Redirecting...

तेहरानमा पानी संकट चुलिँदै गएपछि खपत घटाउन राष्ट्रपतिको आग्रह - ukaalo.com

तेहरानमा पानी संकट चुलिँदै गएपछि खपत घटाउन राष्ट्रपतिको आग्रह - ukaalo.com
Source: uklo

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले राजधानी तेहरानमा खानेपानीको चरम संकट आउन सक्ने चेतावनी दिँदै खपत कम गर्न नागरिकलाई आग्रह गरेका छन्। उनले केही महिनाभित्रै तेहरानलाई पानी आपूर्ति गर्ने बाँध सुक्न सक्ने बताए। “यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौँ भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,” राष्ट्रपति पेजेस्कियानले जान्जानको भ्रमणका क्रममा भने। उनले अक्टोबरसम्म विद्यालय खुल्ने र वर्षायाम शुरू हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण अझ घट्न सक्ने उल्लेख गरे। इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार, तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ। राष्ट्रियस्तरमा भने औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ। तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीका अनुसार, शहरलाई आपूर्ति गर्ने जलाशयहरूको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ। पानीको आपूर्तिमा हुने अवरोधको सामना गर्न अधिकारीहरूले स्थानीय बासिन्दालाई पानीको ट्याङ्की र पम्पहरू जडान गर्न तथा पानीको संरक्षण गर्न आग्रह गरेका छन्। हालैका हप्ताहरूमा धेरै घरधुरीले बारम्बार खानेपानीको आपूर्तिमा समस्या भएको गुनासो गरेका छन्। इरानी सञ्चारमाध्यमले भने घरायसी पानीको प्रयोगमा सरकारको ध्यान केन्द्रित भएकोमा प्रश्न उठाएका छन्। सुधारवादी दैनिक शार्गले आइतबार लेखेको छ, “देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ। अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्ताहरूमाथि औँला उठाएका छन्।” पानीको स्रोतको अभावको औपचारिक घोषणा नगरिए पनि देशभर दैनिक कम्तीमा दुई घण्टा विद्युत् कटौती भइरहेको छ। ग्रिडमाथिको दबाब कम गर्न केही क्षेत्रमा दिनमा एक पटकभन्दा बढी विद्युत् अवरुद्ध हुने गरेको अधिकारीहरूले स्वीकारेका छन्। गत हप्ता तेहरानलाई आपूर्ति गर्ने प्रमुख पानीका स्रोतमध्ये एक करज बाँधका निर्देशक मोहम्मद अली मोलेमले मेहर न्यूज एजेन्सीसँग भने, “हाइड्रोइलेक्ट्रिक प्लान्ट हाल सञ्चालनमा छ। अर्को दुई हप्ताभित्र पानीको स्तर यस्तो बिन्दुमा झर्नेछ कि यसबाट बिजुली उत्पादन सम्भव हुनेछैन।” अधिकारीहरूले गत महिना इजरायलसँगको १२ दिने युद्धको प्रभावले पनि यो अभावमा भूमिका खेलेको हुनसक्ने बताएका छन्।