्धक कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित आयोजनामा ४.५ घण्टाको पिकिङ क्षमता रहनेछ । आयोजनाको डिजाइन ३४.१ घनमिटर प्रतिसेकेण्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घनमिटर प्रतिसेकेण्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ । आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ ।