भारतलाई दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज - ehimalayatimes.com
नयाँदिल्ली । भारतले दक्षिण अफ्रिकालाई तेस्रो एकदिवसीय खेलमा ९ विकेटले पराजित गरेको छ । जितसँगै तीन खेलको वनडे सिरिज भारतले २-१ ले आफ्नो बनाएको छ । शनिबार भएको निर्णायक खेलमा दक्षिण अफ्रिकाले क्विन्टन डिककको शतकीय इनिङ्सको सहायताले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २७० रनको चुनौती पेश गरेको थियो । जवाफमा भारतीय टोलीले प्रभावशालीरूपमा रन चेग गर्दै ६१ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो । यशस्वी जयसवालले अविजित शतक प्रहार गर्नुभयो । १२१ बल खेल्नुभएका उहाँले १२ चौका र २ छक्कासहित ११६ रनमा अविजित रहनुभयो । उहाँको यो पहिलो शतक हो । रोहित शर्माले ७५ र विराट कोहलीले अविजित ६५ रन बनाउनुभयो । तीनै ब्याटरको उत्कृष्ट प्रदर्शनमै भारतले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जित सुनिश्चित गरेको हो । त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २७० रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका क्विन्टन डेककले १०६ रन बनाउनुभयो । भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिनुभयो । दुई टोलीबीचको ५ टी-२० शृंखला डिसेम्बर ९ बाट सुरु हुनेछ । दक्षिण अफ्रिकाले टेष्ट शृंखला २-० ले जितेको थियो । रोहितले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गर्नुभएको छ । उहाँ २० हजार रन बनाउने चौथो भारतीय ब्याटर बन्नुभएको हो । उहाँभन्दा अगाडि सचिन तेन्दुलकर, विराट कोहली, राहुल द्रविडले यो उपलब्धि हासिल गरिसक्नुभएको छ । एजेन्सी