देश बनाउने हुटहुटी बोकेर रास्वपामा आबद्ध भएको हुँ : डा. धनञ्जय रेग्मी - ehimalayatimes.com
स्याङ्जा । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले देश निर्माणप्रतिको गहिरो प्रतिबद्धता र हुटहुटीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको स्पष्ट पार्नुभएको छ। स्याङ्जाको पुतलीबजार नगर कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै डा. रेग्मीले बाल्यकालदेखि नै नेपाली कांग्रेसको विचारधारामा आबद्ध रहेपनि विगतका अनुभवहरूबाट पुराना दलहरूबाट मुलुकको रूपान्तरण सम्भव नदेखिएकाले वैकल्पिक शक्तिको रूपमा रास्वपाको यात्रा सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “म कुनै पद वा अवसरको खोजीमा होइन, देश बनाउने हुटहुटी बोकेर रास्वपामा आएको हुँ। तर, मलाई नबुझीकन विभिन्न आरोप लगाइएको छ, ती सबै आरोपहरू तथ्यहीन र भ्रामक छन् भन्नेमा यहाँ उपस्थित सबै साथीहरू स्पष्ट हुनुहुन्छ भन्ने विश्वास लिएको छु।” डा. रेग्मीले पर्यटन बोर्डमा कार्यरत रहँदा पर्यटन क्षेत्रप्रति कुनै पनि निकायको गम्भीर चासो नदेखिएको उल्लेख गर्दै, तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले कानुन विपरीतका काम गर्न दबाब दिँदा अस्वीकार गरेकै कारण आफूलाई अनावश्यक विवादमा तानिएको खुलासा गर्नुभयो। उहाँले आफूविरुद्ध गरिएको नकारात्मक प्रचारको खण्डन गर्दै सत्य तथ्यका आधारमा मूल्यांकन गर्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै क्षेत्रीय संयोजक उमा फुयाँलले डा. रेग्मीको रास्वपामा प्रवेशले कार्यकर्ताहरूमा नयाँ उत्साह थपिएको बताउनु भयाे। साथै, अन्य राजनीतिक दलहरूले उहाँको पृष्ठभूमि बदनाम गर्न भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै त्यसप्रति सजग रहन अपिल गर्नुभयो। युवा नेता बोधराज रेग्मीले स्याङ्जाका ११ वटै पालिकामा रास्वपाको प्रभाव बढ्दै गएको उल्लेख गर्दै, पुराना दलहरू आत्तिएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीभित्र पवित्रता र शुद्धता कायम रहनु आवश्यक रहेको र प्रत्येक सदस्यले आफू जनताको नजरमा कस्तो देखिन्छु भन्ने आत्ममूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो। गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी खनालले डा. रेग्मीको सक्रिय सहभागिताले स्याङ्जा जिल्लामा रास्वपाको गतिविधि र गति थप सशक्त भएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रम पुतलीबजार नगर कमिटीका अध्यक्ष डा. बसन्त पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर उपसभापति गुरूप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वेदप्रसाद दोरङ्गाले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सभापति रूक्माङ्गत भण्डारीलगायत विभिन्न नेताहरूले पनि विचार व्यक्त गर्नुभएकाे थियाे ।