पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नु मेरो लागि आत्मसन्तुष्टिको विषय बन्यो: मन्त्री खरेल - nagariknews.nagariknetwork.com
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिने कार्यकालमा पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न पाउनु नै सबैभन्दा बढी आत्मसन्तुष्टिको विषय बनेको बताएका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै मन्त्री खरेलले काम गरिरहेकै बेला ज्यान गुमाएका पत्रकार रजकलाई न्याय दिन सकेकोमा गर्व महसुस भएको बताए।मन्त्री खरेलले भने, ‘सुरेश रजकको मृत्यु मैले एकदमै अस्वाभाविक रूपमा लिएको थिएँ। एउटा पत्रकारले क्यामेरा चलाउँदा चलाउँदै, काम गर्दागर्दै ज्यान गुमाउनु पर्दा उनलाई सहिद घोषणा गर्नुपर्छ भन्ने मलाई लागिरहन्थ्यो । मन्त्री भएपछि त्यो निर्णय गर्न पाउँदा मलाई एकदमै सन्तुष्टि मिलेको छ।’सरकारले रजकलाई सहिद घोषणा गर्नुका साथै उनको परिवारलाई रोजगारीको व्यवस्थापन समेत गरिदिएको मन्त्री खरेलले जानकारी दिए। उनले भने, ‘उहाँको परिवार र जीवनसाथीलाई सामान्य रोजगारीको प्रबन्ध गरिदिएका छौँ, यो कामले मेरो मनलाई शान्त बनाएको छ।’२५ वर्ष लामो पत्रकारिताको अनुभव सँगालेर मन्त्रीको जिम्मेवारीमा पुगेका खरेलले पत्रकारहरूको पीडा आफूले नजिकबाट बुझेको बताए।उनले आफ्नो कार्यकालमा पत्रकारहरूको सामाजिक सुरक्षा र वृत्ति विकासका लागि राज्यद्वारा सञ्चालित पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने लगायतका कामहरू अघि बढाएको समेत जानकारी दिए।आफू न्युजरुमको ‘एडिटर इन चिफ’ को कुर्सीबाट सिधै मन्त्रीको कुर्सीमा पुगेको स्मरण गर्दै उनले पदमा रहँदा वा नरहँदा पनि पत्रकारिताको मर्म र संवेदनशीलतालाई कहिल्यै नभुल्ने प्रतिबद्धता व्यक्त गरे।