प्रभु म्यानेजमेन्ट ठगी प्रकरण, ३८ वटा सहकारीको ६ करोड ५२ लाख झ्वाम - bankingsamachar.com
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु म्यानेजमेन्टका तत्कालिन अध्यक्ष देवी प्रकाश भट्टचनसहित ७ जना, प्रभु मनि ट्रान्सफर प्रा.लि र प्रभु म्यानेजमेन्टविरुद्ध ठाकुर प्रसाद मानन्धरले दिएको जाहेरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ । सीआईबीले रामबाबु प्रसाद जयसवाल, हेम कुमार महाजु, देवी प्रकाश भट्टचन, कुसुम लामा, रामेश्वर सापकोटा, श्रुतिका तामाङ्ग लामा, सन्तोष कुमार लामा, प्रभु मनि ट्रान्सफर र प्रभु म्यानेजमेन्टलाई प्रतिवादी बनाएको हो । देशभरका ३८ वटा सहकारी संस्थाहरूको उजुरीमा अनुसन्धान भएको थियो । श्री क्याक्मी बचत तथा ऋण सहकारी संस्थासहित ३८ वटा सहकारी संस्थाबाट परेको उजुरीको आधारमा गरिएको अनुसन्धानमा सहकारी संस्थाहरूलाई कुल ६ करोड ५२ लाख ५५ हजार ठगी भएको पाइएको सीआईबीको अधियोगपत्रमा उल्लेख छ । सहकारी संस्थाको रेमिट्यान्सबापत प्रभु म्यानेजमेन्टले विभिन्न जिल्लामा रहेका सहकारी संस्थाहरूसँग रेमिट्यान्स भुक्तानी दिने भन्दै सम्झौता गरी सो क्रममा सहकारीका सदस्यलाई प्रभु मनि ट्रान्सफरमार्फत प्राप्त रकम तत्काल भुक्तानी गरे पनि, विपक्षी प्रतिवादीहरूले विभिन्न मितिमा सहकारी संस्थाहरूलाई दिनु पर्ने रकम जानीजानी नदिई ठगी गरिएको उक्त अभियोग पत्रमा उल्लेख गरिएको छ ।