Redirecting...

कान्ति बाल अस्पतालको १ हजार शैया विस्तार योजना डिपीआरमै सीमित - nagariknews.nagariknetwork.com

कान्ति बाल अस्पतालको १ हजार शैया विस्तार योजना डिपीआरमै सीमित - nagariknews.nagariknetwork.com
Source: ngrk

कान्ति बाल अस्पताललाई १ हजार शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने गुरुयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मै सीमित भएको छ।मंगलबार अस्पतालको ६४ औं वार्षिकोत्सवका अवसरमा निर्देशक डा. पंकज रायले सहरी विकास तथा भवन निर्माण विभागबाट डिपीआर स्वीकृत भए पनि थप प्रक्रिया अगाडि नबढेको गुनासो गरेका हुन्।अस्पतालको भवन निर्माण तथा विस्तारसम्बन्धी गुरुयोजना सन् २०२२ मै स्वीकृत भई १६ औं पञ्चवर्षीय योजनामा समेत समावेश भइसकेको छ।नेपालकै एक मात्र केन्द्रीय बाल अस्पताललाई १ हजार शैयामा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्ने, बालरोग अध्ययन केन्द्रका रूपमा विकास गर्ने र विशिष्टीकृत सेवाका लागि दक्ष चिकित्सक उत्पादन गर्ने लक्ष्य सहित यो योजना अघि सारिएको थियो।निर्देशक रायले डिपीआर तयार भए पनि निर्माण कार्य अघि बढ्न नसकेको बताए। ‘गत आर्थिक वर्षमै भवन निर्माणको ठेक्का प्रक्रियामा जानुपर्नेमा अहिलेसम्म काम अघि बढ्न सकेको छैन,’ उनले भने।उनले रोकिएका प्रक्रिया पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गर्दै भने, ‘यही वर्षभित्र मन्त्रीज्युकै कार्यकालमा शिलान्यास होस् भन्ने चाहन्छौँ।’कार्यक्रमकी प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले कान्ति बाल अस्पताल बालबालिकाको भविष्यसँग जोडिएकाले यसको विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।‘अबोध बालबालिका बोल्न सक्दैनन्, उनीहरूका लागि बोल्ने हामीले हो,’ उनले भनिन्। मन्त्री शर्माले अस्पतालमा आउने अधिकांश बिरामी न्यून आय भएका र दुर्गमबाट रेफर भएर आउने भएकाले उनीहरूलाई उचित व्यवहार र परामर्शसहित सेवा दिन सुझाव दिइन्।साथै, उनले अस्पताल विस्तार गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रियामा जान पनि निर्देशन दिइन्।सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले १ हजार शैयाको अस्पताल निर्माणका लागि स्पष्ट ढाँचा र योजनासहित आउनुपर्ने बताए।‘अस्पतालका सबै विभागका प्रमुखहरूसँग छलफल गरी प्रस्ताव लिएर आएमा अर्को आर्थिक वर्षमा थप प्रक्रिया अघि बढाउन सकिन्छ,’ उनले भने।वि.सं. २०१७/१८ सालमा वीर अस्पतालबाट अलग भई सेवा सुरु गरेको यो अस्पताल हाल ३ सय ७२ शैयामा सञ्चालित छ। अस्पतालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २ लाख २५ हजार बिरामीले सेवा लिएका छन्। तीमध्ये ६९.७ प्रतिशत भर्ना दर रहेको छ।एक वर्षको अवधिमा अस्पतालमा १० हजार ५ सय ६५ जना भर्ना भई उपचार गराएका छन्। सोही अवधिमा ३ हजार १ सय ३० वटा शल्यक्रिया गरिएको छ।अस्पतालले विपन्न नागरिकका लागि उपचारमा उल्लेख्य सहुलियत प्रदान गरेको छ। गत आर्थिक वर्षमा ५ हजार ५ सय ९९ जनालाई उपचारमा छुट दिइएको छ। जसबापत ३ करोड ८४ लाख ७२ हजार ८ सय ९६ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।हाल अस्पतालमा विकास समितितर्फ २०७, सरकारी दरबन्दीतर्फ २६४, साइक्याट्रिक करारतर्फ ५१, सेवा करार (टेन्डर) मार्फत १२७ र आइसियु करारतर्फ ८१ गरी कुल ७ सय ९८ जना कर्मचारी कार्यरत छन्।अस्पतालले भोगचलन गरेको ९७ रोपनी जग्गामध्ये ७० प्रतिशतको लालपूर्जा प्राप्त भएको र बाँकी ३० प्रतिशतको प्रक्रियामा रहेको जनाएको छ। हालको संरचना २५ प्रतिशत जमिनमा रहेको र बाँकी जमिनमा थप संरचना निर्माण गर्ने योजना अस्पतालको छ।अस्पतालले पछिल्लो समय बाल मानसिक रोग सेवा विस्तार, हेमोडाइलोसिस सेवाको सुरुवात, र अब्जरभेसन वार्डलाई २२ शैयामा विस्तार गरेको छ।काठमाडौं महानगरपालिकाको सहकार्यमा मानसिक रोग उपचार भवनमा दुई तला थप्ने, मोडुलर ओटी निर्माण गर्ने तथा मानसिक इकाइमा १६ शैयाको अन्तरङ्ग सेवा सञ्चालनमा ल्याउने कार्य अघि बढेको निर्देशक रायले जानकारी दिए।यसका साथै, अस्पतालले फार्मेसीमा जनशक्ति थप, एनेस्थेसिया मेसिन खरिद, प्यालिएटिभ केयरको विस्तार तथा पुराना जिन्सी सामान लिलाम गरी ५४ लाख आम्दानी गरेको जनाएको छ।