Redirecting...

कुलमान घिसिङः उज्यालो नेपालका नायकको अँध्यारो यात्रा - kendrabindu.com

कुलमान घिसिङः उज्यालो नेपालका नायकको अँध्यारो यात्रा - kendrabindu.com
Source: kend

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङ नेपाली जनमानसमा ‘उज्यालोको नायक’ का मानक थिए । दशकौंदेखि नेपालीलाई सताएको लोडसेडिङ अन्त्य गरेर उनले विद्युत् प्राधिकरणको नेतृत्व मात्रै गरेनन्, राज्यको असफलतामाथि आशाको बत्ती बालिदिए । प्राधिकरणमा नियुक्ति र पदमुक्त गर्दा चर्चाले उचाई पाइरहेका बेला जेनजी आन्दोलन भयो र त्यसपछि बनेको अन्तरिम सरकारमा घिसिङको इन्ट्री भयो । उनले आफ्नो जीवनकालमा समय दिएको प्राधिकरणको तालुकदार ऊर्जा मन्त्रालयको नेतृत्व मात्र पाएनन्, विकाससँग जोडिएका सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको बागडोर सम्हाले । प्राधिकरणको नेतृत्वमा रहँदा पाएको उचाइले घिसिङलाई पार्टी खोल्न प्रेरित ग¥यो । आगामी निर्वाचनमा उनले पृष्ठभूमिमा रहेर राजनीतिक यात्रा सुरू गरे पनि धेरै उतारचढाव व्यहोर्नुपर्यो । प्राधिकरणकै कर्मचारी घिसिङ चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामोसमय काम गरेका थिए । उनले चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजना निर्माण सुरु गरेका थिए । ती आयोजनाको निर्माण तिब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरूवा गरेकी थिइन् । उनलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलन समेत भयो र घिसिङ राष्ट्रियस्तरमा चर्चित भए । तत्कालिन शेरबहादुर देउवा सरकारले उनलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्‍यो । विसं २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटायो । सरकारको निर्णयप्रति व्यापक विरोध भयो । सामाजिक सञ्जालदेखि सडकसम्म ‘कुलमान हटाउन पाइँदैन’ भन्ने आवाज गुञ्जियो । कुलमानको प्रशासनिक यात्रा राजनीतिक यात्रामा मोडिन थाल्यो । नागरिकबाट राजनीतितर्फ प्राधिकरणबाट हटाइएपछि कुलमान नागरिक समाजका अगुवाहरूसँग नजिकिए । डा. भगवान कोइराला, डा. सन्दुक रुइत, महानायक राजेश हमाल, कुलचन्द्र गौतम, मुक्तासिंह लामा जस्ता व्यक्तिसँग छलफल गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिको सम्भावना खोज्न थाले । प्रारम्भिक योजना २०८४ सालको निर्वाचन केन्द्रित थियो । २३–२४ भदौको जेनजी आन्दोलनले देशको राजनीतिक कोर्स नै बदलिदियो । युवाहरूको आक्रोश, पुराना दलप्रतिको वितृष्णा र तत्काल परिवर्तनको मागले कुलमानलाई ‘पर्ख र हेर’ को रणनीतिबाट ‘अहिल्यै होमिने’ अवस्थामा पुर्‍यायो। सरकारमै रहँदा कुलमानले ‘उज्यालो नेपाल पार्टी’ गठनको प्रक्रिया अघि बढाए । अध्यक्षका रूपमा मानवशास्त्री डा. मुक्तासिंह लामालाई अघि सार्ने प्रयास असफल भएपछि अनुप उपाध्यायको अध्यक्षतामा पार्टी दर्ता गरियो । उपाध्याय ऊर्जासचिव रहँदा कुलमान कार्यकारी निर्देशक थिए, लोडसेडिङ अन्त्यको समयका सहयात्री। छोटो समयमै पार्टीले सबै प्रदेश र २६ जिल्लामा संगठन विस्तार गर्‍यो । पहिचानवादी समूहदेखि शिक्षित युवा, डाक्टर, इन्जिनियरसम्म समेटिँदा पार्टीले ‘बहुलसंस्कृतिवाद र राष्ट्रिय एकता’ तथा ‘सामुदायिक समाजवाद’लाई सिद्धान्त बनायो। सरकारमा बसेर पार्टी चलाउँदा कुलमान स्वयं संगठनलाई समय दिन सकेनन्। जेनजी आन्दोलनअघि गर्न खोजिएको देशव्यापी यात्रा अधुरै रह्यो । यही कमजोर आधारमै पार्टी निर्वाचनको मैदानतर्फ धकेलियो। यही बीचमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता भयो । १४ पुसमा भएको एकता जम्मा १२ दिनमै २६ पुसमा भाँडियो । एकतापछिका दिनहरू कुलमानका लागि ‘जिन्दगीकै सबैभन्दा सकसपूर्ण समय’ बने। उनले स्वयं पनि यो कुरा बताएका छन् । रास्वपा स्रोतका अनुसार कुलमानले वरिष्ठ उपसभापति, महामन्त्री, पार्टी नाम परिवर्तन, पदाधिकारी र सिट बाँडफाँटजस्ता प्रस्ताव अघि सारेपछि सहमति टिक्न सकेन। उज्यालो नेपाल पक्ष भने एकतालाई ‘विलय’ जस्तो बनाइएकाले असन्तुष्टि बढेको बताउँछ। पार्टीको नाम, झन्डा र चुनाव चिह्न सबै रास्वपाकै रहने सहमतिले उज्यालो नेपालको पहिचान मेटिने डर थियो । रास्वपाको उपसभापति बन्ने सहमति भएपछि कुलमानले मन्त्री पदबाट राजीनामा दिए । तर एकता भंग भएसँगै उनी न सरकारमा रहे, न बलियो पार्टीसहित चुनावी मैदानमा उत्रिन सके । आज कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्षका रूपमा एक्लै मैदानमा छन्। पार्टीमा ५१ सदस्यीय केन्द्रीय समितिमा रहेका केही नेताले पार्टी छोडिसकेका छन्। रास्वपाको समानुपातिक सूचीमा रहेका, कलाकार रिमा विश्वकर्मा, अभियन्ता अभिषेकराज सिंह उतै छुटेका छन् । इलामका डेकेन्द्रसिंह थेगिम अभियानबाटै अलग भएका छन् । अहिले कुलमान घिसिङको यात्रा प्रशासनिक सफलताबाट राजनीतिक अन्योलसम्म आइपुगेको छ । प्राधिकरणमा उनले परिणाम दिए — लोडसेडिङ हट्यो, नागरिकले महसुस गर्ने उज्यालो आयो। तर राजनीतिमा परिणामभन्दा बढी समीकरण, शक्ति सन्तुलन र धैर्य चाहिन्छ । सरकारमै बसेर पार्टी खोल्नु, कमजोर संगठनमै एकताको जोखिम लिनु र एकता भंगपछि एक्लिनु — यी सबैले उनको उज्यालो छविमा अँध्यारा धर्सा कोरेका छन्। ‘एमडीबाट हटेपछि मन्त्री बने, मन्त्रीबाट हटेपछि प्रधानमन्त्री बन्ने पालो हो’ भन्ने ढाडस उनी आफैंले पनि अस्वीकार गरेका छैनन्। तर राजनीतिक ट्र्याक हेर्दा, कुलमानका लागि उज्यालोभन्दा अँध्यारो बाटो बढी कठिन देखिन्छ । उज्यालो अभियन्ताका रूपमा चिनिएका कुलमानलाई पार्टी जिताउन होइन, काठमाडौं ३ बाट एक्लै जित्न समेत सकस परिरहेको छ । ठूला दल र नयाँ दलले घेरिएका उनी पर्खालबाट निस्कन सक्छन् कि सक्दैनन् फागुन २१ पछिको नतिजा पर्खनै पर्दछ ।