पौराणिक आख्यान ‘शैलसुते’ लोकार्पण - sahityapost.com
काठमाडौं । साहित्यकार किरण आचार्य द्वारा लिखित पौराणिक आख्यान ‘शैलसुते’ एक समारोहका बीच लोकार्पण गरिएको छ। शिखा बुक्स द्वारा आयोजित कार्यक्रममा आख्यानकार तथा पत्रकार कमल रिजाल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, पठन संस्कृतिका अभियन्ता तारा रेग्मी, लेखक आचार्य तथा प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे । कार्यक्रममा तारा रेग्मीले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै अनुसन्धान र खोजमा आधारित भएकाले उपन्यास सशक्त बनेको धारणा व्यक्त गर्नुभयाे । शिक्षकहरूले एउटै उपन्यासमार्फत विविध पौराणिक सन्दर्भ अध्ययन गर्न सक्ने उल्लेख गर्दै उहाँले कृतिको विषयवस्तु रोचक र प्रभावशाली रहेको बताउनुभयाे । समालोचक राजकुमार बानियाँले ‘शैलसुते’ लाई दुर्लभ र मौलिक साहित्यिक कृति भएको उल्लेख गर्दै नेपाल मात्र नभई भारतमा समेत माता पार्वतीका विषयमा यस्तो आख्यान कमै भेटिने बताउनुभयाे । उहाँले उपन्यासलाई विशिष्ट गुणयुक्त कृतिका रूपमा चर्चा गर्दै यसको साहित्यिक महत्त्वबारे प्रकाश पार्नुभयाे । आख्यानकार कमल रिजालले पौराणिक आख्यान लेखनका लागि दीर्घ साधना र समर्पण आवश्यक पर्ने उल्लेख गर्दै ‘शैलसुते’ पौराणिक नारी पात्रमा केन्द्रित सशक्त कृति भएको बताउनुभयाे । कथन शैली र विषयवस्तुले पाठकमा कौतूहल जगाउँदै अन्तिमसम्म तानिराख्ने क्षमता रहेको उहाँको भनाइ थियो। लेखक किरण आचार्यले आफ्नो सिर्जनात्मक प्रयासलाई पाठकले अध्ययन गरी सुझाव–सल्लाह दिन आग्रह गर्नुभयाे । उहाँले लेखन यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे । यसअघि आचार्यका ‘जत्कारु’, ‘परशुराम’ र ‘अहिल्या’ जस्ता पौराणिक पात्रमा आधारित उपन्यास प्रकाशित भइसकेका छन्। ‘शैलसुते’ शिखा बुक्सद्वारा प्रकाशित कृति हो, जसको मूल्य ७ सय ९५ रुपैयाँ राखिएको छ।