मौसम पूर्वानुमान महाशाखाले भन्यो केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना - www.onlinepana.com
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । मधेश र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा हुनेछ । The post मौसम पूर्वानुमान महाशाखाले भन्यो केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).