कुमारी बैंकको ‘ग्रिन हायर पर्चेज कर्जा’ - ehimalayatimes.com
काठमाडौं । दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रोडक्ट, प्रक्रिया तथा पार्टनरसिपहरूमार्फत् टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकास लक्ष्यहरू हासिल गर्न प्रतिबद्ध बैंकले जिआइजेड, ग्लोबल ग्रिनग्रोथ इष्टिच्युट जस्ता संस्थाद्वारा व्यवस्थापन तथा प्रवद्र्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्तर्गत साझेदारी गर्दै यस्तो योजना सञ्चालनमा ल्याएको हो । योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नुपर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानसमेत पाउनेछन् । त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्न कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसका लागि ऋणीहरूले परियोजनामा आबद्ध सवारी साधन आपूर्तिकर्ताबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न आवश्यक कागजातसहित कुमारी बैंकका शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ । योजनाअन्तर्गत समावेश अनुदानहरूले ऋणीको सुरुवाती पुँजी व्यवस्थापनमा सहुलियत हुनेछ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन प्रयोगसँगै प्रदूषणसमेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभ प्राप्त हुने बैंकका दिगो बंैकिङ विकास विभागका प्रमुख अर्पण पौडेल बताउनुहुन्छ ।