‘कैलाश कोरा’ लोकार्पण - ehimalayatimes.com
काठमाडौं । नियात्राकार राजेन्द्रमान डंगोलद्वारा लिखित चौथो नियात्रासंग्रह ‘कैलाश कोरा’ को लोकार्पण गरिएको छ । एसोसिएसन अफ कैलाश टुर्स अपरेटरस् नेपालका अध्यक्ष विमल नहर्कीको अध्यक्षतामा आयोजित कार्यक्रमले विविध साहित्यिक तथा पर्यटन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति र मन्तव्यका साथ विधिवत् रूपमा पुस्तक सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले वर्तमान समयमा नियात्राको नाममा मनग्गे ‘भूत लेखन’ हुँदै गएको जनाउँदै, डंगोलको लेखनी भने यथार्थ र अनुभवमा आधारित ‘अर्गानिक’ नियात्रा भएको उल्लेख गर्नुभयोे । उहाँले कैलाश पुग्न नसेकेका पाठकले पनि कृति पढेपछि गएजस्तै अनुभूति हुने बताउनुभयो । कार्यक्रममा समालोचक राम लोहनीले ‘कैलाश कोरा’ शीर्षकको अर्थ र कृतिको विषयवस्तुलाई विश्लेषण गर्दै, डंगोलको शैली, विवरण र भाषा प्रयोगले पाठकलाई मन्त्रमुग्ध बनाउने दाबी गर्नुभयो । उहाँले लेखकले हिमाल, नदी, झरना र बस्तीलाई विशिष्ट ढंगले चित्रण गर्ने कला उत्कृष्ट रहेको जिकिर गर्नुभयो । कवि डा.विन्दु शर्माले कृतिको समीक्षात्मक टिप्पणी गर्दै कर्तव्यको अप्ठ्यारोलाई सुल्झाउने लेखकीय कौशल देखिएको बताउनुभयो । उहाँले चिनियाँ भौगोलिक सीमाभित्रको यात्रा भएकाले होला, संवादको पक्ष केही कम महसुस भएको टिप्पणी गर्नुभयो ।पर्यटनकर्मी ज्योति अधिकारीले डंगोलको लेखनशैलीको प्रशंसा गर्दै ‘कैलाश कोरा’ कृति कैलाश मानसरोवर जान चाहने सबैका लागि मार्गदर्शक हुने बताउनुभयो । उहाँले कृतिमा नेपाली शासकप्रतिको आलोचनात्मक दृष्टिकोण प्रस्तुत भएको उल्लेख गर्दै, नेपाल अझै पूर्णरूपमा राज्य बन्न नसकेको पनि टिप्पणी गर्नुभयो । कृतिकार डंगोलले कृति लेखनको क्रममा भोगेका भौगोलिक र आत्मिक अनुभव साझा गर्नुभयोे । उहाँले कैलाशमा आफू विलीन भएको अनुभूति कृतिको मूल आत्मा भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण कवि लक्ष्मी रुम्बाले गर्नुभएको थियो । कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डे, हानका अध्यक्ष विनायक शाह, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।