एमालेका यी शीर्ष नेताले गरे सक्रिय राजनीति नगर्ने घोषणा - ehimalayatimes.com
काठमाडौँ । नेकपा एमालेमा नेतृत्व चयनलाई लिएर रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन्। यद्यपि उनीहरूले पार्टीको सदस्यता भने कायम राख्ने स्पष्ट पारेका छन्। सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्ने नेताहरूमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टी अनुशासन आयोगका अध्यक्ष केशव बडाल रहनुभएको छ । उहाँहरुले अब कुनै पनि पदमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला यी तीन नेताले स्वेच्छिक अवकाशको बाटो रोज्दै पार्टीभित्र उदाहरण प्रस्तुत गर्नुभएको छ। एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्रमा बोल्दै ज्ञवाली, शाक्य र बडालले अब सक्रिय राजनीति र औपचारिक नेतृत्वबाट बिदा लिएर आफ्नो अनुभव र ज्ञानका आधारमा पार्टीलाई योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।