नेपाली सहित २२ वटा भाषामा भारत रत्न भूपेन हाजरिकाको जीवनी ग्रन्थ - sahityapost.com
भूपेन हाजरिका असमका मात्र रत्न होइनन्, समस्त भारतवर्षकै अझ भनौं विश्वकै उज्जवल छवि हुन्–— धर्मराज थापा (नौसिन्दाको जागिर, पृ. १०७) डा. भूपेन हाजरिका भारतका एकजना ख्यातिप्राप्त शिल्पी, गीतकार, चलचित्र निर्माता-निर्देशक, सांवादिक, साहित्यिक, राष्ट्रनिर्माता र सर्वोपरि एकजना मानवतावादी एक्टिभिस्ट हुन् । असममा बसोबास गर्ने विभिन्न जनगोष्ठीका लागि पिँढी दर पिँढीका प्रजन्मले सधैँ स्मरण गर्नुपर्ने एक अनन्य प्रेरणा हुन् उनी । उनलाई असमका सङ्गीतानुरागीहरूले सुधाकण्ठ र असमका मुकुटविहीन सम्राट, ब्रह्मपुत्र उपत्यकाका भाट(Bard of the Brahmaputra) आदि आख्या दिएका छन् । यो वर्ष (२०२५)को ८ सेप्टेम्बरदेखि असम सरकारले डा. भूपेन हाजरिकाको जन्म शतवार्षिकी धुमधामसँग मनाउने उद्देश्यले धेरैवटा कार्यक्रम हातमा लिएको छ । त्यस मध्येको एउटा महत्वपूर्ण पहल भूपेन हाजरिकाको जीवनी भारतको संविधानमा मान्यताप्राप्त सबै भाषामा उपलब्ध गराउनु रहेको छ । त्यस अनुसार असमका माननीय मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माको अनुरोधमा असमकी ख्यातिप्राप्त साहित्यकार अनुराधा शर्मा पूजारीले डा. भूपेनको जीवन र कर्मको आधारमा एउटा सुपाठ्य ग्रन्थ रचना गरेकी छन् । अनि असम प्रकाशन परिषदले उक्त ग्रन्थलाई भारतका मान्यताप्राप्त २२ वटा भाषामा अनुवाद गराएको छ । उक्त अनुवाद प्रकल्पमा नेपाली अनुवादका रूपमा यस पङ्क्तिकारले पनि सहयोग पुऱ्याएको थियो । अन्य अनुवादकहरूमा –स्वर्णप्रभा सैनारी (बोडो), प्रशान्त चक्रवर्ती (बाङला), कृष्ण दुलाल बरुवा (अंग्रेजी), अशोक कुमार झा (मैथिली), एफ.एम. सलिम (उर्दू), के. नलथम्बी (तमिल), लालचन्द सरेन (सन्थाली), सन्दीप कुमार (पञ्जाबी), सुभाषचन्द्र सतपथी (उडिया), राजोश्वर सिंह (डोग्री), अशरफ राजा (कश्मिरी), सङ्घमित्रा राथोड (राजस्थानी), अनन्थ नारायनन (मलयालम), लिलेश कुलधर (कोंकणी), ज्ञानबहादुर छेत्री (नेपाली), पट्टिपका मोहन (तेलेगु), अजय वर्मा अलुरी (कन्नड), रेखा देशपाण्डे (मराठी), सम्पदानन्द मिश्र (संस्कृत), एस.एन. झा (हिन्दी), शङ्कर देशाई (गुजराती) रहेका छन् । असम प्रकाशन परिषदबाट प्रोजेक्ट इन्चार्ज तथा तत्वावधायक सम्पादकका रुपमा सुश्री अपराजिता पूजारीले सुन्दर तरिकाले संयोजकको भूमिका निर्वहन गरेकी थिइन् । १३ सेप्टेम्बरका दिन गुवाहाटी खानापारा पशु चिकित्सा महाविद्यालयको मैदानमा आयोजित भव्य समारोहमा भारतका माननीय प्रधान मन्त्रीका बाहुलीबाट सबै पुस्तकहरूको विमोचन गरियो । विमोचन भाषणमा प्रधान मन्त्रीले भूपेन हाजरिकालाई सङ्गीत र चलचित्रको माध्यममा भारतको एकता र अखण्डतालाई मजबुत पार्ने मानवतावादी अनन्य प्रतिभाशाली कलाकार भनेर खुलेर सराहना गरे । उक्त समारोहमा विभिन्न जिल्लाबाट आमन्त्रित एघार सय कलाकारले एकसाथ भुपेन्द्र सङ्गीत प्रस्तुत गरेर कीर्तिमान स्थापित गरे । देश-विदेशका विशिष्ट अतिथिहरूका साथ ग्रन्थका अनुवादकहरूलाई पनि राज्य सरकारका अतिथिका रूपमा निम्त्याइएको थियो । तत्कालीन नेफा (हाल अरुणाचल प्रदेश) अन्तर्गत सदियाको बुलुङ गाउँमा १९२६ सनको ८ सेप्टेम्बरका दिन भुपेन हाजरिकाको जन्म भएको हो । उनका पिताको नाम नीलकान्त हाजरिका र माताको नाम शान्तिप्रिया हाजरिका हो । पिता नीलकान्त हाजरिकाको जागीरमा सरुवा हुनाले भूपेन हाजरिकाको शैशव र किशोर काल सदिया, धुबुरी, गुवाहाटी र तेजपुरमा बित्यो । विशेष गरी हाइस्कुलको पढाइ तेजपुरमा भएको समयमा उनले रुपकोँवर ज्योतिप्रसाद आगरवाला, कलागुरु विष्णु राभा र नटसूर्य फणी शर्माको सान्निध्य पाए । शिक्षा-दीक्षा भूपेन हाजरिकाले १९४० सनमा तेजपुर सरकारी हाइस्कुबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भए । सन् १९४१ मा उनी कटन कलेजमा आइ.ए. मा भर्ना भए । १९४२ सनमा कटन कलेजबाट आइ. ए. परीक्षामा उत्तीर्ण भए । त्यसपछि अध्ययनका उनले बनारस हिन्दू विश्वविद्यालयमा दर्शन विषयलाई मूल विषय लिएर पढे । १९४४ सनमा उनले राजनीति विज्ञान र दर्शन विषयमा अनर्स लिएर स्नातकको डिग्री हासिल गरे । १९४६ सनमा उनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त गरे । भुपेन हाजरिका १९४९ सनको सेप्टेम्बर महिनामा डक्टरेट डिग्रीका लागि अमेरिकाको कोलम्बिया विश्वविद्यालय गए । भारतको प्रौढशिक्षामा जन सञ्चारको भूमिका (Proposals for Preparing India’s Basic Education to Use Audio-Visual Techniques in Adult Education) विषयमा विद्यावारिधिको डिग्री हासिल गरेर १९५२ सनमा उनी स्वदेश फर्किए । उनले अमेरिकामै राष्ट्रसङ्घको कार्यालयमा जागीर पाएका थिए तर आफ्नै गरीब देशको सेवा गर्ने अभिप्रायले उनी भारत आए । आजीविका बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर गरेपछि भूपेन हाजरिकाले छ महिना जति गुवाहाटीको बी.बरुवा कलेजमा शिक्षकता गरे । त्यस पछि आकाशवाणी गुवाहाटी केन्द्रमा एक वर्ष जागीर खाए । अमेरिकाको विश्वविद्यालयबाट पीएच.डी गरेर आए पछि उनले गुवाहाटी विश्वविद्यालयमा अध्यापन गरे । गुवाहाटी विश्वविद्यालयमा उनका विरुद्धमा षड्यन्त्र रचियो । सामान्य निहुँमा उनको तलब कर्तन गर्दा स्वाभिमानी भूपेन हाजरिकाले त्यागपत्र दिए । यो उनका जीवनको टार्निङ पोइन्ट बन्यो । त्यस पछि भूपेन हाजरिका सङ्गीत र चलचित्र जगतमा समर्पित भए । सफलता, मान-सम्मान, प्रतिष्ठा सबैथोक उनले सङ्गीत र चलचित्र जगतबाटै पाएका हुन् । गुवाहाटी विश्वविद्यालयमै रहेका भए शायद आज विश्वले चिनेका भूपेन हाजरिका हुन सक्ने थिएनन् । व्यक्तित्वमा प्रभाव नीलकान्त हाजरिका नोकरी सरुवा भएर तेजपुर आएपछि भुपेन हाजरिकाले सांस्कृतिक परिवेश पाए । रुपकोँवर ज्योतिप्रसाद आगरवाला, कलागुरु विष्णुप्रसाद राभा र नटसूर्य फणी शर्मा जस्ता ख्यातिप्राप्त कलाकारहरूको सान्निध्य पाए । ती कलापारखीहरूले भूपेन हाजरिकाको प्रतिभालाई चिने । बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गर्दा उनले पण्डित मदन मोहन मालवीय, डा, सर्वेपल्ली राधाकृष्णन, डा. श्यामाप्रसाद मुकर्जी, पण्डित जवहरलाल नेहरू आदि पण्डित तथा राष्ट्रनेताहरूलाई नजीकबाट पाए । उनीहरूबाट पाएको शिक्षा र दर्शनबाट भूपेन हाजरिका धेरै प्रभावित भएका थिए । अध्ययनका लागि अमेरिका जाने क्रममा प्यारिसमा दुई दिन बसेर उनले विश्वख्यात चित्रकार पिकासोसँग भेट गरे । उसरी नै कोलम्बिया विश्वविद्यालयमा अध्ययनरत छँदा उनले पल रबसन जस्ता सङ्गीतकारको सान्निध्य पाएर धेरै प्रभावित भए । सङ्गीतको उद्देश्य बारेमा रबसनको guitar is not a musical instrument, it is a social instrument भन्ने कथनलाई उनले गुरुमन्त्र नै ठाने । यस्तै कुरा उनले विष्णु राभाबाट सुनेका थिए । पल रबसन अफ्रिकी मूलका अमेरिकी गायक, अभिनेता तथा नागरिक अधिकार कर्मकर्ता थिए । अमेरिकामा नोबेल पुरस्कार विजेता समरसेट ममलाई पनि उनले भेटे । यसरी साहित्य-सङ्गीत-कला क्षेत्रका विश्वख्यात मनीषीहरूको सान्निध्यको छाप भुपेन हाजरिकाको व्यक्तित्वमा परेको थियो । गीतकार भूपेन हाजरिकाको प्रतिभा गीतकारका रूपमा प्रस्फुटित भएर असमीया वाङ्मयका विभिन्न विधामा फैलिँदै गयो । पाँच वर्षको उमेरमा गुवाहाटीको एउटा सभामा उनले सुन्दर गीत प्रस्तुत गरेर रसराज लक्ष्मीनाथ बेजबरुवाको आशिर्वाद पाएका थिए । एघार वर्षको उमेरमा भूपेन हाजरिकाले ‘कुसुम्बर पुत्र श्री शङ्कर गुरुवे धरिछिल नामरे तान’ भन्ने गीत रचना गरेर गाएका थिए । सन् १९३७ मा रचना गरेको यो गीत नै उनको पहिलो सिर्जना हो । त्यसपछि उनले ‘अग्नियुगको फिलिङ्गो हुँ म नयाँ भारत निर्माण गर्नेछु’ भन्ने विप्लवी चेतनाको गीत लेखे । यही समयमा ज्योतिप्रसाद आगरवाला र विष्णुप्रसाद राभासँग कलकत्ता गएर ‘जयमती कुँवरी’ र ‘शोणित कुवरी’ चलचित्रका लागि गीत रेकर्डिङ गराए । जीवन कालमा भूपेन हाजरिकाले अनगन्ती गीत रचना गरे । ज्योतिप्रसाद आगरवाला, विष्णुप्रसाद, पल रबसन जस्ता गीतकारहरूबाट प्रभावित भएका भूपेन हाजरिकाले उपलब्धि गरेका थिए गीत केवल मनोरञ्जनको साधन होइन्, यो समाजलाई सुन्दर बनाउने कारगर माध्यम हो । गीतका माध्यममा उनले असमका विभिन्न जाति-जनगोष्ठीहरूका बीचमा सद्भावनाको सन्देश दिए, देशप्रेममूलक गीत लेखे, मानवताको जयगान गाए । असमका यस्ता जाति जनगोष्ठीहरू सायदै छैनन्, जसको जनजीवन, इतिहास र संस्कृति भूपेन हाजरिकाका गीतहरूमा भित्रिएका छैनन् । अनन्त कालसम्म पनि यी गीतहरूको गवेषणा हुन सक्छ । कारण उनका प्रत्येक गीतका एउटा एउटा शब्दभित्र रहेको विषयको समयानुसार नयाँ विश्लेषण हुन सक्छ । असमको यस्तो कुनै प्रान्त छैन जहाँ भूपेन हाजरिका पुगेका छैनन् । ती ठाउँको प्रकृति, परिवेश र संस्कृतिले भूपेन हाजरिकाका गीतहरूमा अधिकार जमाएका छन् । उनले कार्बि आङलङलाई लिएर गीत लेखेका छन् । खासी, मिसिङ, नागा आदि जनगोष्ठीलाई लिएर उनले गीत रचना गरेका छन् । असमको गोर्खा जनगोष्ठीलाई लिएर पनि ‘कपिली खुटित कोन गोर्खाली गाभरुर गाईजनी हेराल’ भन्ने गीत रचना गरेका हुन् । उनको शिरमा भादगाउँले गोर्खा टोपीले शोभा बढाएको थियो । मानुहे मानुहर बाबे (मानिसले मानिसका लागि), कत जोवानर मृत्यु होल (कति सैनिकको मृत्यु भयो), लुइतर बलिया बान (ब्रह्मपुत्रको बौलाहा बाढी), बुकु हम हम करे (मुटु ढुक ढुक गऱ्यो), सागर सङ्गमत कतना साँतुरिलो (सागर सङ्गममा कति पौरिएँ), असम आमार रुपही (असम हाम्री कति राम्री) आदि भूपेन हाजरिकाले रचना गरेका र गाएका केही अति जनप्रिय अमर गीत हुन् । चलचित्र चलचित्र र सङ्गीतको नङ-मासुको सम्बन्ध हुन्छ । गीतका साथै चलचित्र जगतमा पनि भूपेन हाजरिकाले ख्याति आर्जन गरेका छन् । भारतीय चलचित्र जगतमा उनले असमीया, बाङ्ला र हिन्दी चलचित्रमा सङ्गीत निर्देशन गरेका छन् । उनले निर्माण गरेका असमीया चलचित्रमा ‘एराबाटर सुर’, ‘शकुन्तला’, ‘प्रतिध्वनि’, ‘लटिघटि’, ‘सिकमिक बिजुली’, ‘मन प्रजापति’, ‘मिरि जीयरी’ आदि हुन् । यी बाहेक अरू धेरैवटा असमीया चलचित्रमा उनले सङ्गीत निर्देशन गरेका छन् । अरुणाचल प्रदेशको पृष्ठभूमिमा निर्मित ‘मेरा धरम मेरी माँ’ चलचित्रको निर्माण र सङ्गीत निर्देशन पनि उनले नै गरेका हुन् । हिन्दी चलचित्र ‘तकदीर’लाई असमीयामा ‘भाग्य’ नाममा उनले डबिङ गरे । हिन्दी चलचित्र ‘आरोप’ र ‘रुदाली’को सङ्गीत निर्देशन गरेर उनले राष्ट्रिय पुरस्कार जिते । भूपेन हाजरिकाले बाङला भाषामा ‘असमाप्त’, ‘कडि ओ कमल’, ‘जीवन-तृष्णा’, ‘दम्पति’, ‘सीमना पेरिए’, ‘कालो सिँदुर’ आदि चलचित्रमा सङ्गीत निर्देशन गरे । भारतीय चलचित्रमा महत्वपूर्ण योगदानका लागि भूपेन हाजरिकालाई सन १९९२ मा दादासाहेब फाल्के पुरस्कारले सम्मानित गरियो । साहित्य साहित्य क्षेत्रमा पनि भूपेन हाजरिकाको देन कम छैन । ‘मइ एटि यायावर’, ‘दिहिङे दिपाङे’, ‘वह्निमान ब्रह्मपुत्र’, ‘ज्योति ककाइदेउ’, ‘विष्णु ककाइदेउ’, ‘सहस्रजने मोक प्रश्न करे’ आदि उनले रचना गरेका कृति हुन् । उनले रचना गरेका बालोपयोगी गीतहरूलाई उत्कृष्ट बाल साहित्यका रूपमा लिन सकिन्छ । उसै गरी सांवादिकतामा उनले पहिचान बनाएका छन् । ‘गति’, ‘बिन्दु’, ‘प्रतिध्वनि’, ‘आमार प्रतिनिधि’ उनले सम्पादन गरेका पत्रिका हुन् । संस्थागत भूपेन हाजरिकाले सरकारी, गैर सरकारी तथा साहित्य संस्थाहरूलाई नेतृत्व दिएका हुन् । कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरेको समयमा उनी अमेरिकाको भारतीय छात्र संगठनका महासचिव तथा पत्रिका सम्पादक चुनिएका थिए । १९८२ मा उनले अखिल असम जनसांस्कृतिक परिषदको सभापतिको दायित्वभार ग्रहण गरे । सन् १९९३ मा उनले असम साहित्य सभापतिको कार्यभार सम्भाले । १९९८ सनमा भारत सरकारको प्रतिष्ठान सङ्गीत नाटक अकादेमीको अध्यक्षको पदमा आसीन भए । दर्शन, राजनीति जीवनको पहिलो चरणमा भूपेन हाजरिका विष्णुप्रसाद राभा र पल रबसन जस्ता बामपन्थी भावधाराका कलाकारबाट प्रभावित भएका थिए । त्यो समयमा उनले ‘अग्नियुगको ज्वाला हुँ म/ नयाँ असम बनाउने छु/ सर्वहाराको सर्वस्व/ फेरि फर्काएर ल्याउने छु’ भन्ने विप्लवी भावधाराको कविता रचना गरेका थिए । अमेरिकामा अध्ययनरत छँदा उनले मानव अधिकार विषयमा निकै सक्रिय भएर काम गरेका हुन् । उनको झुकाउ वामपन्थी दर्शनतिर देखिए पनि उनी कुनै राजनैतिक दलको सदस्य बनेनन् । उनी विवेकले रोजेको आफ्नै मानवतावादी दर्शनबाट परिचालित भए । १९६७ मा भूपेन हाजरिकाले निर्दलीय उम्मेदवार भएर विधान सभाको निर्वाचन खेले, विजयी पनि भए । जीवनको पछिल्लो चरणमा भने उनी राजनीतिमा मुछिए । २००४ सनमा उनले बिजेपीको टिकटमा गुवाहाटी लोकसभा समष्टिबाट चुनाउ लडे तर पराजित भए । यसअघि पनि मङ्गलदै लोक सभा समष्टिबाट निर्वाचन खेलेर पराजित भएका थिए । सबै दलका सबै जनगोष्ठीका, सबै धर्मका पुरुष महिला उनका प्रशंसक थिए । त्यसैले सबैले भोट दिन्छन् भनेर उनी विश्वस्त थिए । राजनीतिको तिकडम उनले बुझ्न सकेनन् । असमकै उत्थानका लागि सारा जीवन उत्सर्गित गरेका हाजरिकाको यो पराजयलाई भने उनले सहज रूपमा लिन सकेनन् । त्यो उमेरमा उनले ठूलो मानसिक आघात पाए । मानिसले उनलाई गरेको प्रेम झुटो रहेछ भन्ने ठानेर उनी हताशाग्रस्त भए । उनको मृत्युमा उनलाई मन पराउने लाखौं मानिसको जनसमुद्र उर्लेको थियो, त्यो दृश्य उनले देखेनन् । जीवित कालमा उनको इच्छालाई हामीले उचित सम्मान गर्न सकेनौं । पुरस्कार र सम्मान भूपेन हाजरिकाले आजीवन कलाको साधना गरे । कला साधनाको स्वीकृतिस्वरूप जीवन कालमा विभिन्न जातीय सङ्घ-संस्थाहरूबाट पुरस्कार सम्मान पाए भने राज्य सरकार र केन्द्र सरकारबाट पनि पदक, पुरस्कार र सम्मान पाए । उनले जीवन कालमा र मरणोपरान्त प्राप्त गरेका केही पुरस्कार र सम्मान यस प्रकार छन्- १) ‘लटिघटि’ चलचित्रका लागि राष्ट्रपति पदक, १९६६ । २) ‘सामेली मेमसाब’ चलचित्रमा श्रेष्ठ सङ्गीत परिचालकका रूपमा स्वर्ण कमल पदक, १९७६ । ३) भारत सरकारबाट पद्मश्री सम्मान, १९७७ । ४) असम सरकारबाट श्री मन्त शङ्करदेव पुरस्कार, १९८८ । ५) भारतीय चलचित्रको सर्वोच्च दादा साहेब फाल्के पुरस्कार, १९९२ । ६) भारत सरकारबाट गोल्डेल सिटिजेन इण्डिया, १९९७ । ७) भारत सरकारबाट पद्म भूषण, २००१ । ८) भारत सरकारबाट पद्म विभूषण (मरणोपरान्त, २०१२) । ९) भारत सरकारबाट भारत रत्न (मरणोपरान्त २०१९) । सरकार तथा विभिन्न संस्थाहरूबाट उनले अकादेमी फेलोसिप, सुधाकण्ठ, देश रत्न, सङ्गीत चूडामणि, साहित्याचार्य, सङ्गीत रत्न, असम रत्न आदि सम्मान र उपाधि पाएका हुन भने गुवाहाटी विश्वविद्यालय, तेजपुर केन्द्रिय विश्वविद्यालयले उनलाई सम्मानीय डक्टरेट डिग्री प्रदान गरेका छन् । यी बाहेक उनले स्वदेशमा र विदेशबाट पनि धेरै पुरस्कार र सम्मान पाएका छन् । मृत्यु सन २०११ को ५ नवेम्बरका दिन बेलुका ०४-३७ को समयमा मुम्बैको कोकिलाबेन धीरुभाइ अम्बानी हस्पतालमा यी युगनायकको देहावसान भयो । उनको नश्वर देह ६ नवेम्बरसम्म मुम्बैका उनका अनुरागी कलाकारहरूको अन्तिम दर्शनका लागि चिकित्सालयमै राखियो । ७ नवेम्बरका दिन विमानमा उनको नश्वर देह गुवाहाटी ल्याइयो । दुई दिन जजफिल्डमा अनुरागी दर्शनार्थीहरूका लागि राखेर ९ नवेम्बरका दिन गुवाहाटी विश्वविद्यालय परिसरमा उनको अन्त्येष्टिक्रिया सम्पन्न गरियो । एकजना शिल्पकारको महाप्रयाणमा उनको अभूतपूर्व लोकप्रियता देखेर सारा विश्व चकित भएको थियो । साँच्चै नै समय नै सर्वश्रेष्ठ विचारक हो । The post नेपाली सहित २२ वटा भाषामा भारत रत्न भूपेन हाजरिकाको जीवनी ग्रन्थ appeared first on साहित्यपोस्ट.