काठमाडौँमा सम्भावित डुबान र कटान रोक्न बक्स कल्भर्ट निर्माण - kendrabindu.com
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम कम गर्न बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ। कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने जानकारी दिनुभयो। सम्झौता रकम रु ५७ लाख ७२ हजार ६९४ निर्धारण गरिएको छ। कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ। सबइन्जिनियर शाहीका अनुसार हाल त्यहाँ ह्युमपाइप राखिएको छ, जुन पुरानो भइसकेको छ र बर्खामा पानी निकास अवरुद्ध हुने अवस्था देखिन्छ । कल्भर्ट निर्माणको क्रममा सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजार र रामशाह पथ हुँदै पुतलीसडक जाने सवारीका लागि वैकल्पिक मार्ग व्यवस्था ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी गरिनेछ । यसैगरी धोवीखोला नजिक रोजबर्ड स्कुलमा पनि बक्स कल्भर्ट निर्माण हुँदैछ। सम्झौता रकम रु २ करोड २१ लाख २३ हजार ८९९ निर्धारण गरिएको छ। लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको कल्भर्ट २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ । यो क्षेत्रमा रहेको पुरानो फलामे पुल २०८० सालको बाढीले क्षति पुगेको थियो। वडा नं ११ का अध्यक्ष हीराला तण्डुकारका अनुसार वडाले निर्माण योजना बनाएको थियो र अहिले महानगरपालिकाको बजेटबाट कार्य अघि बढाइएको छ ।