Redirecting...

सडक अवरुद्ध भएकोले दैनिक काठमाडौं–मन्थली हवाई उडान सञ्चालन गर्न जिल्ला सुरक्षा समितिको माग  - janatatimes.com

सडक अवरुद्ध भएकोले दैनिक काठमाडौं–मन्थली हवाई उडान सञ्चालन गर्न जिल्ला सुरक्षा समितिको माग  - janatatimes.com
Source: jant

रामेछाप, असोज १९। अविरल वर्षाबाट उत्पन्न जोखिम र त्यसले जिल्लाभर पारेको प्रभावबारे समीक्षा गर्न रामेछाप जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ। जिल्ला प्रशासन कार्यालयको सभा हलमा आइतबार बिहान बसेको बैठकले जिल्लाको समग्र अवस्थाको मूल्याङ्कन गर्दै सात बुँदे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले असोज १७ गतेदेखि जारी अविरल वर्षाले सिर्जना गर्न सक्ने सम्भावित क्षतिको जोखिम न्यूनीकरणका लागि विभिन्न उपायहरू तय गरिएको छ। बैठकले जिल्लाभर निरन्तर वर्षा भइरहेकोले सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक टाढाको यात्रामा ननिस्किन आग्रह गरेको छ। त्यसै गरी वर्षाका कारण मन्थली–काठमाडौं जोड्ने बिपी. राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकोले तत्काल वैकल्पिक रूपमा काठमाडौं–मन्थली हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्सलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन र सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारी साधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अविरल वर्षाका कारण जिल्लाका मुख्य र सहायक सडक मार्गहरू अवरुद्ध हुन सक्ने भएकाले स्थानीय तह, सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, टिफर र ट्र्याक्टरजस्ता उपकरण तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको छ। बैठकले हाल गड्याङगुडुङसहित आकाश चम्किने अवस्थामा घरबाहिर ननिस्किन जिल्लावासीहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ। विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, विषयगत कार्यालयहरू, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संघ–संस्था र सञ्चार माध्यमहरूलाई सक्रिय भई उद्धार, राहत र पुनर्स्थापना कार्यमा जुट्न पनि बैठकले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बैठकमा उपस्थित सरोकारवालाहरूलाई समन्वय र तयारीका माध्यमबाट सम्भावित जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न अपिल गर्नुभयो । वर्षाका कारण पहिरो, सडक अवरोध र जनधनको क्षति हुन नदिन सबै तहका निकाय सतर्क अवस्थामा रहनुपर्ने आवश्यकता बैठकले औँल्याएको छ । बैठकमा जिल्ला सुरक्षा समिति, स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल, रेडक्रस र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। यसै बिच वर्षा निरन्तर भई रहेको हुँदा वर्षात र बाढी पहिरोबाट यात्रुहरू र सवारी साधनलाई हुन सक्ने जोखिम हुन नदिन असोज १९ गतेदेखि २४ गते शुक्रबार सम्म साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्मको लागि खुर्कोट-मन्थली-खिम्ति-मिल्ती सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय, रामेछापले एक सूचना जारी गरी सो बारेमा जानकारी दिएको हो ।