चुनावी तालमेल बनाउन राष्ट्रिय सभाको सिट बाँडफाँट : कांग्रेस– ८, एमाले– ६, नेकपा र उपेन्द्र–महन्थलाई २–२ सिट - bishwokhabar.com
काठमाडौं– जेनजी आन्दोलनको धक्काले सत्ता–राजनीतिबाट टाढिएका विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने गरी सिट बाँडफाँटको नीतिगत सहमति गरेका छन् । बुधबार मनोनयनको कार्यतालिका रहे पनि दलहरूले सोमबार रातिसम्म सिट बाँडफाँट टुंग्याएका छैनन् । तर, विभिन्न चरणमा छलफल भइरहेको र मनोनयनपूर्व टुंगिने आफैँ प्रतिस्पर्धी र आफैँ साझेदार बन्ने प्रयासमा रहेका दलका उच्च नेताहरूले बताएका छन् । माघ ११ गते १८ सिटका लागि हुने निर्वाचनमा सिट बाँडफाँटका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ‘नीतिगत सहमति’ जुटिसकेको छ । संख्या टुंग्याउन शीर्ष तथा दोस्रो तहका नेताहरूबिच चरणबद्ध छलफल जारी छ । यसमा मधेसकेन्द्रित जसपा नेपाललाई पनि सामेल गर्ने तयारी छ । अहिलेसम्मका अनौपचारिक छलफलमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुनलगायत सामेल छन् । राष्ट्रिय सभाबारे छलफल गर्न कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति र एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । नेकपाले पनि शीर्ष नेताहरूबिच छलफल गर्नेछ । सम्भावित गठबन्धनबारे दलका बैठकमा समेत छलफल थालिएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेशी मोर्चाका दलसँग छलफल भइरहेको ब्रिफिङ गरेका छन् । संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिलेर जानुपर्ने अवस्था रहेको उनले बैठकमा सुनाएका छन् । ‘हुन त एक्लाएक्लै लड्दा पनि कांग्रेसको पोजिसन राम्रै हुन्छ । यदि, हामीले तालमेल नगर्ने र अरूले तालमेल गर्ने स्थिति बन्यो भने नतिजा राम्रो आउँदैन । त्यसैले सहमतिमै अगाडि बढ्नुपर्ने अवस्था छ,’ खड्काको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘फेरि अहिले संविधान निर्माण गर्ने र रक्षा गर्ने शक्तिहरू मिल्नुपर्ने अवस्था पनि छ । कांग्रेसको आठ–नौ सिट हुने गरी छलफल अघि बढेको छ । छलफल गर्दै जाँदा त्यसमा केही तलमाथि हुन सक्छ ।’ खड्काले एक चरणमा दलहरूसँग छलफल भएको र थप छलफल गरेर केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले निर्णय गर्ने बताएका छन् । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरूबिच न्यूनतम सहमति गरेर जाने बताए । ‘नेतृत्व तहबाट कुराकानी भइरहेको छ । दलहरूसँगको छलफलको आधारमा भोलि (मंगलबार)को बैठकबाट निर्णयमा पुग्छौँ,’ महतले भने । यस्तै, एमाले सचिव डा. राजन भट्टराईले मधेशकेन्द्रित दललाई समेत साथमा लिएर एमाले, नेकपा, कांग्रेसबिच राष्ट्रिय सभा निर्वाचनमा सहमति निर्माणको प्रयास भइरहेको बताए । ‘तीन दल र मधेशकेन्द्रित दलहरूसमेतको सहमतिमा राष्ट्रिय सभामा सिट बाँडफाँटका विषयमा छलफल भइरहेको छ,’ भट्टराईले भने, ‘यसले संविधान पक्षधर शक्तिहरू एक ठाउँमा छन् भन्ने सन्देश दिनेछ र प्रमुख दलहरू एक ठाउँमा उभिँदा भविष्यमा संविधान संशोधन गर्ने वेलामा पनि सजिलो हुनेछ ।’ नेकपाका नेता देव गुरुङले सिट बाँडफाँट गरेर जाने विषयमा सहमतिमा पुग्न बाँकी रहेको बताए । ‘हाम्रो संयोजकले चुनावी वातावरणलगायतका बारेमा दलका शीर्ष नेताहरूसँग छलफल गरिरहनुभएको छ । तर, राष्ट्रिय सभामा सिट तालमेलका विषयमा ठोस रूपमा छलफल पनि हुन बाँकी छ,’ गुरुङले भने । नेकपाका अर्का नेताले भने प्रमुख दलहरूबिच नीतिगत सहमति भएको, सिट संख्यामा बाँकी रहेको बताए । लोसपा नेपालका महासचिव डा। सुरेन्द्र झाले राष्ट्रिय सभामा चुनावी तालमेलबारे दलहरूबिच छलफल भइरहेको बताए । ‘हामी तालमेल गरेर जान्छौँ । यसबारेमा नीतिगत सहमति छ,’ उनले भने, ‘छिट्टै हामी टुंग्याउँछौँ ।’ राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेलले भविष्यमा चुनावी तालमेलका लागि विश्वास बनाउन अहिले सिट बाँडफाँट गर्न खोजेको हुन सक्ने बताए । ‘राष्ट्रिय सभाका मतदाता दलहरूका नियन्त्रित व्यक्ति हुन्, आममतदाता होइनन् । यो जनमतसँग प्रत्यक्ष जोडिएको निर्वाचन पनि होइन । त्यसकारण यसमा सिट बाँडफाँट वा गठबन्धनलाई ठिक वा बेठिक भन्नु आवश्यक छैन,’ उनले भने, ‘तर, प्रमुख दलहरूले भविष्यमा चुनावी तालमेलका लागि आपसमा सद्भावको वातावरण बनाउन अहिले सिट बाँडफाँट गर्न लागेका हुन सक्छन् । अहिलेका ठुला दलहरूमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ दलहरूसँग हारको डर छ । यही मनोविज्ञानले गर्दा उनीहरूले भविष्यमा तालमेलको मार्गप्रशस्त गर्ने आधार बनाउन लागेका छन् । अबको चुनाव उनीहरूका लागि निकै नै चुनौतीपूर्ण नै छ ।’ २१ फागुनमा राष्ट्रिय सभाका १९ सांसदको पदावधि सकिँदै छ । जसमध्ये १८ जनाको निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । एमालेका आठ, तत्कालीन माओवादी केन्द्रका सात, तत्कालीन एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एकजनाको पदावधि सकिँदै छ । जसपा नेपाल र लोसपा नेपालबिच एकता भइसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुस बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका राखेको छ । त्यस्तै, २४ पुसमा दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सांसद, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन् । सिट बाँडफाँटमा नेताहरूको ‘बार्गेनिङ’ अहिलेसम्मका अनौपचारिक छलफलमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुनलगायत सामेल छन् । छलफलमा कांग्रेस– ८, एमाले–६, नेकपा र जसपा नेपाल २–२ सिट बाँडफाँट गर्ने कांग्रेस नेताहरूको प्रस्ताव छ । ‘यो अडानभन्दा विकल्पका रूपमा छलफल भएको छ, पार्टीको अडानको तहमा हामी गएकै छैनौँ,’ वार्ताबारे जानकार एक शीर्ष नेताले भने, ‘एमाले पक्षबाट कांग्रेस र एमाले सात–सात, नेकपा र जसपा नेपाल दुई–दुई भनिएको छ, नेकपाबाट कांग्रेस– सात, एमाले– पाँच, नेकपा– चार, जसपा नेपाल–दुई भनिएको छ ।’ बुधबार मनोनयनपूर्व निर्णय गर्नुपर्ने भएकाले कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति र एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । नेकपाले पनि शीर्ष नेताहरूबिच छलफल गर्नेछ । १८ मध्ये कुन प्रदेशबाट कति सांसद चुनिँदै छन् ? २१ फागुनमा कार्यकाल सकिने १९ मध्ये १८ सांसदका लागि ११ माघमा राष्ट्रिय सभाको निर्वाचत हुँदै छ । सात प्रदेशमा हुने भिन्नाभिन्नै मतदानबाट चयन भएर आउनेछन् । निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका मेयररउपमेयर मतदाता हुन् । कार्यकाल समाप्तिसँगै रिक्त क्लस्टरअनुसार नै निर्वाचन हुनेछ । जसअनुसार सबैभन्दा बढी मधेशबाट चारजना चुनिनेछन् । जसमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यबाट एक–एकजना निर्वाचित हुनेछन् । त्यस्तै, कोशीबाट महिला, दलित र अन्य एक–एक गरी तीनजना, बागमतीमा महिला र अन्य एक–एक गरी दुईजना, गण्डकीमा महिला र अन्य एक–एक गरी दुईजना चयन हुँदै छन् । यसबाहेक लुम्बिनीबाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य एक–एक गरी तीनजना, कर्णालीमा महिला र अन्य एक–एक गरी दुईजना र सुदूरपश्चिममा महिला र अन्य क्लस्टरमा एक–एक गरी दुईजना निर्वाचित हुनेछन् । भविष्यमा चुनावी तालमेलका लागि विश्वास बनाउन अहिले सिट बाँडफाँटराजनीति विज्ञहरुका अनुसार राष्ट्रिय सभाका मतदाता दलहरूका नियन्त्रित व्यक्ति हुन्, आममतदाता होइनन् । यो जनमतसँग प्रत्यक्ष जोडिएको निर्वाचन पनि होइन । त्यसकारण यसमा सिट बाँडफाँट वा गठबन्धनलाई ठिक वा बेठिक भन्नु आवश्यक छैन । तर, प्रमुख दलहरूले भविष्यमा चुनावी तालमेलका लागि आपसमा सद्भावको वातावरण बनाउन अहिले सिट बाँडफाँट गर्न लागेका हुन सक्छन् । अहिलेका ठुला दलहरूमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ दलहरूसँग हारको डर छ । यही मनोविज्ञानले गर्दा उनीहरूले भविष्यमा तालमेलको मार्गप्रशस्त गर्ने आधार बनाउन लागेका छन् । अबको चुनाव उनीहरूका लागि निकै नै चुनौतीपूर्ण रहेको राजनीति विज्ञहरु बताउँछन् । –पत्रपत्रिकाबाट