Redirecting...

भिडभाडमा नेटवर्क सम्हाल्न सफ्टबैंक र एरिक्सनले सुरु गरे एआई–सञ्चालित मल्टिपल इनपुट मल्टिपल आउटपुट - www.technologykhabar.com

भिडभाडमा नेटवर्क सम्हाल्न सफ्टबैंक र एरिक्सनले सुरु गरे एआई–सञ्चालित मल्टिपल इनपुट मल्टिपल आउटपुट - www.technologykhabar.com
Source: tckb

भिडभाडका बेला चाहिने नेटवर्क सम्हाल्न सफ्टबैंक र एरिक्सनले एआई–सञ्चालित मल्टिपल इनपुट मल्टिपल आउटपुट (एमआईएमओ) प्रविधि शुरु गरेका छन्। समय वा घण्टाका आधारमा ट्राफिक बढ्ने अनुमान गर्ने परम्परागत विधि खेलकुद, प्रदर्शनी, कन्सर्ट, परेड वा आतिशबाजीजस्ता आकस्मिक कार्यक्रमका बेला प्रयोगकर्ताको वितरणमा आउने ठूलो उतारचढाव सम्हाल्न प्रभावकारी नहुने एरिक्सनले जनाएको छ। यस्ता कार्यक्रम मौसमका कारण रद्द वा तालिका परिवर्तन हुने जोखिमसमेत रहने भएकाले नेटवर्क व्यवस्थापन झन् जटिल हुने बताइएको छ। ठूला योजनाबद्ध कार्यक्रमका बेला टेलिकम अपरेटरहरूले अतिरिक्त बेस स्टेशन तैनाथ गर्ने, निजी नेटवर्क वा वाइ–फाइ एक्सेस प्वाइन्ट स्थापना गर्ने गरे पनि यो उपाय सधैं व्यवहारिक नहुने एरिक्सनको भनाइ छ। यी चुनौतीलाई ध्यानमा राख्दै सफ्टबैंक र एरिक्सनले म्याक्रो म्यासिभ एमआईएमओ नेटवर्कलाई स्वचालित रूपमा र वास्तविक समयमा ट्राफिक उतारचढावअनुसार प्रतिक्रिया दिन सक्षम बनाउने एआई–आधारित समाधान विकास गरेका छन्। यो प्रणाली बेस स्टेशनमै राखिएको सर्भरमा सञ्चालन हुन्छ। समाधानले प्रत्येक मिनेट प्रयोगकर्ताको वितरण मापन गर्छ र म्यासिभ एमआईएमओ बिम अनुमानसम्बन्धी डाटाबाट प्रशिक्षित एआईले कुनै कार्यक्रम भइरहेको छ वा छैन भन्ने पहिचान गर्छ। कार्यक्रम सुरु भएको देखिएपछि प्रणालीले बेस स्टेशनको क्षैतिज र उर्ध्वाधर कभरेज ढाँचा गतिशील रूपमा परिवर्तन गरी नेटवर्क प्रदर्शन सुधार गर्छ। सफ्टबैंक र एरिक्सनले गत वर्ष जापानको ओसाकामा आयोजित वर्ल्ड एक्स्पोमा यो समाधानको परीक्षण गरेका थिए। तीव्र ट्राफिक उतारचढावका बेला डाउनलिङ्क थ्रुपुट ७९.९ एमबीपीएसबाट बढेर ९५.५ एमबीपीएस पुगेको अर्थात् २४ प्रतिशत सुधार हासिल भएको एरिक्सनले जनाएको छ। यसले भीडका बेला देखिने ‘प्याकेट स्टलिङ’ समस्या—जहाँ जामका कारण डाटा आदानप्रदान रोक्किने अवस्था आउँछ—टार्न मद्दत गरेको कम्पनीको भनाइ छ। परीक्षण सफल भएपछि यो समाधानलाई पैदल यात्रुको आवागमन धेरै उतारचढाव हुने अन्य ठूला स्थलहरूमा पनि विस्तार गरिएको छ। एरिक्सन र सफ्टबैंकबीच नयाँ नेटवर्क प्रविधिमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। अक्टोबर २०२४ मा उनीहरूको साझेदारी एआई-आरएएनसम्म विस्तार गरिएको थियो। त्यसअघि मार्चमा दुवै कम्पनीले एआई, क्लाउड आरएएन, एक्सटेन्डेड रियालिटी र सिक्सजी लगायत क्षेत्रमा पाँच वर्षे सहकार्य सम्झौता गरेका थिए। यस सहकार्यको फाइदा एरिक्सनलाई पनि मिल्दै गएको देखिन्छ। गत अगस्टमा एरिक्सनले सफ्टबैंकको फोरजी र फाइभजी नेटवर्क विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का जितेको थियो, जसअन्तर्गत म्यासिभ एमआईएमओ बेस स्टेशन र आरएएन कम्प्युट बेसब्यान्ड समाधान आपूर्ति गर्नेछ। एरिक्सन पहिले नै सफ्टबैंकको प्रमुख फाइभजी आपूर्तिकर्ता भएकाले फाइभजी एडभान्स्ड र भविष्यको सिक्सजी तर्फ बढ्दै जाँदा यो सहकार्यले एरिक्सनको स्थान थप मजबुत बनाउने अपेक्षा गरिएको छ। The post भिडभाडमा नेटवर्क सम्हाल्न सफ्टबैंक र एरिक्सनले सुरु गरे एआई–सञ्चालित मल्टिपल इनपुट मल्टिपल आउटपुट appeared first on Technology Khabar.