'वर्तमान नेतृत्व लिएर कांग्रेस चुनावमा गए नतिजा सुखद् आउँदैन' - nagariknews.nagariknetwork.com
प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा शुक्रबार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् । समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैं अग्रमोर्चामा उभिने बताए । उनले प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलाई आत्मसाथ गरेको प्रजातान्त्रिक विचार समाजले पछिल्लो समय आवधिक निर्वाचनलाई स्वीकार गर्न नसकेको उल्लेख गरे। वरिष्ठ पत्रकार तारानाथ दाहालले जेनजी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेनजी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । आगामी निर्वाचनलाई सफल बनाउनका लागि हामी सबै लाग्नुपर्ने बताउँदै दाहालले निर्वाचन गराउने दायित्व सरकारसँगै राजनीतिक दलको समेत भएको उल्लेख गरे। समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्न पार्टीभित्रको विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताउँदै तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्ने धारणा राखे। वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रको समस्याको निकाश खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउँदै राजनीतिक पार्टीले संविधान संशोधनको एजेण्डालाई लिएर अदालतमा जानसके संसद् पुनःस्थापना हुन सक्ने दाबी गरे। कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्ने उनको भनाइ थियो। वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीले बौद्धिक समाजसँग छलफल गर्न छाडेको बताउँदै भदौ २३ र २४ गतेको घटनालाई पार्टीले सुक्ष्म रुपले अध्ययन गर्नुपर्ने माग गरे। उनले पार्टीभित्र अनुहार मात्र फेरेर नहुने प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको उल्लेख गदैै संविधानलाई जोगाउन निर्वाचनमा जानुपर्ने बताए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताउनँदै प्रविधिमा जो अभ्यस्त छैन त्यसलाई पुरानो पुस्ताका रुपमा लिनुपर्ने उल्लेख गरे। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलले विकल्प दिन नसकेकाले जेनजी आन्दोलन भएको बताए। संसद् पुनःस्थापनाभन्दा निर्वाचनमै दल जानुपर्ने बताउँदै आमनागरिकमा आशा जगाउने नयाँ कार्यक्रम र नयाँ अनुहार लिएर निर्वाचनमा जान सुझाव दिए। राजनीतिक विश्लेषक विनोद भट्टराईले पार्टीका नेताभित्र इच्छाशक्ति भए महाधिवेशन समयमै सम्पन्न गर्न सकिने बताउँदै अहिलेकै नेतृत्वलाई लिएर कांग्रेस चुनावमा गए सुखद् नतिजा ल्याउन नसक्ने दाबी गरे। समाजका पूर्वअध्यक्ष जीवराज कोइरालाले देशको परिस्थिति जटिल मोडमा गएकाले कांग्रेसले निर्वाचनअघि महाधिवेशन गरेर निर्वाचनमा होमिनुपर्ने बताए।