Redirecting...

‘६० कटेपछि लेखनको सबैभन्दा सिर्जनशील समयमा छु’ - nepalnews.com

‘६० कटेपछि लेखनको सबैभन्दा सिर्जनशील समयमा छु’ - nepalnews.com
Source: NPNW

सम्राट् उपाध्याय अंग्रेजीमा लेख्ने नेपालीमूलका आख्यानकारका रूपमा पश्चिमा मुलुकमा परिचित छन्। अमेरिकाको इन्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्ने उपाध्यायको सातौँ र नयाँ सिर्जना हो– उपन्यास डार्कमदरल्यान्ड। यसअघि उनका तीन कथासंग्रह अरेस्टिङ गड इन काठमाडौँ, द रोयल घोस्ट, म्याड कन्ट्री र तीन उपन्यास द गुरु अफ लभ, बुद्धज अर्फान्स, द सिटी सन प्रकाशित छन्। उपाध्यायको डार्कमदरल्यान्ड प्रज्ञा प्रतिष्ठानको डबलीमा आगामी शनिबार सार्वजनिक हुँदै छ। अमेरिकाको पेन्गुइन र्‍यान्डम हाउसबाट यसैवर्षको जनवरीमा प्रकाशित उनको यो उपन्यास दक्षिण एसिया संस्करण नेपाली प्रकाशन गृह फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो। आफ्नो कृतिको स्वदेश लोकार्पणका अवसरमा काठमाडौँ आइपुगेका उपाध्यायले यसै साता नेपालन्युजका प्रभाकर गौतमसँग खुलेर बातचित गरे। यहाँ आउनुअघि कोलकाता पुग्नुभएको रहेछ, कोलकातासँगको केही साइनो छ कि ? कोलकातामा मेडिसिन पढ्न गएकी दिदीले उतै बिहे गर्नुभयो। दिदी-भिनाजु दुवै डाक्टर। त्यही उहाँहरूको एउटा सानो हस्पिटल पनि छ। तीन वर्षअघि बुवा बितेपछि मुवालाई दिदीले आफूसँगै राख्नुभएको छ। मुवा र दिदी, भिनाजुसँग भेट्न कोलकाता गएको थिए। पाँच दिन उतै बिताएर आएँ। काठमाडौँमा चाहिँ को को आफन्त हुनुहुन्छ? मेरो बुबाआमापट्टिका त कोही हुनुहुन्न। केही नातेदार मात्र हुनुहुन्छ। मेरी श्रीमतीको माइती भने यही हो। म अहिले त्यहीँ (चुच्चेपाटी) बसिरहेको छु। तपाईंको नयाँ उपन्यास डार्कमदरल्यान्डको विषयवस्तुबारे केही बताइदिनुस् न। यो उपन्यास एकदम मोटो छ, सकाउनै १० वर्ष लाग्यो। पहिला अर्कै विषयबाट सुरु गरेको थिएँ। त्यही बेला २०७२ सालमा नेपालमा ठूलो भुइँचालो गयो। धेरैको ज्यान गयो, कैयौँ घाइते भए। मेरा बुवामुवा पनि धेरै दिनसम्म टेन्टमा बस्नुपरेको थियो। भुइँचालोले निम्त्याएको संकटको फाइदा उठाउँदै कोही डिक्टेटर (तानाशाह) आयो भने के हुन्छ भन्ने सोच आउन थाल्यो। लेख्ने बेला त्यही डिक्टेटरकै व्यक्तित्व हाबी हुन थाल्यो। पहिलेको विषयवस्तुप्रति रुचि घट्न थाल्यो। अनि उपन्यास त्यतैतिर मोडियो। अमेरिकामा पनि ट्रम्प डिक्टेटर बनेर आए। डार्कमदरल्यान्ड भनिसकेपछि यसको सेटिङ नेपालकै छ। तर, अमेरिका र नेपाल दुवैको सन्दर्भ आउँछ। ‘ब्याक एन्ड फोर्थ’ मा कथा बुनिएको यो ‘डिस्टोपियन’ उपन्यास हो। लेखक उपाध्याय उपन्यास मोटो हुनुको कारण?म पहिल्यै प्लट बनाएर लेख्दिनँ। लेख्दै जाँदा उपन्यास लम्बिँदै गयो, बृहत् बन्यो। सायद त्यो बेला म जुन मनस्थितिमा थिएँ, अक्षरको जुन संसार रचेँ, त्यो बिस्तारै बिस्तारित हुँदै गयो। कोभिडको समयमा एकसरो ड्राफ्ट सकाएँ। किताबको मोटाइले आफैँलाई आश्चर्य लागेको थियो। ७६० पृष्ठसम्म पुग्छ होला। पुस्तकको मोटाइले बढी पाठक पाउन फरक त पर्दैन? भनाइ नै छ– ‘नोबेल इज हाउ लङ इट निड्स टु बी’। डार्कमदरल्यान्ड लेखेपछि मैले ३०० जति पृष्ठका अरू दुई वटा उपन्यासको पाण्डुलिपि तयार पारेको छु। डार्कमदरल्यान्डबारे न्युयोर्क टाइम्सले मेरो अहिलेसम्मका किताबमध्येकै राम्रो समीक्षा छाप्यो। तीनचार वटा अरू समीक्षा पनि आएका छन्। पुस्तक महोत्सवहरूमा बोलाइरहेका छन्। दुई महिनाअघि अगाजा बुक फेस्टिभलमा गएँ, टोरन्टो बुक फेस्टिभलमा पनि सहभागी भएँ। भर्खरै न्युयोर्कमा वर्ल्ड भोइसेस फेस्टिभलमा पनि पुगेँ। मान्छेले सितिमिति मोटो किताब उठाउँदैनन्। एजेन्टले पनि त्यही सुझाव दिएका थिए। तर, मोटाइले धेरै फरक पारेको महसुस भएको छैन। तपाईं केकस्ता कामले काठमाडौँ आउनुहुन्छ? एउटा पारिवारिक भेटघाट भइहाल्यो। अर्को, सेन्ट जेभियर्स पढ्ने बेलाका साथीभाइसँग भेट हुन्छ। त्यसबाहेक साहित्यिक काम हो– राइटिङ नेपाल। ललित म्यागेजिनको टिमले सहयोग गरिरहेको यो काममा म १० वर्षभन्दा बढीदेखि आबद्ध छु। पछिल्लो समय अंग्रेजीमा प्रकाशित कुन कुन नेपाली लेखकका किताब पढ्नुभयो? प्रवीण अधिकारी, मञ्जुश्री थापाबाहेकका खासै पढेको छैन। तर, नयाँ पुस्ताका नेपालीले अंग्रेजीमा के लेखिरहेका छन् भन्ने धेरै आइडिया ‘राइटिङ नेपाल’ ले दिइरहेको छ। नयाँ पुस्ताको लेखनलाई कसरी मूल्यांकन गर्नुहुन्छ? एकदम आशावादी छु। उनीहरूमा प्रशस्त सिर्जनशीलता छ। विषयमा विविधता छ। नयाँ पुस्ताको प्रतिभा र क्षमतामा कुनै शंका छैन। ‘राइटिङ नेपाल’ कै सहभागी र विजेतामध्ये कतिले त किताबै निकालिसके। भाषा, विषयवस्तुको ज्ञानजस्ता कुरामा सुधार गर्ने ठाउँ त छन्, तर खुसीको कुरा धेरैले अंग्रेजीमा लेखिरहेका छन्। लेखक उपाध्याय अमेरिकामा क्रिएटिभ राइटिङ (सिर्जनशील लेखन) पढाइरहनुभएको छ। हाम्रो अंग्रेजी लेखनको सन्दर्भमा सिर्जनशीलताका केकस्ता प्रयोग देखिरहनुभएको छ? मञ्जुश्री र मेरो किताब आउँदा अंग्रेजीमा बाहिरबाट प्रकाशित हुने हामी पहिलो पुस्ता जस्तै भयौँ। त्यसले हाम्रो चर्चा-परिचर्चा भयो भनौँ। बाहिरतिरका मान्छेहरूले पनि ‘नेपाल राइटिङ इन इङ्लिस’ भने। त्यसपछि जुन मात्रामा अरू लेखक आउनुपर्ने थियो, त्यो संख्या कमै होला। साहित्यमा उतारचढाव भइरहन्छ। हामीले धैर्य गर्नुपर्छ। अहिले जुन लेखक छन्, जसलाई मैले पढिरहेको छु, उनीहरूमा प्रतिभा छ। मैले १० वर्षअगाडि पढाएको विद्यार्थीको अहिले किताब निकाल्ने सम्झौता भएको छ। मेरै करिअर पनि, मैले यसो लेख्न बसेँ अनि फ्याट्टै किताब प्रकाशन भएको होइन। धेरै लामोसम्म लेखेपछि मात्र परिणाम आएको हो। क्षमता र पहिचान सँगसँगै नजान सक्छ। मेरै साथी, विद्यार्थी कति धेरै छन् जसको किताब प्रकाशन हुन सकेको छैन। प्रतिभा हुँदैमा सबैको करिअरले ‘टेक–अफ’ गर्दैन। त्यसकारण क्षमता, अवसर वा चर्चा प्रत्यक्ष रूपमा अन्तर्सम्बन्धित हुन्छ नै भन्ने छैन। चर्चा र पहिचान नभएका साहित्य पनि एकदम स्तरीय हुन सक्छन्। हाम्रो अंग्रेजी साहित्य लेखनको इतिहास पनि छोटो छ। सुस्त पनि छ। तर, हामीले सुरु गर्दाभन्दा बढेकै छ। अहिले विश्व साहित्य र अमेरिकी साहित्यमा के चलिरहेको छ? विश्व साहित्यमा नोबेल पुरस्कार, बुकर पुरस्कार आदि जित्ने किताबहरू धेरै ‘लिटरेरी’ हुन्छन्। अमेरिकी प्रकाशनको ‘ट्रेन्ड’ र मेरा विद्यार्थीहरूमा के देख्छु भने, यथार्थ चित्रणभन्दा हंगर गेम्स, ह्यारी पोटरजस्ता ‘डिस्टोपियन’, ‘साइन्स फिक्सन’ र ‘फ्यान्टासी’ विधामा धेरैको रुचि बढेको छ। मेरा विद्यार्थीहरू पनि यही विधामा लेख्ने कुरा गर्छन्। यथार्थपरकभन्दा फ्यान्टासी विधाप्रतिको झुकावको कारण के होला? मेरा विद्यार्थीहरू यथार्थवादलाई पट्यारलाग्दो भन्छन्। जति फ्यान्टासीको संसार निर्माण गर्‍यो, उति रमाइलो भन्छन्। हंगर गेम्स, ह्यारी पोटरजस्ता किताबले पाएको सफलताले पनि युवा लेखकलाई यस्तो पो लेख्नुपर्ने रहेछ भन्ने लाग्यो होला। यसरी पनि लेख्न सकिने रहेछ भन्ने पनि भयो होला। क्रिएटिभ राइटिङको पढाइमा यथार्थपरक लेखनलाई अमेरिकामा पहिलेदेखि धेरै जोड दिइएको थियो। फ्यान्टासीलाई दोस्रो दर्जाको साहित्यका रूपमा हेरिन्थ्यो। अहिले त्यसमा परिवर्तन भइरहेको छ। नीतिगतभन्दा पनि सांस्कृतिक परिवर्तन हो यो। नेपालको हकमा के देखिन्छ? यहाँ ‘पोलिटिकली करेक्ट’ हुनुपर्ने कुरा हाबी छ कि? नेपालमा राजतन्त्र, माओवादी, लोकतान्त्रिक आन्दोलनजस्ता धेरै कुराले यहाँको लेखनलाई प्रभावित बनायो। समीक्षकहरूमा मेरो पहिलो किताब अरेस्टिङ गड इन काठमाडौँले पूरै नेपालको प्रतिनिधित्व गर्नुपर्छ भन्ने बुझाइ थियो। मैले आफूलाई लागेको र देखेको कुरा लेख्ने हो। कसरी पूरै नेपालको प्रतिनिधित्व गर्न सक्छु र? त्यो त असम्भव कुरा हो। कुनै लेखकले सबैको प्रतिनिधित्व गर्नै सक्दैन। नेपाली युवा लेखकमा त्यो दबाब मैले महसुस गर्थें। अंग्रेजी साहित्यले नेपालको प्रतिनिधित्व गर्नुपर्छ भन्ने आग्रह अझ बढी थियो। त्यसले युवा लेखकहरूमा लेख्न मन लागेको कुरा नलेखेर, लेख्न मन नलागेको कुरा लेख्न दबाब पारेजस्तो लाग्थ्यो। राजनीति लेखेन भने लेखनले मान्यता पाउँदैन कि भन्ने अवस्था पनि थियो। अहिले त्यस्तो छ जस्तो लाग्दैन। विषयमा विविधता भेटिन्छ। लेखक उपाध्याय अमेरिकामा ठूलो संख्यामा तपाईंजस्तै थातथलो छोडेर बसेका लेखक छन्। यो समूहको लेखनलाई अमेरिकामा पहिचानवादी लेखनको कित्तामा राखेको देखिन्छ। आप्रवासी लेखकका लागि यो समस्या हो या अवसर ? त्यस्तै थियो। दक्षिण एसियाली लेखन यस्तै शैली र विषयवस्तुको हुनुपर्छ भन्ने सोच बलियो थियो। भारतीय मूलकी झुम्पा लाहिरीको इन्टरप्रेटर अफ मालाडिज र मेरो अरेस्टिङ गड इन काठमाडौँका प्रकाशक एकै हुन्। सम्पादकीय टोली पनि उही हो। हाम्रो लेखनलाई ‘एथ्निक लिटरेचर’ मा राखिन्थ्यो, जुन मानक अमेरिकी साहित्यभन्दा फरक मानिन्थ्यो। दक्षिण एसियाली लेखकहरूले खास विषयवस्तुमा लेख्नुपर्छ भन्ने थियो। जस्तै, मागी विवाह। अफ्रिकी-अमेरिकी लेखकहरूलाई पनि त्यस्तै थियो। यो कथा ‘ब्ल्याक क्यारेक्टर’ जस्तो भएन भन्ने खालको। किनभने, उनीहरूको बुझाइमा एसियाली, दक्षिण एसियाली वा ब्ल्याक क्यारेक्टर एउटै खालको हुन्छ भन्ने धारणा थियो। त्यसरी ट्याग लगाइदिँदा मजस्ता धेरैलाई गाह्रो हुने नै भयो। तर मेरो रोचक अनुभव पनि छ। अरेस्टिङ गड इन काठमाडौँ प्रकाशित हुनुभन्दा अगाडि त्यसमा समावेश ‘गुड सप’ भन्ने कथा ‘बेस्ट अमेरिकन स्टोरिज’ ले छनोट गरेको थियो। त्यो बेला मेरो नेपाली पासपोर्ट नै थियो। अमेरिकी कथाको छनोटमा पर्दा मलाई अचम्म लागेको थियो, यो देशमा त नेपालीहरूलाई पनि ‘बेस्ट अमेरिकन’ भनेर राखिदिने रहेछन्। एक प्रकारले अमेरिका एकदम खुला पनि छ। ‘मेकिङ अफ इमिग्रेन्ट राइटर’ भनेर तपाईंले मन्तव्य पनि दिनुभएको थियो नि? प्रायः म स्कुल, कलेजहरूमा मन्तव्य दिन्छु। कारण, एउटा बाटो पनि छ आप्रवासी लेखकलाई। धेरैले डाक्टर, इन्जिनियर बनोस् भनेर सोच्छन्। तर, म नयाँ पुस्तासँग ‘आई फलोड माई प्यासन’ भन्छु। कतिले सुझाव माग्छन्, म ‘यु निड टु फलो योर माइन्ड’ भन्छु। कुनै कार्यक्रममा डाक्टरहरू पनि सहभागी हुन्छन्। उनीहरू पहिले लेख्न मन लाग्थ्यो, करिअर बनाउने क्रममा लेखन छुट्यो भन्छन्। जो लेखनमा फर्किन चाहन्छन्, उनीहरूका लागि पनि हो यो मेरो विचार। आप्रवासीको ‘ट्याग’ बोकेर लेख्दा अमेरिकामा पहिचानको संकट कत्तिको भोग्नुपर्छ? म २१ वर्षको कलिलै उमेरमा अमेरिका पुगेँ। नेपालभन्दा अमेरिकामा धेरै समय बित्यो। समयसँगै लेखकहरूको पनि सोचाइबुझाइ स्थिर हुँदैन। त्यहीअनुसार विश्व पनि बदलिइरहेको छ। म जानेबेला प्रविधिको पहुँच र विस्तार भइसकेको थिएन। अहिले इन्टरनेटले गर्दा संसार नजिकिएको छ। कति कुरा लेख्दा पहिला नेपाली पाठकलाई वा अमेरिकी पाठकलाई बुझाउने गरी लेख्नुपर्थ्यो। अहिले धेरै व्याख्या गर्नुपर्दैन। अमेरिकाको कुरा लेख्दा पनि अहिले नेपाली पाठकले बुझ्छन्। यसले अलिकति सजिलो भएको छ। नेपाल र अमेरिका पहिला जति टाढा थिए, त्यो दूरी धेरै घटेको छ। कतिपय अमेरिकामा पढेका युवा नेपालमा बसेर लेखिरहेका छन्। कति जनाको अमेरिकामै घरबार बसिसक्यो। आफन्तहरू पनि उतै छन्। म वर्षमा दुईपटकजसो नेपाल आउँछु। यो जुन क्याफे छ, हामी बसिरहेको (बौद्धको हिमालयन जाभा), यो ठाउँ र अमेरिकाको कुनै क्याफेबीच धेरै अन्तर छैन। पेय पदार्थ र खाना उस्तै छन्। तपाईंको पहिलो पुस्तक प्रकाशन भएकै २५ वर्ष पुग्यो। स्कुले बेलादेखि नै लेख्न सुरु गर्नुभयो। निरन्तर लेख्दा आफ्नो लेख्ने शैली, विषय छनोट र लेख्ने प्रयोजनमा के फरक पाउनुहुन्छ? सबैभन्दा ठूलो परिवर्तन वा रूपान्तरण, म अचेल राजनीतिक रूपमा बढी सचेत भएको छु। राजनीतिक आन्दोलन र परिवर्तनहरूले पहिलेभन्दा बढी प्रभाव पार्छन्। काठमाडौँमा सेन्ट जेभियर्समा पढेँ। जेभियर्सको आफ्नै एलिट सर्कल थियो। हुन त म मध्यमवर्गीय परिवारमै हुर्केको, तर अमेरिका जाने बेलासम्म पनि राजनीतिक सचेतना खासै थिएन। आंशिक रूपमा नेपालको राजनीतिक उथलपुथलले पनि प्रभाव पार्‍यो। अमेरिकाको राजनीतिक उतारचढावले पनि असर पार्‍यो। ट्रम्पको उदयपछि झन् बढेको छ। रमाइलो कुरा, मैले डार्कमदरल्यान्डमा पीएम पापा नामको तानाशाह चरित्र निर्माण गरेको थिएँ। त्यो बेला ट्रम्प राष्ट्रपति बनिसकेका थिएनन्। ग्रिस यात्राको क्रममा एउटा स्टोर क्लर्कले मलाई सोधेका थिए, ‘सो, डु यु थिंक ट्रम्प विल बी अ प्रेसिडेन्ट?’ युरोपका मान्छेहरूलाई समेत ट्रम्पसँग डर थियो। मैले अनुमानले भनेको थिएँ, ‘ही बिकम्स प्रेसिडेन्ट एन्ड ही अल्सो बिकम्स अ डिक्टेटर।’ दुर्भाग्यवश ट्रम्पले जिते र तानाशाह पनि बने। साथीहरूसँग देख्यौ, मेरो भविष्यवाणी मिल्यो भनेर ठट्टा पनि गर्छु। विश्वकै लागि सबैभन्दा खतरा हुन् ट्रम्प। लेखक उपाध्याय ट्रम्पको उदयपछि आप्रवासी लेखकहरूमा परेको राजनीतिक प्रभाव कस्तो छ? यसले अमेरिकाकै प्राज्ञिकहरूलाई प्रभाव पारेको छ। आज भर्खर युनिभर्सिटी अफ टेक्ससबारे एउटा समाचार पढेँ। युनिभर्सिटी अफ टेक्सस ठूलो युनिभर्सिटी सिस्टम हो। त्यो पूरै दक्षिणपन्थी भएको छ। यो बोर्ड अफ ट्रस्टिजहरूको प्रगतिशीलहरूलाई दबाउने रणनीति हो। हाम्रो इन्डियाना युनिभर्सिटीमा पनि त्यो हुन थालिसक्यो। यस्तो अवस्थाले हामीजस्ता पढाउने र लेख्नेहरूलाई प्रभावित पारिहाल्छ। किनकि, लेखन ‘पुसब्याक’ गर्ने कुरा हो। कलाको काम नै राज्यको दमनविरुद्ध लड्ने हो। त्यसकारण उनीहरूले राजनीतिक रूपमा सक्रिय भएर लेखिरहेका छन्। ट्रम्पको खिल्ली पनि त्यत्तिकै उडाइरहेका हुन्छन्। मान्छेको राजनीतिक सचेतना बढ्ने कारण यही हो। अमेरिकी राजनीति ट्रम्पअघि अलि शान्त थियो। इराक युद्धपछि अलि बढ्दै गयो। अहिले त एकदम ‘हाई टर्न्ड अवेरनेस’ छ। कति लेखकहरूले अमेरिका छोड्ने स्थिति आइरहेको छ। अमेरिका प्रवेश गर्ने बेलाको तपाईंको लेखनको उद्देश्य र प्रयोजन अहिले पनि उस्तै छ कि फेरियो? म ६१ वर्षको भएँ। यो चरणमा म करिअरकै सिर्जनशील समयमा भएको महसुस गरिरहेको छु। यो मेरो लागि ठूलो आशीर्वाद हो जस्तो लाग्छ। यो उमेरमा आएर सात वटा किताब लेखिसक्दा पनि अझै धेरै लेख्न सक्छु भन्ने भइरहेको छ। लेखिरहेको पनि छु। किताब बिक्नु, चर्चा हुनु सहायक कुरा भए। अन्तर्राष्ट्रियस्तरमै चर्चा र अवार्ड पनि पाएँ। तर, नयाँ नयाँ अवधारणामा बसेर लेख्नुजस्तो आनन्द कुनै पुरस्कारले दिँदैन। कुनै समीक्षाले दिँदैन। यो ‘फिलिङ अफ जोय’ नै मेरो प्राप्ति हो। म विद्यार्थीहरूलाई पनि भन्ने गर्छु– तिमीहरूले दिमागमा राख्नुपर्ने मुख्य कुरा यही हो। र, यही नै दिगो हुन्छ। तपाईंको लेखन प्रक्रिया के हो? कथा, विषय वा चरित्र निर्माणका स्रोत के हुन्? म धेरै सूत्रमा चल्दिनँ। म आज न्युरोड जान्छु, अनि यो हेर्छु, यो कुरा टिप्छु भन्ने हुँदैन। यत्तिकै घुमफिर गर्ने क्रममा अवलोकन गरिरहेको हुन्छु। ससाना कुरा, परिवर्तनहरू याद गरिन्छ, तुलना हुन्छ। लेख्ने बेला ती कुरा स्वस्फूर्त रूपमा आउँछन्। अनुसन्धानको खाँचो पर्दैन? अनुसन्धान पनि गर्छु। जस्तै, राजनीतिक सन्दर्भ र आन्दोलनका कुराहरू। बुद्धज अर्फान्स लेख्दा राजा महेन्द्रको पालादेखिको कुरा थिए। म सन् १९६० को दशकमा जन्मेको, उपन्यासमा अगाडिको समयका कुरा पनि समावेश गरेको थिएँ। १९९० सालको भुइँचालोको प्रसंग पनि थियो। ती सबै कुरा लेख्न किताब पढ्नेबाहेक मान्छेहरूसँग पनि कुराकानी गर्नुपर्छ। मेरै श्रीमतीकी बूढी हजुरआमासँग पनि कुरा गरेँ। प्रत्येक किताब लेख्दा म यस्तो अनुसन्धान गर्छु, तर पहिलो चरणको मस्यौदा लेखेपछि मात्र। म विद्यार्थीहरूसँग पनि सिकिरहेको हुन्छु। उनीहरूलाई पढाउन र अन्तरक्रिया गर्दा पनि पढ्नुपर्छ। तर, साहित्य लेख्नेले आफ्नै क्षेत्रको मात्र पढ्नुपर्छ भन्ने छैन। उपन्यास लेख्दा म उपन्यास पढ्दिनँ। कथासंग्रह, गैरआख्यान पढ्छु। तपाईंका आख्यान नेपालमै केन्द्रित छन्। नेपालबाट टाढा बस्दा पनि यहीँको विषयमा लेखिरहन के कुराले उत्प्रेरित गर्छ? ‘आई एम फुल ब्लेन्डेड नेपाली’। यहीँ जन्मेँ, हुर्कें, र अझै यो ठाउँ, परिवेश र यहाँका मान्छेसँग सम्बन्ध जोडिएकै छ। नेपाली मनोविज्ञान राम्रो बुझ्छु भन्ने लाग्छ। यिनै कुराले उत्प्रेरित गर्छन्। अमेरिकामै रहेका आप्रवासी नेपालीको कथा लेख्न चाहिँ कत्तिको रुचि छ? भारतीय, दक्षिण कोरियाली, चिनियाँ, भियतनामी, नर्वेजियन आप्रवासीले साहित्य र सिनेमाका कथा त लेखिरहेकै छन्? हालै एउटा उपन्यासको मस्यौदा गरिरहेको छु। त्यसमा एक जना नेपाली प्रोफेसरले अमेरिका पुगेर गरेको संघर्षको कथा छ। अर्को सकाउन लागेको कथासंग्रहमा पचास प्रतिशत कथा आप्रवासी नेपालीकै विषयमा छ। मेरा लागि लेख्ने प्रेरणा स्वतः आउनुपर्छ। यसबारे लेख्छु भनेर लेख्दिनँ। तर, मेरो रुचि आप्रवासी नेपालीतिर पनि बढ्दै छ। बौद्धमा आफ्ना पाठकसँग लेखक उपाध्याय कथाभित्र आफ्नै भोगाइ, अनुभव राख्ने/नराख्ने भन्ने कुरा कत्तिको चेतन वा अवचेतन हुन्छ? प्रारम्भिक मस्यौदामा यो अवचेतन नै हुन्छ। त्यसपछि आलोचनात्मक हिसाबले के राख्ने/नराख्ने भन्ने निर्णय गर्छु। लेखनमा के भन्छन् भने, सुरुआती उपन्यास एकदम ‘अटोबायोग्राफिकल’ हुन्छ रे! मेरो हकमा भने जुन पहिलो उपन्यासको मस्यौदा थियो, त्यो अर्कै विषयमा थियो। उपन्यास आफैँलाई झुर लागेकाले नष्ट गरिदिएँ। लेखकले आफ्नो अनुभव लेखनमा ल्याउनु सामान्य हो। तर, म त्यसलाई रूपान्तरण गर्छु। द गुरु अफ लभमा मैले बुवाले घरमा ट्युसन पढाएको सेटिङ प्रयोग गरेँ। किनभने, घरमा विद्यार्थी आइरहन्थे। मलाई ट्युसनको सेटिङ राम्ररी थाहा थियो। तर, उपन्यासको मुख्य पात्र मेरा बुवा होइनन्। पहिलो किताब लेखेपछि दोस्रो लेख्न पहिलेजस्तो संघर्ष गर्नुपर्छ कि पर्दैन? पर्छ नि। पहिला लाग्थ्यो, एउटा किताब निक्लेपछि त भटट लेख्न आइहाल्छ। तर, ठीक उल्टो भयो। हरेक किताब लेख्ने बेला झन् झन् गाह्रो भएर आउँछ। आफ्नै अपेक्षा पनि बढ्ने रहेछ। एक प्रकारले त्यो चुनौती राम्रो पनि हो। त्यसले मान्छेलाई स्थिर भएर बस्न दिँदैन। लेखकहरूले आफूलाई सचेत रूपमै चुनौती दिनुपर्छ। यही नै सिकाइको प्रक्रिया हो। यो कुरा आयो, अब म विज्ञ भएँ भन्ने साहित्यमा हुँदैन। अब लेख्नै सक्दिनँ जस्तो पनि हुन्छ? त्यो त भइरहन्छ। त्यस्तो बेला कसरी अघि बढ्नुहुन्छ? नियमित लेख्ने अभ्यासले त्यो समस्या अलिकति घट्छ। कुनै दिन राम्रो अनि कुनै दिन खराब हुन्छ भनेर पनि सोच्छु। र, फेरि लेख्न थाल्छु। औसतमा दैनिक कति लेख्नुहुन्छ? कक्षा हुँदा कम्तीमा एक घन्टा। तर, लामो बिदाको फुर्सदमा धेरै लेख्छु। लेख्ने कुनै नियम छ? त्यस्तो नियम छैन। लेखनका केही चरण हुन्छन्। पहिलो चरणमा आफ्नो ‘इन्टुइसन’ वा ‘फ्लो’ मा लेख्छु। उपन्यास लेख्दा खाका बनाएर लेख्दिनँ। पहिलो मस्यौदा बनेपछि के कथा भन्न खोजेको हो, त्यसमै केन्द्रित हुन्छु। त्यसपछि आलोचनात्मक दृष्टिले हेरेर मिलाउनुपर्ने कुराहरू मिलाउँछु। डार्कमदरल्यान्ड २० भन्दा धेरैपटकको ड्राफ्ट फाइनल भएको हो। मेरो पहिलो ड्राफ्ट प्रायः छिटो हुन्छ। कथा आफ्नै तरिकाले जान दिन्छु। दोस्रो ड्राफ्टको गति अलि कम हुन्छ। पुनरवलोकन र पुनर्लेखनको चरणमा अझ बढी मिहिनेत गर्नुपर्छ। यतिबेला सुरुमा लेख्नुभन्दा गाह्रो हुन्छ। पहिला म एकै ठाउँमा बसेर लेख्थेँ। आजकल जहाँ पनि लेख्छु। एयरपोर्टमा पनि लेख्छु। तीन वर्षअघि सगरमाथा आधार शिविरको उचाइमा फोनमा पहिलोपटक लेखेँ। मैले फोनमा लेखुँला भनेर त कहिल्यै चिताएको थिइनँ। नत्र त म हातैले लेख्छु। साधारण नोटकपीमा लेख्छु। तपाईंका लागि कथा र उपन्यासमा फरक के छ? एउटै लेखकले दुवै विधामा किन लेख्नुपर्‍यो? उपन्यास एकदम चुनौतीपूर्ण हुन्छ। उपन्यास पूरा नभएसम्म लेखेको लेख्यै। त्यसले काम गर्छ कि गर्दैन पनि थाहा हुँदैन। लामो समय खर्चेर असफल भइयो भने समय खेर जान्छ। उपन्यास लेख्न लामो समय लाग्ने भएकोले म कथाहरू पनि लेख्छु। छोटो समयमै सकिने भएकाले कथा लेख्दा आनन्द पनि आउँछ। तर, दुवैको आफ्नै सौन्दर्य छ। लेख्ने बेला विषय आफैँले पनि विधा माग गर्छ। अमेरिकामा तपाईंको दिनचर्या कस्तो छ? म बिहान उठेर दैनिक कम्तीमा एक घन्टा लेख्छु। पढाउने समय रोज्न पाइन्छ, बिहानकै कक्षा लिन्छु। १२ बजेतिर पढाउने काम सकिएपछि घर आएर लन्च खान्छु। एकछिन सुत्छु पनि। उठेपछि विद्यार्थीले लेखेका कुरा पढ्ने, सम्पादन गर्ने कामले व्यस्त बनाउँछ। यो मेरा लागि एकदम राम्रो हो। साहित्य लेख्ने मान्छे साहित्यै पढेर बाँच्न पाएको छु।