राम्री दिदीको खाजाघर - sahityapost.com
बूढानीलकण्ठ मन्दिरको ठीक उत्तरपट्टि पुष्पाञ्जली खाजाघर । पहिला धेरै वर्ष मन्दिरमुनि रहेको त्यो खाजाघर केही समय अहिलेको ठाउँभन्दा अलिक माथि थियो । मैले त्यहाँ गोर्खाली बा र गुरुङ बासँग दुई-चारचोटि एकजना राम्री अधबैंसेले बनाएर दिएको घोटेको कफी पिएको छु । चिनीमा कफी हालेर घोट्दा-घोट्दा तयार गरेको त्यो दूधकफीको स्वाद निकै स्वादिलो लागेको हो मलाई त्यो बेला नै । त्यसपछि त्यो पसल मन्दिरको ठीक बाटोमाथि सरेको पनि झण्डै दश वर्ष भयो होला । “लु एक कप कडा खालको चिया !” “कालो कि दूध भाको ?” “दूध चिया ।“ “चिनी भाको कि नभाको ?” “अलि चिनी कम ।“ “राम्री दिदी एउटा कालो कफी । चिनी ठिक्क भाको ।” “एउटा लेमन टी । चिनी होइन वीरेनुन हालेको ।” “एउटा सूर्य चुरोट पनि है !” दुईतले पक्कीघरको तल्लो तलामा पुष्पाञ्जली खाजाघर । भित्र जतिखेरै ग्याँसचुलो र स्टोभ बलिरहेका । बस्ने ठाउँ भित्र-बाहिर दुवैतिर । पूर्वपट्टिको खुला ठाउँमा आधा टिनको छानो । आधा खुला । खाजाघर बिहानदेखि बेलुकैसम्म चलायमान । भित्र कित्लीमा पानी उम्लिरहेको । दिउरेमा चिया छड्किरहेको । कोही कफी घोटिरहेका । कोही खाजा बनाइरहेका । कोही पैसा लिइरहेका । कोही खातामा उधारो टिपिरहेका । छेउमा अरू कफीसप र होटलहरू पनि थुप्रै छन् । अरू पसलै नखुली एकाबिहानै खुल्ने हुनाले मन्दिर दर्शन गर्नेहरू पनि एक कप तातो चिया खान यो खाजाघरमा आउने गर्छन् । कफी, चिया, खाजा र खानाको गुणस्तर पनि निकै राम्रो । सेवा पनि छिटो । चियासँगको मुस्कान पनि मीठो । मान्छे बाहिरपट्टि पनि भरि । भित्रपट्टि पनि भरि । काम गर्ने मान्छेहरूलाई एकैछिन फुर्सद छैन । बिहानदेखि बेलुकासम्म कोही चिया पिइरहेका । कोही कफी । कोही लेमन टी । कोही खाजा खाइरहेका । कोही एकातिर छेउमा चियाको चुस्कीसँगै चुरोट तानिरहेका । “यो सरकार त एक हप्ता पनि टिक्दैन ।” “अब पक्कै राजा आउँछन् ।” “फलानो नेता कामै नलाग्ने ।” “पुरानाले देश बर्बाद गरे ।” “अब नयाँले केही गर्लान् जस्तो छ ।” “फलानो नेता दिल्ली पुगेर आयो । आजकै रात उथलपुथल हुन सक्छ ।” “अब अमेरिकालाई चिनले खान्छ । ट्रम्प त पागलै र’छ नि ।” “फलानो त फलानीसँग सल्केको रहेछ । फलानी त फेसबुकबाटै भागिछ ।” “फलानो र फलानीको डिभोर्स भएछ ।” “यो लभ म्यारिज त टिक्दै टिक्दैन ।” “फलानो कर्मचारीलाई मुद्दा लागेछ ।” “आजभोलिका केटाकेटी बिग्रिए । जतिखेरै हातमा मोबाइल ।” “युवा सबै खाडीमा । देश पूरै रित्तो भयो ।” “गाउँमा मान्छे छैनन् । बाँदरको राज भो ।” “यो बाटो त कहिल्यै नबन्ने भो । फलानो ठेकदार पैसा खाएर भागो अरे ।” “अष्ट्रेलिया त कति राम्रो हौ । केटाकेटी उतै थे । हामी बूढाबूढी भर्खर पुगेर आका ।” “म पनि अब अर्को साल अमेरिका जान्छु । केटाकेटीले बोलाका छन् ।” “हाम्रो पालामा यस्तो थिएन ।” “यसपाली पानी धेर परो ।” “गर्मी पोहोरको भन्दा बढो ।” “जलवायु परिवर्तनले हिमालमा हिउँ पर्न छोडो ।” “अब त भूकम्प पक्का आउँछ ।” “देश सकियो । सबै नेता लेन्डुपे भए ।” “अब नेपाललाई इण्डियाले खानेभो ।” यस्तै-यस्तै गफ हुन्छन् राम्री दिदीको खाजाघरमा । यस्तो लाग्छ, यो खाजाघर एउटा संसद हो । यहाँ छिटोछिटो सरकार गठन र विघटन हुन्छ । नेताहरूलाई सत्ता चलाउने, पाटी चलाउने, ऐन/कानुन बनाउने र देशको विकास गर्ने तरिका यहीँ सिकाइन्छ । कर्मचारीतन्त्रले जनताको काम यसरी गर्नुपर्छ भनेर यहीँ गोष्ठी र सेमिनार गरिन्छ । झुण्ड-झुण्डमा बसेका मान्छेहरूबीच कतै राजनीतिक छलफल । कतै महङ्गीको गुनासो । कतै देश बिग्रिएको कुरा । यस्तै-यस्तै । नजिकै बूढानीलकण्ठ मन्दिरमा घण्टी बजिरहेको । घण्टीको आवाजलाई पनि छिचोलेर राम्री दिदीको खाजाघरमा ठूला-ठूला गफ घन्किरहेको । यहाँ देशको खुब चिन्ता हुन्छ । चियाभन्दा तातो त राजनीति हुन्छ । एकैछिनमा सत्ता उलटपुलट हुन्छ । देश विदेशका कुरा हुन्छन् । विकास र विनाशका कुरा हुन्छन् । मान्छे र समाजका विषयमा अनेक कुरा निस्किन्छन् । प्रेम र विवाहका कुरा हुन्छन् । मौसम र प्रकृतिका कुरा हुन्छन् । चिया सकिन्छ तर गफ सकिँदैन । अर्काको कुरा काट्दा-काट्दा हैरान । भोलिपल्ट पनि यही चाला । उही कुर्सी । उही मान्छे । उही उडन्ते कुरा । यति हुँदाहुँदै यहाँका राम्रा पक्ष पनि छन् । दिनभरिको तनाव, रिस, थकान सबै कुरा चियासँगै बाहिर निस्किन्छ । छिमेकी र नयाँ मान्छेहरूसँग चिनजान हुन्छ । साथीभाइसँग बातचित, हाँसो र ख्यालठट्टा गर्दा एक्लोपन पनि घट्छ । एक-अर्काबीच सम्बन्ध बढ्छ । चिया पसलमै विभिन्न सूचना आदान-प्रदान हुन्छन् । धेरै कुराको जानकारी यहीँबाट फैलिन्छ । आफ्नो टोल, गाउँ, बजारको समस्या चिया पसलमै पहिला उठ्छ । धेरै आन्दोलन र पहल यस्तै चिया पसलबाट उठेका छन् । अनेक विचार र आइडियाहरू एक कप चियाबाट शुरु भएका छन् । जब चुनाव आउँछ, यहाँको माहोल छुट्टै हुन्छ । नियमित ग्राहक त छँदैछन् । अझ यो बेला नेता, कार्यकर्ताको चहलपहल धेरै बढ्छ । कतिले त चिया-कफीको पैसा पनि तिर्न पर्दैन । अरू बेला कमै सुनिने कुशलक्षेमका कुराहरू पनि यही बेला हुन्छन् । टेबलभरि विचार र योजनाहरू छरपस्ट पोखिन्छन् । अरूबाट भएन अब आफू र आफ्नाले देश बनाउँछन् । अरूले भ्रष्टाचार गरे तर हामीबाट हुँदैन । अब विकास चाँडै हुन्छ । बाटा र पुलहरू बन्छन् । अब युवाले विदेश जान पर्दैन । रोजगारी यहीँ सिर्जना हुन्छ । यो खाजाघरमा यस्ता कुरा धेरै हुन्छन् चुनावका बेला । ००० राम्री दिदी त्यस्तै चवन्न-पचपन्न वर्षकी हुँदी हुन् । सर्लक्क परेको ज्यान । गोरो अनुहार । ओठमा मुस्कान । उनी बूढानीलकण्ठ जस्तै शान्त छिन् । सौम्य छिन् । धेरै बोल्दिनन् । म बूढानीलकण्ठमै बस्ने भएकाले बेलाबेला साथीहरूका साथ उनको यो खाजाघरमा जाने गर्दछु । खाजाघर भने पनि यहाँ बढी जसो चिया-कफी नै चल्छ । मैले पुष्पाञ्जलीको सट्टा ‘राम्री दिदीको खाजाघर’ भनेर अनौपचारिक नामाकरण गरेको हुँदा धेरैले उनलाई राम्री दिदी भनेर बोलाउने गरेका छन् । अहिले त यस्ती छिन् । उमेरमा त झन् कस्ती होलिन् यी दिदी ! उनको नाम गोमा पण्डित । जन्मघर नुवाकोट जिल्ला । दुप्चेश्वरभन्दा माथि शिखरबेँसी । कलकल जवानीमा काठमाडौं आएर बूढानीलकण्ठमा सानो होटल शुरु गरेपछि हेटौंडाका एक जना युवासँग उनको हिमचिम भयो । ४३ सालमा एउटा छोरा पनि जन्मियो । छोरो जन्मिएको एक-डेढ वर्षपछि उनलाई छोडेर हिँडेका श्रीमान् अहिलेसम्म फर्केर आएका छैनन् । मरे वा बाँचे, कता छन् टुङ्गो छैन । एउटा भ’को छोरो पनि विदेशतिर भास्सिएको छ । उनको जीवनमा सङ्घर्षका उकाली-ओराली थुप्रै आए । मनमा दुःखका ज्वारभाटाहरू धेरै चले । अहिलेसम्म एक्लै भए पनि अनेक समस्याहरूसँग लड्दै उनले आफ्नो कर्म छोडिनन् । दुई-चार जना आफन्त र सहयोगीका साथ निरन्तर रूपमा खाजाघर चलाएकी छिन् । अगाडिपट्टि बाटोमा दोहोरीलता मान्छेहरू हिँडिरहन्छन् । गाडीहरू जतिखेरै घार्रघुर्र गरिरहन्छन् । मन्दिरका बाँदर यता र उता कुदिरहन्छन् । परेवा चारो खोज्दै भुर्र-भुर्र उडिरहन्छन् । बिहानदेखि बेलुकैसम्म यत्रो चहलपहल हुँदा पनि बूढानीलकण्ठ देउता भने सुतेका सुत्यै छन् । भक्तका पुकारा उनले सुन्छन् कि सुन्दैनन् थाहा छैन । जे भए पनि भक्तहरू आउँछन् । परिक्रमा गर्छन् । श्रद्धास्वरूप पूजा गर्छन् । भेटी र प्रसाद चढाउँछन् । अनि एउटा छुट्टै शान्ति र आनन्दको अनुभूति लिएर फर्किन्छन् । मन्दिर छेउमै भए पनि राम्री दिदीको खाजाघरमा दान, धर्म, पुण्य र मोक्षका कुराहरू त्यति हुँदैनन् । खालि अरू-अरू कुरा कुराहरू मात्रै । यथार्थ कम हावादारी बढी । मास्तिर शिवपुरी पहाड अविचल छ । राम्री दिदीको मनमा जे चले पनि, जस्तै आँधिहुरी आए पनि उनी बाहिरबाट भने त्यस्तै अविचल देखिन्छिन् । दिउरेको चियासँगै उनको मन पनि उम्लिँदो हो बेलाबेला । भित्रभित्रै तातो बाफ छुट्दो हो कतिखेर । तर पनि खाजाघरमा बिहानदेखि बेलुकासम्म ग्राहकहरूका आकाश-पाताल जोड्ने अनेकथरी गफले उनलाई खासै छोएको जस्तो देखिँदैन । बूढानीलकण्ठ मन्दिरको नियमित पूजा-आरतीजस्तै राम्री दिदी पनि आफ्नो दैनिक कर्मको निरन्तर आरती यही खाजाघरमा उतारिरहन्छिन् । कर्म नै उनको पूजा हो । कर्म नै उनको तपस्या हो । ग्राहकको सेवा नै उनको समर्पण हो ।